देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

सम्पादकीय

आगलागीबाट सचेत होऔँ

देशान्तर


गर्मी बढेसँगै निरन्तर आगलागीका घटनाहरू बढिरहेका छन्, चैत, वैशाख र जेठ नेपालमा सदैव आगलागीको जोखिमयुक्त समयको रूपमा रही आएको छ, तर सरकारले यसको नियन्त्रणको लागि पर्याप्त तयारी गरेको देखिँदैन । हालसालै मात्र इटहरी र दाङमा भएको ठूलो आगलागीको घटनाले यसको पुष्टि गरेको छ । बस्तीमा मात्र होइन, वनजंगलमा डढेलो लागेरसमेत मानवीय तथा ठूलो जनधनको क्षति भइरहेको सन्दर्भमा सरकार उदासीन रहे पनि आफू नै, सचेत बनेर आगलागीका घटना रोक्न सकिन्छ ।

हिउँदमा पर्याप्त वर्षा नहुनु र छिट्टटै वर्षा हुने सम्भावना पनि नदेखिँदा सुख्खापनले वन डढेलोको जोखिम बढेको छ । वायुमण्डलमा कार्बनडाइअक्साइड, मिथेन जस्ता ग्यासहरू थपिएका कारणले जलवायु प्रणाली तात्दै गएको र खडेरी, हुरिबतासजस्ता विषम मौसमी घटना बढ्दै गइरहेकाले आगलागीको जोखिम पनि उत्तिकै बढ्दै गएको छ । बहुप्रकोपीय जोखिम भएको देश नेपालमा विभिन्न किसिमका विपद्मध्ये संख्या र क्षतिका हिसाबले आगलागी पहिलो विपद्का रूपमा रहेको पाइन्छ । पछिल्लो एक दशकको तथ्यांक हेर्ने हो भने आगलागीको दर बढ्दै जानुका साथै यसले पु¥याउने क्षति पनि बढ्दै गएको छ । आगलागीबाट मानवीय क्षतिका साथै भौतिक क्षति पनि ठूलोमात्रामा हुने गरेको छ ।

नेपालमा हरेक वर्ष आगलागीमा परेर दर्जनौँ मानिसको ज्यान जाने गरेको छ, धेरैले घरबारविहीन हुनुपरेको छ । हिउँद लागेसँगै सुक्खा र खडेरीको याममा चरम बन्ने आगलागी र डढेलोको प्रकोप नेपालमा वर्षायाम सुरु नहुन्जेलसम्म चलिरहेको देखिन्छ । जलवायु परिवर्तनका कारण नेपालमा मात्र होइन, विश्वमा नै वन डढेलोको प्रकोप बढ्दै गएको पुष्टि भइसकेको छ । बर्सेनि डढेलोबाट हजारौँ हेक्टर वनक्षेत्र सखाप हुने गरेको छ । बढ्दो तापक्रम र हिउँदे वर्षा कम भएकाले आगलागी र डढेलोका घटना बढ्न सक्नेतर्फ सचेत हुनु जरुरी छ । सम्भावित घटनाको पूर्वतयारीप्रति आफू सचेत र जिम्मेवार हुनुपर्छ ।


आगलागी वा डढेलोले भौतिक र जैविक क्षति मात्र पु¥याउने होइन, त्यसले दीर्घकालीन रूपमा वातावरणको क्षयीकरण गरिरहेको छ । आगो लागिसकेपछि निस्कने धुलो, धुवाँ तथा खरानी तथा विषाक्त ग्यासले मानव स्वास्थ्यमा ठूलो असर पु¥याउँछ ।
सुक्खा तथा हुरीबतासको समय, खास गरी फागुनदेखि वैशाखसम्मको समय आगलागी हुने मुख्य समय हो । आगो लागेर निभाउनुभन्दा आगो लाग्नै नदिनु उत्तम उपाय हो । हरेक वर्ष दोहोरिने आगलागीबाट हुन सक्ने मानवीय र भौतिक क्षति रोक्न बेलैमा सर्तकता अपनाउनु जरुरी छ ।


आगलागी र डढेलो राष्ट्रिय विपत्तिको प्रमुख कारण बनिरहेको छ । यसमा सम्बन्धित सरकारी निकायहरूले समयमा नै प्रभावकारी उपाय अवलम्बन गर्नु आवश्यक देखिन्छ । सरकारले आगलागी र डढेलोलाई लिएर त्यसको नियन्त्रण र रोकथामका लागि कुनै प्रभावकारी उपाय अवलम्बन नगर्दा ठूलो क्षति बेहोर्नु पर्दछ । यसर्थ आगलागीका घटना हुन नदिन सरकार र सम्बन्धित निकाय बेलैमा सजग र सतर्क बन्नुपर्छ । आगलागी निम्तिने घटना न्यूनीकरणका लागि सर्वसाधारणलाई नै सचेत गराउन आवश्यक छ । आगलागी हुन नदिन र भइहालेमा पनि समयमै सहज रूपमा नियन्त्रण गर्न सकिने गरी व्यवस्था गरिनुपर्छ । डढेलो लागेपछि नियन्त्रण गर्न कठिन हुने भएकाले डढेलो लाग्न नदिने उपाय खोजी गरी पूर्वतयारीलाई प्राथमिकता दिनुपर्छ । केही वर्षहरूमा गरिएको अध्ययनले डढेलो लाग्ने क्रम बढ्नु र क्षति पनि बढ्दै जानुले डढेलो लाग्ने मौसमभन्दा केही महिना अगाडिदेखि नै रोकथामको तयारी थाल्नुपर्ने देखिन्छ ।

गृह मन्त्रालयअन्तर्गतको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले अन्य विपद्लाईझैँ डढेलोलाई प्राथमिकता दिएको देखिँदैन । यस्ता संवेदनशील विपद्का घटनाहरू रोक्न पूर्वतयारी गर्न जरुरी छ । आगलागी हुनै नदिने गरी योजना बनाएर लाग्न जरुरी छ भने आगलागी भइहालेमा तत्काल निभाउने पूर्वतयारी गर्नुपर्ने देखिन्छ ।
प्राकृतिकभन्दा बढी मानवीय कारणबाटै आगलागी हुने भएकाले नियन्त्रणका लागी पनि मानिसनै सचेत हुन जरुरी छ । हुरी बतास चल्ने समयमा बढी आगलागी हुने भएकाले त्यो बेला विशेष सावधानी अपनाउनुपर्ने आवश्यक छ । सरकारले पनि दमकलको संख्या र जनशक्ति थप गर्दै आधुनिक प्रविधि भित्र्याउने कार्यलाई प्रमुख प्राथमिकता दिनुपर्छ ।