देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

माओवादी संसदीय दलको बैठक आज, यी हुन् प्रमुख एजेण्डा

देशान्तर

काठमाडौं । प्रमुख प्रतिपक्षी नेकपा माओवादी केन्द्रको संसदीय दलको बैठक आज (बिहीबार)दिउँसो १ बजे संसदीय दलको कार्यालय सिंहदरबारमा बस्ने भएको छ ।

माघ १८ गते बस्ने संसद्को हिउँदे अधिवेशनको तयारीका लागि बैठक बोलाइएको प्रमुख सचेतक हितराज पाण्डेले जानकारी दिए ।

पार्टीको तर्फबाट सदनमा खेल्नुपर्ने भूमिका, त्यसको तयारी, कानुन निर्माण लगायत विषयमा छलफल गर्न बैठक बोलाइएको उनले बताए । सरकारले ल्याएको अध्यादेश, दर्ता भएका विधेयकलगायतका विभिन्न विषयमा संसदमा प्रभावकारी उपस्थिति र प्रस्तुतिबारे आजको संसदीय दल बैठकमा छलफल हुने प्रमुख सचेतक पाण्डेले जानकारी दिए ।

माओवादीले सरकारले संसद छलेर अध्यादेश ल्याउनु गलत भएको निष्कर्ष निकाल्दै संसदमा जोडदार रूपमा कुरा राख्ने तयारी गरेको छ ।केपी ओली सरकारको ६ महिना असफल भएको माओवादीको निष्कर्ष रहेको छ ।

सरकार सुशासन, सामाजिक न्याय र समृद्धिको उल्टो बाटो हिँडेको, संसद् छलेर निरंकुश तरिकाले अध्यादेशबाट शासन गर्न खोजेको, जनजीविका, राष्ट्रिय एजेण्डाको विषयमा ध्यान नदिएको आरोप लगाउँदै आएको छ ।

प्रमुख प्रतिपक्ष दलको नेता समेत रहेका प्रचण्डले विपक्षी ७ दलको बैठक बोलाएर सरकारमाथि दबाब दिने रणनीति बनाएका छन् । पाँचबुँदे साझा धारणा बनाएका उनीहरूले सरकारविरुद्ध कडा रूपमा प्रस्तुत हुने योजना बनाएका छन् ।