देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

प्राकृतिक सौन्दर्यताले भरिपूर्ण बैतडीको सुर्नया

देशान्तर


काठमाडौं । बैतडी जिल्लाको सोराड क्षेत्र र पुर्चौडी क्षेत्रको मध्यमार्ग भई जोडिएको बैतडी जिल्लाको १० वटा स्थानीय तहमध्ये एक हो सुर्नया गाउँपालिका । सुर भनेको देवता र नाया भनेको स्नान भन्ने हुन्छ । यस पवित्र पूण्यभूमिमा यस क्षेत्रका देवी–देवताले स्नान गर्ने पवित्र गंगा, जमुना, सरस्वती नदी स्वरूपका नदीको उद्गमस्थल यसै गाउँपालिकामा भएको कारण पनि यस गाउँपालिकाको नाम सुर्नया रहन गएको हो ।


यस गाउँपालिकामा ८ वटा वडा छन् । ती वडाहरूको नामकरण विभिन्न देवीदेवताका नामले (हटैराज, बाशुलिंक, भौनेली, रौलेश्वर, शंकरपुर, शिखरपुर) गरिएको छ । यस गाउँपालिकाको केन्द्र स्थान प्राचीनकालमा डोटीका पणेरु राजाहरूको राजधानी रौलाकेदारको पुण्यभूमि रामकी बरायल रौलेश्वरमा अवस्थित छ ।
बैतडी सदरमुकाम देखि ३५ किमि पूर्वमा रहेको यो गाउँपालिका सुर्नया नदीका नामले प्रसिद्ध छ । यहाँको भूभाग जैविक तथा प्राकृतिक विविधताले भरिपूर्ण रहेको चारैतिर हरियली वनजंगल, ताल, झरना डाँडाकाँडा साथै पर्यटकीय धार्मिकस्थलले अति शोभायमान बनाएको छ । यस गाउँपालिकाको पूर्वमा सिगास गाउँपालिका, पश्चिममा दशरथ चन्द नगरपालिका, उत्तरमा पुर्चौडी नगरपालिका र दक्षिणमा पाटन नगरपालिका छ । यो गाउँपालिका जिल्लाकै एक प्रचुर सम्भावना बोकेको एक गाउँपालिका हो । पर्यटकीय हिसाबले उच्च केन्द्रविन्दुमा रहेका पवित्र धाम छन् ।


यो गाउँपालिका ऐतिहासिक, प्राकृतिक, सांस्कृतिक तथा धार्मिक दृष्टिकोणले महत्वपूर्ण क्षेत्र हो । यस पालिकालाई पर्यटकीय केन्द्रको रूपमा विकास गर्न सकिने प्रशस्तै सम्भावना छ । पवित्र धार्मिक एवं प्राकृतिक सौन्दर्यले भरिपूर्ण एसियाकै लामो पाताल भूमेश्वर धार्मिक क्षेत्र, रौलाकेदार, गोफा केदार, गोबेश्वर, अनिरुद्र, बासुलिङ लगायत शक्तिपीठ, सुर्नया नदी, वन क्षेत्र, जडीबुटी, कृषि पशुपालन यस पालिकाका थुप्रै सम्भावनाका क्षेत्र हुन् । यी क्षेत्रको प्रभावकारी प्रयोग र दिगो विकास गर्दै अगाडि बढिरहेको छ यस गाउँपालिका ।
गुफा, तलाउ र मन्दिर रहेको सुर्नया गाउँपालिका वडा नम्बर २ बासुलिङमा अवस्थित पाताल भूमेश्वर ४ सय हेक्टर वन क्षेत्रमा फैलिएको छ । यो क्षेत्रमा नेपालकै गहिरो पाताल भूमेश्वर गुफा रहेको छ । यस क्षेत्रमा देवद्वार, धर्मद्वार, मोक्षद्वार र पापद्वार गरी चार गुफा छन् । बैतडी सदरमुकामबाट १८ किलोमिटर पूर्वमा पर्ने सिउडेबाट झन्डै आधा घन्टा उक्लेपछि पाताल भूमेश्वर पुग्न सकिन्छ । पाताल भूमेश्वर गुफा आसपासमा महादेव मन्दिरका साथै पोखरी रहेका छन् भने गुफा कतै साँघुरो र कतै फराकिलो छ । गुफा नजिकैको पहाडबाट पूर्व र उत्तरी दिशातर्फ मनोरम हिमालको दृश्यावलोकन गर्न सकिन्छ । यस क्षेत्रको प्राकृतिक सुन्दरता र धार्मिक महिमा देशभर फैलाउन सके पर्यटनको राम्रो गन्तव्यस्थल हुन सक्ने भए पनि पर्याप्त प्रचारप्रसार नहुँदा ओझेलमा परेको छ ।


चालू आर्थिक वर्षमा समृद्धि र सुशासन सुर्नयाको आवश्यकता, समावेशी र दिगो विकास हाम्रो प्रतिबद्धता भन्ने नाराका साथ अगाडि बढेको छ, यस गाउँपालिका । आधुनिक तथा व्यावसायिक शिक्षा, सर्वसुलभ र गुणस्तरीय स्वास्थ्य सेवा, उद्यमशीलता तथा रोजगार प्रवद्र्धन, पूर्वाधार निर्माण, पर्यटन विकास, खाद्य सुरक्षा, कृषि विकासलाई प्रमुख प्राथमिकतामा राख्दै अगाडि बढेको छ यस सुर्नया गाउँपालिका । प्राकृतिक साधनस्रोतको प्रभावकारी रूपमा उपयोग गरी समावेशी र दिगो विकासका माध्यमबाट गाउँपालिकालाई आर्थिक रूपले आत्मनिर्भर र सम्मुनत बनाउन लागिपरेको छ, यस स्थानीय तह ।


उच्च मूल्यका बालीको प्राविधिक सम्भाव्यताका आधारमा प्रत्येक वडामा साना व्यवसायिक कृषि उत्पादन केन्द्र (पकेट क्षेत्र) स्थापना गरी किसानहरूलाई आधुनिक तथा व्यावसायिक खेतीतर्फ उत्प्रेरित गर्दै आएको छ यस स्थानीय तहले । कृषियोग्य भूमिको पूर्ण उपयोग सुनिश्चित गर्न पालिकाभित्र रहेका कुनै पनि कृषियोग्य जमिन बाँझो राख्न नदिई बाँझो जमिनमा खेती गर्न चाहने किसानहरूलाई असल कृषि अभ्यास कार्यक्रम सञ्चालन गरी अनुदान दिने व्यवस्था समेत यस गाउँपालिका गरेको छ ।
गुणस्तरीय शिक्षा र भरपर्दो स्वास्थ्य सेवा उपलब्ध गराई पूर्ण साक्षर, स्वस्थ र सभ्य पालिका बनाउन यस गाउँपालिकाले प्रशस्तै कामहरू गरेको छ । यस गाउँपालिकामा १० शय्याको आधारभूत अस्पताल निर्माणाधीन अवस्थामा रहेको छ । गर्भवती तथा सुत्केरी महिलाहरूलाई निःशुल्क एम्बुलेन्सको सेवा प्रदान गर्दै आइरहेको छ । राष्ट्रिय खोप तालिकाअनुसार यस वर्ष पनि पूर्ण खोप सुनिश्चितता र दिगोपना पालिका घोषणा कार्यक्रम सम्पन्न गरिएको छ । वडा नम्बर ५ धुलिधारमा स्थापना गरिएको बर्थिङ सेन्टर सञ्चालनमा ल्याइएको छ ।


पालिका क्षेत्रभित्र सञ्चालन भइरहेका विद्यालय तथा अन्य शैक्षिक संस्थाको स्तरवृद्धि गर्न शैक्षिक सुधारका कार्यक्रम अगाडि बढाएको छ । पूर्वाधार विकासको क्षेत्रमा पनि प्रशस्तै काम भएका छन् यस गाउँपालिकामा । समावेशी र दिगो विकासको माध्यमबाट गुणस्तरीय र दिगो भौतिक पूर्वाधारको विकास गर्दै आएको छ यस गाउँपालिकाले । गाउँपालिकाको प्रशासकीय भवनको पहिलो तलाको निर्माण कार्य सम्पन्न भइसकेको छ । बोरीगाउँ पपिता सडक गाउँपालिकासँग जोड्नका लागि काम भइरहेको छ । हटैराज बटैराज सडक योजना निर्माणाधीन अवस्थामा छ । दिपु पिचास मन्दिरदेखि केदार गुफा पीसीसी बाटो निर्माण सम्पन्न भइसकेको छ । सत्बाज श्रीभावर सडक जोड्ने सडकको काम पनि अन्तिम चरणमा पुगिसकेको छ । जोगेनी हिटनया खटाली लिफ्ट खानेपानी योजना निर्माणाधीन अवस्थामा छ । पूर्वाधार, पर्यटन, शिक्षा, स्वास्थ्य एवं कृषिमा जोड दिई रोजगारीको सिर्जना गर्दै सुशासन प्रवद्र्धनमार्फत समृृद्ध गाउँपालिका र खुसी गाउँबासी बनाउने लक्ष्यका साथ अगाडि बढेको छ यस गाउँपालिका । जनताको भावनालाई कदर गर्दै जनमुखी कार्यक्रम तथा योजनाहरू सञ्चालन गर्दै आएको छ सुर्नया गाउँपालिकाले ।