काठमाडौं । प्रतिनिधिसभाको आजको बैठकमा सांसदहरूले दलित समुदायमाथि हिंसाका घटना एक पछि अर्को भईरहे पनि सरकारले दोषीमाथि कारवाहीका लागि कुनै कदम नचालेकोमा आपत्ति जनाएका छन् ।
बैठकमा समय लिएर सांसद जीवन परियारले सिराहाको औरही–५ मा गाउँपालिका अध्यक्ष शिवजी यादव, जनमत पार्टीका पालिका अध्यक्ष दिलीप यादव र विष्णु महायज्ञका आयोजक बजरङ्ग बाबाले दलित समुदायका दीपक मलिकको घर भत्काएकामा निन्दा गर्दै छानबिन समिति गठन गर्न माग गरेका छन् ।
अन्तरराष्ट्रिय जातीय विभेद उन्मूलन दिवस मनाउने व्यवस्था संयुक्त राष्ट्रसङ्घले गरेको उल्लेख गर्दै उनले बुधबार सिराहाको औरहीमा जातीय विभेदको घटना भएकामा आपत्ति जनाए ।
सांसद मनिष झाले सिराहाको औरहीमा भएको घटनामा छानबिन गरी दोषीमाथि कारबाही गर्न माग गर्नुभयो । सांसद अब्दुल खानले औरहीका दीपक मलिक डोमको घर भत्काउने औरही गाउँपालिकाका अध्यक्ष शिवजी यादव, जनमत पार्टीका पालिका अध्यक्ष दिलीप यादव र महायज्ञका आयोजक बजरङ्ग बाबाले डोम परिवारको घर भत्काएर दलित समुदायको घरका सामग्री ओसारपसार गरेकाले कानुनी कारबाही गर्न माग गर्नुभयो ।
सांसद अमरेशकुमार सिंहले दलित र महिलामाथि शृङ्खलाबद्ध रूपमा अत्याचार हुँदा पनि केन्द्रीय र प्रदेश सरकारले किन केही गरिरहेको छैन ? भनी प्रश्न गरे ।
सांसद सम्झना थपलियाले मुलुकलाई छुवाछुतमुक्त घोषणा गरिए पनि सिराहाको औरही गाउँपालिकाको आदेशमा दलित समुदायको घर भत्काउने विषयले संसद् मर्माहत भएको बताइन ।
सांसद रणेन्द्र बराइलीले दलितमाथि गरिएको बर्बरताले सगरमाथाको टाकुरालाई नाघेको भन्दै औरही–५ का दीपक मलिकको घर भत्काउनु निन्दनीय काम भएको बताए । सांसद अशोककुमार चौधरीले संवैधानिक व्यवस्था सामाजिक न्यायमाथि सिराहा औरहीको घटनाले प्रहार गरेको बताए ।
सांसद प्रभु हजाराले २१औँ शताब्दीमा छुवाछुतका घटना जघन्य अपराध भएको बताए ।
प्रतिक्रिया