देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

समृद्ध र समुन्नतितर्फ अग्रसर पञ्चेश्वर

देशान्तर


ऐतिहासिक, सांस्कृतिक एवं पर्यटकीय प्रसस्तै सम्भावना बोकेको स्थानीय तह हो, बैतडी जिल्लामा अवस्थित पञ्चेश्वर गाउँपालिका । पञ्चेश्वर गाउँपालिका बैतडी जिल्लाको दक्षिण पश्चिम भेगमा पर्दछ । यसको केही भूभाग महाकाली नदीसँग जोडिएको छ । यस गाउँपालिकाको पूर्वमा मेलौली नगरपालिका र शिवनाथ गाउँपालिका, पश्चिममा भारतको सिमाना, उत्तरमा दशरथचन्द नगरपालिका तथा दक्षिणमा शिवनाथ गाउँपालिका रहेको छ । यो गाउँपालिका साविकका पञ्चेश्वर गाविस, महाकाली गाविसको वडा नं. १ देखि ६ सम्म, कुलाउ गाविसको वडा नं. १ देखि ८, आम्चौरा गाविस, गिरेगाडा गाविस र रोडिदेवल गाविसको वडा नं. १, २, ३, ८ र ९ लाई समायोजन गरी पञ्चेश्वर गाउँपालिका बनेको हो । १२० दशमलव ४१ वर्ग किलोमिटर क्षेत्रफलमा फैलिएको यस गाउँपालिकामा ६ वटा वडा छन् । समृद्ध र समुन्नत विकाससहितको पञ्चेश्वर बनाउन नेतृत्वदायी भूमिका निर्वाह गर्दै आइरहेको छ, यस पञ्चेश्वर गाउँपालिकाले ।


यस गाउँपालिकाले पूर्वाधार तथा सामाजिक विकासको क्षेत्रमा गरेका कामहरू निकै उपलब्धिमूलक छन् । हाल गाउँपालिकाले सडक सञ्जाललाई मुख्य प्राथमिकतामा राखी अघि बढेको छ । अधिकांश स्थानमा सडक यातायात जोडिएको र आवतजावत गर्न सहज भएको छ । यस गाउँपालिकाले कुलाउ हँुदै पञ्चेश्वर जाने सडकबाट साविकको आम्चौरा गाविस तथा हालको गाउँपालिका भवनसम्म सडक सञ्जाल पु¥याइएको छ । जसले गर्दा २ घण्टा पैदल यात्रा गर्नुपर्ने बाध्यता हटेको छ भने आवतजावतमा सहजता भएको छ । हाललाई भारतसँगको आवागमनलाई सहज पार्न महाकाली नदीमा झोलुंगे पुल निर्माण गर्नु आवश्यक देखिन्छ । यस गाउँपालिकामा व्यापारिक हिसाबले भारतको लोहाघाट तथा पिथौरागढ बजार मुख्य आवतजावतको रूपमा लिइन्छ ।

यस गाउँपालिकामा बसोवास गर्ने अधिकांश बासिन्दाको मुख्य पेसा कृषि हो । यस गाउँपालिकामा उखुखेती, तेलहन बाली, माहुरी पालनको मुख्य तथा उपयुक्त वातावरण देखिन्छ । यसका साथै आलुलगायत तरकारी खेती, फलफूल खेतीको प्रचुर सम्भावना छ । यहाँका किसानहरूले गहुँ, धान, मकै, तरकारी र फलफूल लगाउने गरेका छन् । यस गाउँपालिकामा उत्पादन हुने भटमास, चिउरी, अम्बा, कागती, रिठ्ठा, सुन्तलाबाट विभिन्न उत्पादन गर्न सकिने भएकाले यस गाउँपालिकालाई औद्योगिक ग्राम घोषणा समेत गरिएको छ । यस गाउँपालिकाले खाद्यान्न बालीमा आत्मनिर्भर बनाउन पालिकाभित्रका किसानहरूलाई समयमा नै गुणस्तरीय र उन्नत जातको बीउ उपलब्ध गराउँदै आएको छ । साथै बालीमा देखिने सबै किसिमका समस्याको निराकरण तथा समाधानमा समेत जोड दिँदै आएको छ । रैथाने बालीमा गर्व गरौँ भन्ने मूल नाराका साथ परम्परागत र प्राकृतिक तथा पोषणयुक्त रैथाने बालीको बीउ संरक्षण गरी खेती विस्तारमा सहयोग गर्दै आएको छ ।


यस गाउँपालिकामा विभिन्न खोलाहरूबाट हाइड्रोपावर निर्माण गरी बिजुली उत्पादनसमेत गर्न सकिने प्रशस्तै सम्भावना छ । पञ्चेश्वर बहुउद्देश्यीय आयोजना पनि यसै गाउँपालिकाभित्र पर्छ । पर्यटकीय हिसाबले प्रशस्तै सम्भावना बोकेको छ, यस गाउँपालिकाले । यस गाउँपालिकामा कैलपाल धुरा, उदयदेव मन्दिर, देवताल मन्दिर, नागार्जुन मन्दिर, पञ्चेश्वर मन्दिर, चारखाम चौमो मन्दिर, बालाचौमा मन्दिर, कुलाउ मन्दिरलगायत धार्मिक तथा पर्यटकीय स्थलहरू रहेका छन् । कैलपाल धुरा मन्दिरमा हरेक वर्ष मंसिर कृष्ण पक्षको षष्ठी र सप्तमी तिथिमा जात्रा लाग्दै आएको छ । उक्त जात्रामा नेपालका मात्रै नभएर सीमावर्ती भारतीय दर्शनार्थीहरू समेत पुग्ने गरेका छन् । यस गाउँपालिकाले संघीय र प्रदेश सरकारसँग सहकार्य गरी देवतालदेखि ग्वाल्लेक, कैलपाल धुरा देखि देवताल र पञ्चेश्वरदेखि शिवनाथ क्षेत्रलाई धार्मिक पर्यटकीय क्षेत्र घोषणा गरी पर्यटकीय करिडोर स्थापनाका लागि पहल गर्दै आएको छ । यसका साथै प्रसिद्ध पञ्चेश्वर धाममा पूर्वाधार निर्माणका लागि समेत पहल गर्दै आइरहेको छ ।

पालिका क्षेत्रभित्रका सामुदायिक विद्यालयहरूका पूर्वाधार विकास र शैक्षिक वातावरणलाई स्वच्छ, मर्यादित र अनुशासित बनाई गुणस्तरीय शिक्षा प्रदान गर्ने क्षेत्रमा पञ्चेश्वर गाउँपालिकाले प्रशस्तै कामहरू गरेको छ । त्यसैकारण यस गाउँपालिकामा शिक्षा क्षेत्रमा उल्लेख्य सुधार भएको छ । यस गाउँपालिकाले विद्यालय शिक्षाको पहुँचसँगै शैक्षिक गुणस्तर अभिवृद्धि गर्न शैक्षिक गुणस्तर अभिवृद्धिकेन्द्रित कार्यक्रम निर्माण तथा कार्यान्वयन गर्दै आइरहेको छ । यस गाउँपालिकाले युवा उद्यमशीलता र स्वरोजगार प्रवद्र्धन गरी युवाहरूलाई आत्मनिर्भर बनाउँदै समृृद्धितर्फ अग्रसर गराउने उद्देश्यका साथ समय–समयमा विभिन्न कार्यक्रमहरू सञ्चालन गर्दै आएको छ ।


पर्याप्त स्रोत साधनको अभाव, भौगोलिक विकटताका कारण सबै माग र आकांक्षा पूरा गर्न नसके पनि स्थानीय जनताको आवश्यकता, चाहनाअनुसार विकासलाई गति दिइरहेको छ, यस पञ्चेश्वर गाउँपालिकाले । उपलब्ध स्रोत, साधनको प्रभावकारी तथा वैज्ञानिक व्यवस्थापन गर्दै एउटा समृद्ध र समुन्नत गाउँपालिका बनाउने योजनाका साथ अगाडि बढेको यस पञ्चेश्वर गाउँपालिका आफ्नो लक्ष्यमा सफल रहोस् ।