काठमाडौं । मधेस केन्द्रित दलहरूले आज बिहीबार संघीय लोकतान्त्रिक मोर्चाको घोषणा गर्ने भएका छन् । मोर्चामा सात दल रहने बताइए पनि अन्तिम समयमा केही दल पछि हटेका छन् ।
मोर्चाको नाम संघीय लोकतान्त्रिक मधेसी मोर्चा रहने छ । यसअघि आठ दलको मधेसी मोर्चाको तयारी भइरहेको थियो तर यो मोर्चामा अशोक राई नेतृत्वको जनता समाजवादी पार्टी, डा. सीके राउत नेतृत्वको जनमत पार्टी र रेशमलाल चौधरी संरक्षक रहेको नागरिक उन्मुक्ति पार्टी नरहने भएका छन् ।
सात दलको मोर्चामा उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी नेपाल, महन्थ ठाकुर नेतृत्वको लोकतान्त्रिक समाजवादी पार्टी नेपाल, राजेन्द्र महतो नेतृत्वको राष्ट्रिय मुक्ति पार्टी नेपाल, हृदयेश त्रिपाठी नेतृत्वको जनता प्रगतिशील पार्टी र वृशेषचन्द्र लाल नेतृत्वको तराई मधेस लोकतान्त्रिक पार्टी भने मोर्चामा रहनेछन् ।
मोर्चाको आलोपालो नेतृत्व गर्ने बताइएको छ । अहिले पहिलो चरणमा जसपा नेपालका अध्यक्ष उपेन्द्र यादवले नेतृत्व गर्ने बताएको छ ।
कांग्रेस र एमाले नेतृत्वको गठबन्धन सरकारले संविधान संशोधन गरेर थ्रेस होल्ड बढाउने, समानुपातिक निर्वाचन प्रणाली हटाउने र दुई दलीय प्रणालीको सरकार बनाउने चर्चा बाहिर ल्याएपछि मधेसवादी दलहरू एकीकृत भएका थिए । जनता प्रगतिशील पार्टीका अध्यक्ष हृदयेश त्रिपाठीले मोर्चा गठनका लागि प्रयास गरेका थिए ।
उनी मधेस केन्द्रित दलका हरेक नेताहरूलाई भेटी मोर्चाका गठनका लागि कन्भिन्स गरेका थिए । सो क्रममा केही बैठकहरू पनि बसेका थिए ।
बैठक बसेर दुईटा कार्यदल गठन गरिएको थियो । मोर्चाको मापदण्ड र अचारसहिंता तथा साझा मुद्दा तय गर्न एउटा कार्यदल बनेको थियो भने सबै दलको राय बुझेर मोर्चा गठनका लागि एउटा अर्को कार्यदल पनि गठन भएको थियो । दुइटै कार्यदलले आ–आफ्नो काम गरेर प्रतिवेदन बुझाएपछि मोर्चाको घोषणा हुन लागेको हो ।
प्रतिक्रिया