म्याग्दी । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ नारच्याङमा रहेको अन्नपूर्ण आधार शिविर र मौरिस हर्गोज पदमार्गमा एक करोड २५ लाख रुपैयाँको लागतमा पूर्वाधार निर्माण थालिएको छ ।
अन्नपूर्ण गाउँपालिकाको एक करोड रुपैयाँ, नेपाल पर्यटन बोर्डको २० लाख रुपैयाँ र अन्नपूूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप)को पाँच लाख रुपैयाँ बजेटबाट आश्रयस्थल, शौचालय, खानेपानी, पदमार्ग, चिया पसल र खुला संग्रहालय निर्माण थालिएको हो । अन्नपूर्ण गाउँपालिकाका अध्यक्ष भारतकुमार पुनले अन्नपूर्ण आधार शिविर र पञ्चकुण्ड ताल क्षेत्रमा अस्थायी संरचना निर्माण गर्न लागिएको जानकारी दिए ।
‘एक्यापमा पर्ने भएकाले स्थायी संरचना निर्माण गर्न नीतिगत समस्या भएपछि पर्यटकको सहजताका लागि अस्थायी संरचना बनाउन थालिएको हो,’ उनले भने, ‘अन्नपूर्ण आधार शिविर र पदमार्गमा चिया तथा खाजा पसल सञ्चालनको गाउँपालिकाले ठेक्का आह्वान गरेको छ ।’
योजनाको सर्वेक्षण, लागत अनुमान तयार र उपभोक्ता समिति गठन भइसकेको अन्नपूर्णका प्रमुख प्रशासकीय अधिकृत रामप्रसाद शर्मा कँडेलले बताए । सन्धिखर्क, भुसकेट, पञ्चकुण्ड ताल परिसरमा ४० लाख रुपैयाँको लागतमा तीनवटा आश्रयस्थल निर्माण गर्न लागिएको छ ।
हुमखोला, फुतफुते झरना, गुुफाफाट, भुसकेट र पञ्चकुण्डमा खानेपानी र शौचालय निर्माणका लागि ३० लाख रुपैयाँ विनियोजन भएको छ । फुटफुते झरना परिसरमा चिया पसल र आधार शिविरमा खुुला संग्रहालय निर्माणका लागि १०÷१० लाख रुपैयाँ विनियोजन भएको छ । खुला संग्रहालयमा आधार शिविरमा रहेका अभिलेखलाई संकलन र संरक्षण गर्ने लक्ष्य रहेको अन्नपूर्ण गाउँपालिकाका सबइन्जिनियर बालकृष्ण पौडेलले बताए ।
पदमार्ग निर्माण र सुधारका लागि पर्यटन बोर्डको २० लाख रुपैयाँ, गाउँपालिकाको १० लाख रुपैयाँ र एक्यापको पाँच लाख रुपैयाँ बजेट परिचालन गर्ने गरी उपभोक्ता समिति गठन भएको छ । प्रमुख प्रशासकीय अधिकृत कँडेल, सबइन्जिनियर पौडेल र समुन्त यादवको टोली गत हप्ता आधार शिविर पुगेर योजना निर्माणस्थलको निरिक्षण गरेर फर्किएको थियो ।
मानव बस्तीदेखि टाढा, होटल र रेष्टुरेन्ट नभएको आठ हजार ९१ मिटर अग्लो अन्नपूर्ण हिमालको आरोहण आधार शिविर जाने पर्यटकलाई खाना, बस्न र फोहोर व्यवस्थापनमा समस्या भएपछि पूर्वाधार निर्माण थालिएको हो ।
अन्नपूर्ण गाउँपालिका–४ का वडाध्यक्ष लोकबहादुर फगामीका अनुसार दसैँ–तिहारको समयमा करिब पाँच हजारजना आन्तरिक पर्यटकले अन्नपूर्ण आधार शिविरको भ्रमणमा गएका थिए । मौरिस हर्गोज पदमार्गमा झोलुंगे पुल, सञ्चार, विद्युुत् सुविधा विस्तार र पर्यटक चेकपोस्ट राख्नका लागि पनि पहल भएको उनले बताए ।
अन्नपूर्ण र नीलगिरि हिमालको फेदीबाट बग्ने मिस्त्रीखोलाको किनारैकिनार, अग्ला झरना, मनमोहक हिमशृंखला, अनौठो भूगोल, पहाड, दुर्लभ वनस्पति, वन्यजन्तुको अवलोकन गर्दै आधार शिविर पुग्न सकिन्छ । अन्नपूर्ण हिमालको फेदीमा रहेको नीलो रङको पञ्चकुण्ड ताल आधार शिविरको आकर्षण हो ।
तीन दिनको छोटो अवधिमा साहसिक पदयात्रा गर्न सकिने भएकाले पर्यटकको रोजाइमा अन्नपूर्ण आधार शिविर परेको हो । हर्जोगको टोलीले अन्नपूर्ण चढ्न प्रयोग गरेको बाटो पछ्याउँदै नारच्याङका तेज गुरुङको अगुवाइमा विसं ०६८ मा अन्नपूर्ण हिमाल र आधार शिविर म्याग्दीमा पर्ने तथ्य तथा पदमार्ग पहिचान भएको थियो ।
सो पदमार्गलाई अन्नपूर्ण गाउँपालिकाले ‘मौरिस हर्जोग’ नामकरण गरेको छ । नारच्याङदेखि हुमखोलासम्म २० किलोमिटर सडक र हुमखोलादेखि आधार शिविरसम्म आधारभूतस्तरको २२ किमी पदमार्ग तयार भएको छ ।
प्रतिक्रिया