काठमाडौं । माइ टाइप फेस्टिभलले आयोजना गरेको एक कन्सर्टमा फारो ब्यान्डका सदस्यहरूले फ्रेबुअरी २ तारिखमा सिलगुडीमा प्रस्तुति दिने कार्यक्रम तय भएपछि सिलगुडी पुगेको गायक सविन राई र उनको टिम आयोजक नै बेपत्ता भएपछि सुकना पुगेर पनि प्रस्तुति नदिई फर्किएको छ । सविनसहितको टिमले सार्वजनिक गरेको एक भिडियोमा सार्वजनिक भिडियोमा अन्तिम समयसम्म पनि आयोजक सम्पर्कमा नआएपछि आफूहरू ठगीमा परेको बताएका छन् ।
भिडियोमा सविनले भनेका छन्, ‘फ्रेबुअरी २ तारिखमा सुकनाको सोका लागि हामी आएका थियौँ । तर, हामी कुनै पनि कलाकारले प्रस्तुति दिन सकेनौँ । यसका लगि हामी मनैदेखि क्षमा चाहन्छौँ । आयोजकले नजानेको हो वा जानी–जानी यस्तो गरेको हो भन्ने हामीलाई थाहा भएन । हामीले आयोजकलाई भेटेका पनि थिएनौँ । अन्तिम समयसम्म पनि आयोजकले अनुहार नदेखाएपछि ठिक भएन जस्तो लाग्यो र हामी अगाडि बढेनौँ ।’
उनीहरूले भविष्यमा कुनै पनि कलाकारहरूले यस्तो समस्या भोग्नुपर्ने छैन भन्दै आशा राखेको पनि उल्लेख गरेका छन् । यता गायिका एलिना चौहानले एक भिडियो पोस्ट गर्दै दुबईमा बस्दै आएका दीपक बराइलीबाट आफू ठगिएको बताएकी छिन् ।
उनले पोस्ट गरेको भिडियोमा आफूलाई आयोजक बताएर बराइलीले फोन सम्पर्क गरेको, तर मुख्य आयोजकलाई आफू एलिनाको म्यानेजर भएको बताउँदै मुख्य आयोजकसँग पारिश्रमिक लिएर आफूलाई ठगेको बताएकी हुन् ।
एलिनाले आफूले पारिश्रमिकका लागि लामो समय कुरेको, तर बराइलीले पैसा दिनुको साटो उल्टै ठूला कुरा गरेको उनको आरोप छ । उनले उक्त एक मिनेट २५ सेकेन्डको भिडियोमा बराइलीसँग सावधान रहन पनि भनेकी छिन् । एलिनाको भिडियो पोस्टमा कमेन्ट गर्दै धेरैले बराइलीबाट ठगिएको उल्लेख गरेका छन् ।
अन्तराष्ट्रिय नेपाली कलाकार समाज इनास दुबईका अध्यक्ष एमडी बोहोराले बराइलीले धेरैलाई दुबई र युरोप पठाउने भन्दै ठगी गरेको लेखेका छन् । उनले होटेलको पेमेन्ट र सपिङ गर्न पैसा पुगेन भनेर आफूसँग लिएको पैसा तीन वर्ष सम्म पनि फिर्ता नगरेको उल्लेख गरेका छन् । यस्तै, विमल क्षेत्री नामको फेसबुक प्रयोगकर्ताले क्यानडा कार्यक्रममा लाने भनेर बराइलीले १० लाख ठगी गरेको आरोप लगाएका छन् । सविन शर्मा, सुक्रिम दाहाललगायत फेसबुक प्रयोगकर्ताले पनि बराइलीबाट ठगिएको उल्लेख गरेका छन् ।
यता, एलिनाको भिडियोमा प्रतिक्रिया दिँदै बराइलीले भनेका छन्, ‘खासमा यो बहिनीलाई मैले देखेको छैन अनि यो बहिनीले पनि मलाई देखेको छैन, कुरा सिक्किमको कार्यक्रमको हो । मैले रोशन पराजुली भन्ने साथीको कार्यक्रममा भन्देको मात्र हो, बाँकी मैले केही आर्थिक लाभ लेको भए, मेरो खातामा पैसा आको भए भन्नुहोला बहिनी । अनि अर्को कुरा तिमीजत्तिको मान्छेले यस्तो हर्कत न गरेको राम्रो । आवेशमा आयौ बहिनी केही छैन यसको लेखाजोखा अवश्य होला, तर बाँकी भेटेर कुरा गरौँला ।’
प्रतिक्रिया