काठमाडौं । गत चैत १५ गते काठमाडौंको तीनकुनेमा भएको राजावादीको प्रदर्शनमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को पनि संलग्नता पाइएको छ । सो आन्दोलनमा भाग लिएका रास्वपाका एक नेता त पक्राउ नै परेका छन् ।
राजावादीको प्रदर्शनका क्रममा आपराधिक गतिविधि गरेको आरोपमा रास्वपाका नेता डा. राजकुमार राई तीनकुनेबाट चैत १५ गते पक्राउ परेका हुन् । राई रास्वपाको निर्वाचन क्षेत्र समिति खोटाङका पूर्वसभापति हुन् । प्रहरीले उनको गतिविधिलाई सिसी टिभीमा हेरेर पक्राउ गरेको हो। उनीमाथि भाटभटेनीमा भएको लुटपाटमा रक्सी चोरेकोसमेत अभियोग लगाइएको छ।
खोटाङको राउवाबेशी गाउँपालिका १ का ६३ वर्षीय राईमाथि प्रहरीले अपराधिक उपद्रव र संगठित अपराध सम्बन्धी कसूर अन्तर्गत पक्राउ गरेको हो । प्रहरीले उनीसहित ४१ जनालाई उक्त कसूरमा थुनामा राखेर अनुसन्धान गर्न अनुमति लिएको छ ।
रवीन्द्र मिश्र, धवलशमशेर राणालगायत सँगै पक्राउ परेका उनीहरूलाई पहिलोपटक ५ दिन र दोस्रोपटक ६ दिन थुनामा राखेर अनुसन्धान गर्न प्रहरीले काठमाडौं जिल्ला अदालतबाट अनुमति पाएको हो ।
राई गत पुस १३ गते खोटाङको रास्वपा जिल्ला अध्यक्षको चुनावमा पराजित भएका थिए । उनी सीसीआरसी कलेजका सञ्चालकसमेत हुन् ।
रास्वपाका केही नेताले राईले रास्वपा छाडिसकेको पनि बताए पनि औपचारिक रूपमा उनले पार्टी छाडेको घोषणा गरेका छैनन् । रास्वपाले पनि उनलाई औपचारिक रूपमा हटाएको वा कारबाही गरेको छैन ।
राई राजावादीको आन्दोलनमा सरिक हुनु, पक्राउ पर्नु र रास्वपाले कुनै कारबाही नगर्नुले उक्त आन्दोलनमा रास्वपाको पनि समर्थन रहेको पुष्टि हुने विश्लेषक बताउँछन् ।
रास्वपाले राजावादीको आन्दोलनलाई औपचारिक समर्थन नगरे पनि त्यसविरुद्ध एक शब्द पनि बोलेको छैन । रास्वपा सभापति रवि लामिछानेले पार्टीको काममा फर्किनुअघि पार्टी कार्यालयमा भाषण गर्दा पनि कांग्रेस–एमलेविरुद्ध विषवमन गरे तर राजावादी आन्दोलनबारे चुँ सम्म गरेनन् ।
राजावादी आन्दोलनमा रास्वपा सांसद सन्तोष परियारको सरकारी गाडी तोडफोड भएको विषयमा सामान्य टिप्पणीबाहेक रास्वपाले राजावादी आन्दोलनबारे केही नबोल्नुले सो आन्दोलनमा उक्त पार्टीको मौन समर्थन रहेको बुझ्न सकिने विश्लेषक बताउँछन् ।
सहकारी ठगीमा पक्राउ परेर दुई करोड ७९ लाख रुपैयाँ धरौटी बुझाएर बाहिरिएपछि पार्टीको सभापतिको जिम्मा सम्हालेपछि रवि लामिछानेले भने आफूहरुको लाइन राजावादीकै भएको संकेत गरेका छन् ।
उनले ठूला दलका नेताहरुसँग बसेर तस्बिर खिचाउने इच्छा नभएको बताएर राजावादीहरुसँग नजिक भएको संकेतसमेत गरेका हुन् ।
एक राजावादी नेताका अनुसार राजसंस्था पुनःस्थापनाको आन्दोलनमा रास्वपाले पनि नैतिक समर्थन गरेको छ । खुलेर नआए पनि आफूहरुको समर्थन रहेको वचन पाएको उनले बताए ।
त्यसो त रवि लामिछानेको कोपभाजनमा परेर महामन्त्रीबाट गलहत्याइएका डा. मुकुल ढकालले रवि लामिछानेले रास्वपालाई राजावादी धारमा लैजान खोजेको तर आफूले त्यसमा रोकेको दाबी गर्दै आएका छन् ।
रवि लामिछाने पनि रवीन्द्र मिश्रजस्तै हिजो पनि छद्मभेषमा राजावादी थिए र आज पनि उनी राजावादी नै हुन् भन्ने कतिपयको आशंकामा बल पुगेको विश्लेषकको बुझाइ छ ।
प्रतिक्रिया