देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

सरकार आजै ढल्छ, भोलि बिहान ढल्छ भनेर गरेको बिलौनाको कुनै अर्थ छैन : ओली

देशान्तर

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले माओवादी केन्द्रका अध्यक्ष प्रचण्डको साथ लिएर प्रधानमन्त्री बन्नुको अर्थ नभएको बताएका छन् । सूर्यविनायक नगरपालिकाको प्रशासकीय भवन उद्घाटन समारोहलाई सम्बोधन गर्दै उनले देश अप्ठ्यारो स्थितिमा पुगेपछि कांग्रेससँग मिलेर सरकार बनाएको बताए । कांग्रेसले अफर गरेपछि प्रधानमन्त्री बनेको भन्द्यै ओलीले अब करिव डेढ बर्षपछि देउवा प्रधानमन्त्री बन्ने बताए ।

प्रधानमन्त्रीको चक्लेट छाडेर नेकपा एमाले र नेपाली कांग्रेस मिलेर देश बनाउनका लागि यो बलियो सरकार गठन गरेको उनको भनाई थियो ।उनले देशै रहन्छ कि रहँदैन, प्रणाली नै रहन्छ कि रहँदैन भन्ने स्थितिमा पुगेपछि प्रतिस्पर्धी दलहरू मिलेको दाबी गरे ।
उनले सरकार आजै ढल्छ, भोलि बिहान ढल्छ भनेर गरेको बिलौनाको कुनै अर्थ नभएको पनि बताए । ओलीले विपक्षी दलहरूले भ्रमको खेती गरिरहेको आरोप लगाए । ओलीले अहिले २०६४ सालको समय नभएको स्मरण गराए । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले गत शुक्रबार दाङको तुलसीपुरमा आयोजित खबरदारी सभालाई सम्बोधन गर्दै ०६४ मा जस्तै भोट दिए देशबाट भ्रष्टाचारका जराकिला उखेलेर फाल्ने बताएका थिए ।
प्रचण्डको उक्त भनाइको जवाफ फर्काउदै उनले प्रचण्डको नाम नलिइकन भने ‘अचम्मको कुरा, ६४ को जस्तै भोट दिनुस् के के गर्छु गर्छु भन्नु भएछ एक ठाउँमा एक जनाले,’ प्रचण्डको नाम नलिइ ओलीले भनेका छन्, ‘ए जमाना गयो त्यो । क्याम्पमा लडाकु थिए, आतकं थियो, त्रास थियो । सोझा जनतालाई दुर्बिनले हे¥या हुन्छ, कहाँ भोट लगायो थाहा पाउँछौं हामी पछि ठिक लगाउँछौं भनेर ।’ उनले ०६४ को निर्वाचनमा सरकार र प्रशासन नै माओवादीका कारण निरीह बन्नुपरेको उल्लेख गरे ।
‘उनीहरूका मान्छे मतपत्रमा छाप लगाएकै ठाउँबाट हेर्थे । म लगाइदिन्छु भनेर समेत भन्थे । सरकार र प्रशासन निरीह हुन्थ्यो । त्यो जमाना अब छैन । गयो त्यो जमाना,’ उनले भने । उनले देश लोकतान्त्रिक अभ्यास चल्ने बताउँदै सबैलाई त्यसै गरी अगाडि बढ्न आग्रह गरे ।

कम्बोडिया र स्वीटजरल्याण्डमा सम्पत्ति छ भनेर आफूमाथि आरोप लगाएकोमा पनि ओलीले असन्तुष्टि व्यक्त गरे । आफू बिरामी हुँदा भएको प्रचारप्रति पनि प्रधानमन्त्री ओलीले गुनासो गरे । औषधीले गर्दा आफूले केही कमजोरी भने महसुस गरेको तर केही दिनमा नै आफू ठिक हुने उनको जिकिर थियो ।