काठमाडौं । माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुनले काँग्रेस, एमाले र माओवादी केन्द्रका नेता मुछिएका भनिएका अनियमितता प्रकरण छानबिनका लागि संसदीय वा उच्चस्तरीय छानबिन समिति गठन गर्न सरकारसँग माग गरेका छन् ।
माओवादी केन्द्र पाल्पाको रिप्टिकोट गाउँ समितिको तेस्रो अधिवेशनको बुधवार उद्घाटन गर्दै पुनले पछिल्लो समय सतहमा आएका कम्बोडिया , स्वीस बैंक ,गिरिबन्धु टी स्टेट ,शेरा दरबार प्रकरणहरूको छानबिनका लागि समिति गठनको माग गरेका हुन् ।
आफूमाथि दर्जनौँ अनियमितता र भ्रष्टाचार आरोप लागेपछि विवादमा पार्न सकिन्छ कि भन्ने नियतका साथ प्रधानमन्त्री केपी ओलीले शेरा दरबारको प्रसङ्ग चर्चामा ल्याइएको उनको भनाइ थियो । प्रधानमन्त्री ओलीले राज्य शक्तिको आडमा आफू, आफ्ना पार्टीका व्यक्तिहरू र सत्तारुढ काँग्रेस नेता मुछिएका भ्रष्टाचार, तस्करी र राज्य दोहनका प्रकरणको छानबिन फितला बनाएको तथा छानबिन नै गर्नुपरे पनि पक्षपातपूर्ण व्यवहार गरेको टिप्पणी उनले गरे ।
उनले शुक्रवार संघीय संसदको हिउँदे अधिवेशनको पहिलो बैठकलाई सम्बोधन गर्दै प्रचण्डले शेरा दरबारबारे छानबिनको माग राखेर बोल्ने जानकारी दिए । राज्यका निकायको दुरुपयोग गरेर प्रतिशोध साँध्न खोज्ने तथा न्यायिक र अभियोजनको प्रक्रिया हातमा लिने प्रयास लोकतन्त्र नभई स्वेच्छाचारी र तानाशाही प्रवृत्ति भएको आरोप पुनले लगाए ।
प्रतिक्रिया