काठमाडौं । फागुन १४ गतेबाट प्रदर्शनमा आउने बहुप्रतीक्षित मानिएको चलचित्र ‘लाज शरणम्’को गीतले नयाँ रेकर्ड बनाएको छ । युट्युबमा यो गीतले रेकर्ड बनाएको हो । काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले गाएको ‘नेपाल हाँसेको’ बोलको गीत रिलिज भएको केही घण्टामै युट्युब ट्रेन्डिङमा प्रवेश गरेको थियो । युट्युब ट्रेन्डिङमा सबैभन्दा चाँडो एक नम्बरमा आउने गीतको रेकर्ड यो गीतले बनाएको हो ।
२४ घण्टा नपुग्दै युट्युबको म्युजिक सेक्सनको ट्रेन्डिङको एक नम्बरमा पुग्ने चलचित्रको पहिलो गीत बनेको हो । यो गीत नेपालबाहेक अस्ट्रेलिया, युएई, कतार, माल्टा र कुवेत गरी अन्य पाँच देशको युट्युब ट्रेन्डिङमा समेत परेको छ । गीतमा बालेनको शब्द, संगीत, स्वर र ¥याप छ । यस्तै, सारा खड्गी, मानुषी पौडेल, कृषा खड्कालगायतको पनि सामुहिक स्वर रहेको छ ।
कुमार कट्टेलले निर्देशन गरेको ‘लाज शरणम्’मा सीताराम कट्टेल ‘धुर्मुस’ मुख्य भूमिकामा छन् । चलचित्रमा अर्जुन घिमिरे, सागर लम्साल, हरिश निरौला, प्रियाना आचार्य, विजय बराल, महेश त्रिपाठी, अर्पण थापा, रेणु योगी, विजय लामा, मुकुन्द श्रेष्ठ, माला लिम्बूलगायत कलाकारको अभिनय छ ।
प्रतिक्रिया