देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

सरकार आजै ढल्छ, भोलि ढल्छ भन्ने छाती पिटाई, कपाल लुछाई र विलौनाको कुनै काम छैन् : प्रधानमन्त्री ओली

देशान्तर


भक्तपुर । प्रधानमन्त्री केपी शर्मा ओलीले विपक्षी दलहरुले भनेजस्तो सरकार नढल्ने बताउनुभएको छ । प्रधानमन्त्रीको चकलेट छाडेर एमाले र नेपाली कांग्रेस मिलेर देश बनाउनका लागि अहिलेको बलियो सरकार बनेको उहाँको भनाई छ । भक्तपुरको सूर्यविनायक नगरपालिकाको कटुञ्जेस्थित नवनिर्मित प्रशासकीय भवनको सोमबार उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले सरकार आजै ढल्छ, भोलि ढल्छ भन्ने छाती पिटाई, कपाल लुछाई र विलौनाको कुनै काम नभएको पनि बताउनुभयो ।

सत्ताको खिचातानीमा मात्रै केन्द्रित हुने प्रवृत्तिबाट देशलाई मुक्त बनाउँदै दुई ठूला दलको सहकार्यमा बनेको वर्तमान सरकार, विकास र स्थिरताको बलियो आधार भएको उहाँको कथन थियो । उहाँले अब नेपालमा विकासको क्रममा अगाडि बढेको भन्दै देश साँच्चै अप्ठ्यारोमा परेकाले दुई ठूला दलको सहकार्यमा देशलाई एकताबद्ध बनाउँदै सरकारले विकासको अगुवाइ गर्ने बताउनुभयो । नेपाली कांग्रेस र नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले अब देशलाई स्थिरता दिने सङ्कल्प गरिसकेका छन् । यसमा ढुक्क भए हुन्छ, उहाँले भन्नुभयो ।

प्रधानमन्त्री ओलीले पूर्वसहमतिअनुसार अहिले आफूले कांग्रेसबाट पूराका पूरा साथ पाएको र भोलि कांग्रेस नेतृत्वको सरकारलाई पनि एमालेले पूराका पूरा साथ दिने समेत बताउनुभयो । 

प्रधानमन्त्री ओलीले आफूलाई रूघाखोकी लागेको समयमा अस्पतालको आइसियुमा रहेका बेलामा तस्बिर सार्वजनिक गरेर भ्रम फैलाइएको गुनासो गर्नुभयो । ‘मलाई रूघाखोकी लागेको हो । एन्टिबायोटिकले अलि कमजोर बनाएको छ तर हाच्छिउँ गरेको देख्यो भने आइसियु कक्षकमा बसेको फोटो आइहाल्छ । खोक्न पाएको छैन आइसियुमा बसेको देखाउँछन्, उहाँको भनाई थियो । 

कार्यक्रममा प्रतिनिधिसभाका सदस्य दुर्लभ थापा, पूर्वमन्त्री महेश बस्नेत, नगरप्रमुख वासुदेव थापालगायतले विकास निर्माणका ऐक्यबद्धताको मर्मका साथ काम गर्नुपर्ने बताउनुभएको थियो । 

–––