काठमाडौं । अछाममा दुईजना किशोरीको शंकास्पद मृत्यु भएको छ । सो प्रकरणमा प्रहरीले दुईजनालाई सोधपुछका लागि नियन्त्रणमा लिएको छ।
आइतबार साँझ जिल्लाको ढकारी गाउँपालिकाबाट उनीहरूलाई पक्राउ गरिएको हो । पक्राउ पर्ने दुवैजना २० वर्षभन्दा कम उमेरका रहेको प्रहरीले जनाएको छ ।
जिल्लाको ढकारी गाउँपालिका–८ की १५ वर्षीय सरस्वती खड्का र १४ वर्षकी इशरा खड्काको ढकारी गाउँपालिकाकै वडा नम्बर १ स्थित सुनघर सामुदायिक वनमा शनिबार बेलुकी शव फेला परेको थियो ।
शुक्रबार बिहान घरबाट बाख्रा चराउन गएका उनीहरू त्यही दिनबाट सम्पर्कविहीन भएका थिए । शनिबार शंकास्पद अवस्थामा शव फेला परेसँगै आफन्तले हत्याको आशंका गरेका हुन् ।
परिवारका सदस्यहरूले हत्या भएको भन्दै छानबिनको लागि स्थानीय प्रशासनसँग माग गरेको छन् । शव क्षतविक्षत् अवस्थामा अलग–अलग ठाउँमा फेला परेका छन् ।
मृतक दुवैजना एउटै परिवारको हुन् । मृतकमध्ये सरस्वती फुपू र ईशरा भदैनी नाता पर्छन् । शंकास्पद व्यक्तिका बारेमा परिवारले दिएको जानकारीका आधारमा प्रहरीले दुईजनालाई पक्राउ गरेको हो ।
परिवारका सदस्यहरूले दुवै जनाको हत्या भएको भन्दै छानबिनको माग गरेका छन् । आइतबार जिल्ला प्रहरी कार्यालय अछामका प्रमुख प्रहरी नायव उपरीक्षक ईश्वरीप्रसाद भण्डारी र प्रमुख जिल्ला अधिकारी शिवप्रसाद लम्सालसहितको टोली घटनास्थलमा पुगेको थियो ।
घटनास्थलबाट प्रहरीले किशोरीहरूको शव निरीक्षण गरेर फर्किंदासम्म पनि उनीहरूको मृत्यु कसरी भयो ? घटना भवितव्य हो या हत्या भन्ने विषयमा कुनै आधार पत्ता लगाउन सकेको छैन । पोस्टमार्टमका लागि आइतबार साँझ शव जिल्ला अस्पताल अछाम ल्याएको छ ।
पोस्टमार्टमपछि मात्रै घटनाबारेका तथ्यहरू खुल्ने डिएसपी भण्डारीले जानकारी लिए । ‘हामी घटनास्थलको अध्ययन गरेर फर्किएका छौँ, अहिलेसम्म कसरी घटना घट्यो भन्ने कुनै तथ्य बाहिर आएको छैन’ उनले भने, ‘पोस्टमार्टम गर्छौं, त्यसपछि केही कुरा बाहिर आउला ।’
घटना गम्भीर भएको हुँदा अछाममै पोस्टमार्टम हुने भए पनि दुवैजनाको शव पोस्टमार्टमको लागि नेपालगन्ज पठाइएको छ ।
प्रतिक्रिया