काठमाडौँ । चिकित्सा शिक्षा सङ्घर्ष अभियानले आवासीय चिकित्सकहरूको निर्वाह भत्ता २५ हजार रुपैयाँ तोकिएकोमा आपत्ति जनाएको छ । स्नातकोत्तर तहमा अध्ययनरत आवासीय चिकित्सकहरूको निर्वाह भत्ता मासिक न्यूनतम २५ हजार रुपैयाँ तोकिएको छ ।
संयोजक मनिष भट्टराईसहितका पदाधिकारीले जारी गरेको विज्ञप्तिमा आवासीय चिकित्सकहरूको न्यूनतम निर्वाह भत्ता २५ हजार तोकिनु निकै दुःखद भएको उल्लेख छ । स्वास्थ्य तथा जनसंख्यामन्त्री र शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रीले गरेको उक्त निर्णय फिर्ता लिन समेत माग गरिएको छ ।
आवासीय चिकित्सकहरूका माग सम्बोधन नगरिएको खण्डमा सम्पूर्ण मेडिकल तथा पारामेडिकल फेकल्टीका साथै पीजी÷इन्टर्न विद्यार्थीहरूका साथमा जुनसुकै समयमा पनि आन्दोलनका कार्यक्रमहरू घोषणा गर्न बाध्य हुने समेत चेतावनी दिएको छ । माघ १४ गते शिक्षामन्त्री र स्वास्थ्यमन्त्रीले तीन बुँदे निर्णय गर्दै आवासीय चिकित्सकहरूको निर्वाह भत्ता तोकेका थिए । त्यसको विरोधमा आवासीय चिकित्साहरू आन्दोलनमा छन् ।
प्रतिक्रिया