देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

स्ववियु निर्वाचनको माहोल तात्दै

देशान्तर


काठमाडौं । पाँच दशकयता राजनीतिक पार्टीका नर्सरीका रूपमा काम गर्दै आइरहेका विद्यार्थी संगठनहरूलाई यतिबेला स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचनले तताएको छ । २०३६ सालदेखि केही अपवादलाई छाडेर हरेक दुई–दुई वर्षमा हुँदै आएको स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचन २०६५पछि भने लामो समय रोकियो । एकैचोटि आठ वर्षपछि २०७३ सालमा स्ववियु निर्वाचन त भयो, तर सबै क्याम्पसमा निर्वाचन हुन सकेन । केही क्याम्पसमा निर्वाचन भए पनि धेरै क्याम्पस स्ववियुविहीन रहे ।

त्यसपछि पनि निर्वाचनको मिति तोकिँदै आए पनि पछिल्लो १० वर्षयता स्ववियु निर्वाचन व्यवस्थित हुन सकेको थिएन । त्रिभुवन विश्वविद्यालयले केहीअघि स्ववियु निर्वाचनको कार्यतालिका प्रकाशन गरेपछि माहोल तात्न सुरु भएको हो । अहिले त्रिविका आंगिक तथा सम्बन्धनप्राप्त क्याम्पसहरूमा संगठन दर्ताको काम सकिएको छ । त्रिभुवन विश्वविद्यालयका शिक्षाध्यक्ष डा. खड्ग केसीको अध्यक्षतामा रहेको विद्यार्थी कल्याण परिषद्को गत माघ ७ गतेको बैठकले स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु)को निर्वाचन आगामी चैत ५ गते गर्ने निर्णय गरेको थियो ।


यसअघि त्रिविको शैक्षिक क्यालेन्डरमा स्ववियु निर्वाचन फागुन १५ गते गर्ने तोकिएको थियो । विद्यार्थी कल्याण तथा खेलकुद निर्देशनालयका निर्देशक समेत रहेका डा. केसीले कानुनी जटिलता आउने भएकाले अघिल्लो कार्यकालमा भएको समयमा नै स्ववियु निर्वाचन गर्ने निर्णय गरिएको बताए । कानुनी जलिटता नआओस् भनेर अघिल्लोपटक निर्वाचन भएको मितिमै निर्वाचन गर्न त्रिवि कार्यकारी परिषद्लाई सिफारिस गरिएको उनको भनाइ छ । यसअघि २०७९ चैत ५ गते केही क्याम्पसमा स्ववियु निर्वाचन भएको थियो । विसं २०६५ चैत ६ गते भएको स्ववियु निर्वाचन एकैपटक २०७३ चैत १५ गते भएको थियो । त्यसपछि २०७९ चैत ५ गते केही क्याम्पसबाहेकमा सम्पन्न भएको थियो ।


स्ववियु निर्वाचन देशभरिका त्रिविका ६२ आंगिक र एक हजार ४० सम्बन्धन प्राप्त क्याम्पसमा हुनेछ । त्यस्तै नेपाल संस्कृत विश्वविद्यालयका १२ आंगिक केही सम्बन्धनप्राप्त क्याम्पसमा पनि स्ववियु निर्वाचन हुने गरेको छ । निर्वाचनका लागि २८ वर्षे उमेर हद र मिश्रित निर्वाचन प्रणालीको व्यवस्था गरिएको छ । नेपाल संस्कृत विश्वविद्यालयले पनि यस वर्ष हुने स्ववियु निर्वाचनको तालिका प्रकाशन गरेको छ । नेसंविले भने त्रिविको निर्वाचन तालिकाभन्दा ५ दिनपछि अर्थात् चैत १० गतेका लागि स्ववियु निर्वाचनको मिति तोकेको हो । जसअनुसार यही फागुन २७ गते बिहान १० देखि ४ बजेसम्मका लागि संगठन दर्ताको समय छुट्याइएको छ । फागुन २८ गते बिहान ११ बजे मतदाता सूची प्रकाशन गर्ने र १२ देखि ४ बजेसम्म मतदाता सूचीमा दाबीविरोधका लागि समय तोकिएको छ ।

चैत ३ गते अन्तिम मतदाता नामावली प्रकाशन गर्ने, सोही दिन ४ बजेसम्म उम्मेदवारको प्रत्यक्षतर्फको र समानुपातिकतर्फको मनोनयनपत्र तथा प्रस्तावित नामावली दाखिला गर्ने कार्यतालिका छ । चैत ५ गते प्रत्यक्षतर्फको उम्मेदवारको नामावली प्रकाशित गर्ने, सोही दिन उम्मेदवारको नामावलीउपर दाबीविरोध गर्ने समय छुट्याइएको छ । चैत ६गते दाबीविरोधउपर छानबिन गरी उम्मेदवारको नामावली प्रकाशित गर्ने, ७ गते दिउँसो १ बजेसम्म उम्मेदवारको नाम फिर्ता लिने अन्तिम समय तोकिएको छ भने सोही दिन ४ बजे उम्मेदवारको अन्तिम नामावली प्रकाशित गर्ने कार्यतालिका छ । चैत १० गते बिहान ८ बजेदेखि दिउँसो ४ बजेसम्मका लागि मतदानको समय तोकिएको स्ववियु निर्वाचन केन्द्रीय मूल समितिले जनाएको छ ।