देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

हमासले थप ६ जना बन्धक मुक्त गर्दै, के छ विपीन जोशीको अवस्था ?

देशान्तर

काठमाडौं । इजरायलका प्रधानमन्त्री बेन्जमिन नेतन्याहूले हमासले यो साता थप ६ जना इजरायली बन्धकलाई मुक्त गर्ने तथा इजरायलले गाजावासीलाई सोमबारदेखि आफ्नो घर रहेको उत्तरी क्षेत्रमा फर्कन दिने बताएका छन्।

मुक्त हुने भनिएका बन्धकहरूमा इजरायल र हमासबीच विवादको केन्द्रमा रहेकी इजरायली नागरिक अर्बेल यहुद पनि छिन्।

उनको विषयलाई लिएर दुई पक्षबीच मतभिन्नता देखिएपछि इजरायलले गाजावासीलाई उत्तरतर्फ जानबाट रोकिरहेको छ।

हमासले शनिबार चार इजरायली सैनिकलाई मुक्त गरेको थियो, तर उसले यहुदलाई मुक्त गरेन। इजरायलले हमासमाथि युद्धविराम सम्झौताको उल्लंघन गरेको आरोप लगाएको छ।

उक्त सम्झौताअन्तर्गत प्यालेस्टिनी बन्दीलाई रिहा गरेको बदलामा इजरायली नागरिकलाई पहिले मुक्त गर्नुपर्ने थियो।

करिब १,२०० मानिसहरू मारिने तथा २५१ जनालाई बन्धक बनाइने गरी सन् २०२३ को अक्टोबर ७ मा हमासद्वारा इजरायलमा भएको आक्रमणपछि गाजामा जारी युद्ध पछिल्लो युद्धविराम सम्झौतापछि रोकिएको छ।

गाजास्थित हमासद्वारा सञ्चालित स्वास्थ्य मन्त्रालयले इजरायली आक्रमणमा परेर हालसम्म ४७,२०० भन्दा बढी प्यालेस्टिनीहरू मारिएको जनाएको छ।

के छ विपीन जोशीको अवस्था ?

हमासले गरेको अप्रत्याशित आक्रमणका क्रममा ‘लर्न एन्ड अर्न’ कार्यक्रम अन्तर्गत इजरायल गएका १० जना नेपाली विद्यार्थीको ज्यान गएको थियो।

त्यस क्रममा बन्धक बनाइएकाहरूमा नेपाली विद्यार्थी विपिन जोशी पनि रहेको बताइएको छ। तर उनी हालसम्म मुक्त भएका छैनन् भने उनको पछिल्लो अवस्थाबारे जानकारी प्राप्त हुन सकेको छैन।

युद्धविराम सुरु भएपछि इजरेलस्थित नेपाली राजदूत धनप्रसाद पण्डितले बीबीसीसँग ‘मुक्त हुने बन्धकमा जोशी पनि पर्ने’ आशा व्यक्त गरेका थिए।

त्यस बेला पण्डितले हमासले मुक्त गर्न लागेका ३४ जना बन्धकहरूको सूचीमा नेपाली बन्धक नरहेको जानकारी इजरायली पक्षले आफूलाई दिएको बताएका थिए।