काठमाडौं । सत्तारुढ दलहरूको बैठक आज बस्दै छ । सोमबार प्रधानमन्त्री केपी शर्मा ओलीले आज साँझ ५ बजे सरकारी निवास बालुवाटारमा बस्ने गरी बैठक बोलाएका हुन् । बैठकमा माघ १८ गते सुरु हुने हिउँदे अधिवेशन, संसदमा पेस गरिने विधेयक र सरकारका काम कारबाहीका बारेमा छलफल हुने जनाइएको छ ।
सत्तापक्षमा नेकपा एमाले, नेपाली कांग्रेस, जनता समाजवादी पार्टी (जसपा), नागरिक उन्मुक्ति पार्टी, लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) र जनमत पार्टी रहेका छन् ।
यसैबीच प्रतिनिधि सभा नियमावली संशोधन मस्यौदा समिति बनाउने तयारी भएको छ । यसका लागि संसद सचिवालयले राजनीतिक दलहरूसँग छलफल गरिरहेको छ । नियमावली संशोधन मस्यौदा समिति प्रतिनिधि सभाले नै बनाउनुपर्ने हुन्छ । यसको गृहकार्य संसद सचिवालयले गरिरहेको छ ।
सभामुख देवराज घिमिरेले सोमबार प्रमुख पाँच दलका प्रमुख सचेतक र सचेतकहरूसँग आयोजना गरेको छलफलमा नियमावली संशोधन मस्यौदा समिति बनाउने विषय समेत एजेण्डामा छ ।
आज सामूहिक छलफल गरेपछि भोलि कार्यव्यवस्था परामर्श समितिको बैठक राखिएको छ । कार्यव्यवस्था परामर्श समितिको बैठक मंगलबार बिहान ११ बजेका लागि तय भएको छ । कार्यव्यवस्थाको बैठकले हिउँदे अधिवेशनको पहिलो बैठकको कार्यसूची तय गर्ने छ ।
प्रतिक्रिया