काठमाडौं । बागमती प्रदेशअन्तर्गत पर्ने सिन्धुली जिल्लाका साविक डुडभन्ज्याङ, वितीजोर, भुवनेश्वरी, तीनकन्या, रतनचुरा, बाशेश्वर र भीमेश्वर गरी सातवटा गाउँ विकास समितिहरूलाई एकीकृत गरी गोलन्जोर गाउँपालिका बनेको हो । जुनारको राजधानीको रूपमा परिचित यस गाउँपालिकामा सातवटा वडा छन् । सिन्धुली जिल्लाका साविक गाउँ विकास समितिहरू बाशेश्वर, रतनचुरा र तीनकन्याको बीच भागमा पर्ने गोलन्जोर डाँडाको नामबाट यस गाउँपालिकाको नाम गोलन्जोर रहन गएको हो । यस गोलन्जोर डाँडा आफैँमा प्राकृतिक रूपमा रमणीय छ जुन पर्यटकहरूको आकर्षणको केन्द्र पनि हो । यस गाउँपालिकाको पूर्वमा फिक्कल गाउँपालिका र रामेछाप जिल्ला, पश्चिममा कमलामाई नगरपालिका र सुनकोशी गाउँपालिका, उत्तरमा रामेछाप जिल्ला र दक्षिणमा कमलामाई नगरपालिका छन् । हाल यस गाउँपालिकाको केन्द्र हालको वडा नं. ३ ग्वालटारमा रहेको छ । १८४ दशमलव १३ वर्ग किलोमिटर क्षेत्रफलमा फैलिएको छ यस गोलन्जोर गाउँपालिका । पश्चिमबाट पूर्वतर्फ बगिरहेको सुनकोशी नदीको दक्षिणतर्फ यो गाउँपालिकाभित्र नेपालको पहाडी क्षेत्र जोड्ने मध्यपहाडी पुष्पलाल लोकमार्गको सिन्धुली खण्डको अधिकांश भाग पर्दछ ।
जुनार खेतीका सिन्धुली जिल्लाकै सबैभन्दा उर्वर भूमिका रूपमा यो गोलन्जोर गाँउपालिकालाई मानिन्छ । यस गाउँपालिकाको रतनचुरा, तिनकन्या, डुडभञ्ज्याङ, वितिजोर, बासेश्वर क्षेत्रलाई जुनार उत्पादनका हिसाबले सुपरजोन अन्तर्गत पकेट क्षेत्रका रूपमा अघि बढाइएको छ । यस गाउँपालिकामा कलंकेश्वरी महादेव गुफा, बिन्दवासिनी मन्दिर, धारापानी, भिम्लेश्वर महादेव, सुलीभञ्ज्याङ, माझकुभिन्डे जुनार बगैँचा, गोलन्जोर भ्यु टावर, खनियाखर्कदेखि धापचौकी महाभारत क्षेत्र, नाकाजोली जुनार क्षेत्रलगायत पर्यटकीय क्षेत्र छन् । यस गाउँपालिकाको मुख्य बजारमा खुर्कोट, ग्वालटार र खनियाखर्क हुन् । खनियाखर्क र खुर्कोट हुँदै बीपी राजमार्ग गएको छ वडा नंं ४ बाहेक अन्य सम्पूर्ण वडामा मध्यपहाडी राजमार्गले छोएको छ ।
पर्यटनको प्रचुर सम्भावना बोकेको छ गोलन्जोर गाँउपालिकाले । सिन्धुली जिल्लाकै अग्लो डाँडाको रूपमा रहेको गोलन्जोर डाँडालाई पर्यटकीय क्षेत्रको रूपमा विकास गरी आम्दानीको स्रोत बनाउन गोलन्जोर गाउँपालिका लागेको छ । यस गोलन्जोर डाँडामा भ्यु टावर निर्माण गरी यस क्षेत्रलाई पर्यटकीय क्षेत्रको रूपमा विकास गरी जनताको आय आर्जनमा वृद्धि गर्न सकिने प्रचुर सम्भावना रहेकोले यस स्थानलाई पर्यटकीयस्थलको रूपमा विकास गरी जनताको आयआर्जन र जीविकोपार्जनमा मद्दत पु¥याउने उद्देश्यले भ्यु टावर निर्माण गरिएको छ्र । भ्यु टावरको निर्माणपछि गोलन्जोर डाँडा आन्तरिक तथा बाह्य पर्यटकहरूको आकर्षण केन्द्र बन्न पुगेको छ । भ्युटावर निर्माणसँगै यस क्षेत्रमा पर्यटकहरूको चहलपहल बढ्न थालेको छ । गाउँपालिकाले गोलन्जोर डाँडामा भ्युटावर निर्माण र त्यहाँ जाने बाटोमा रेलिङ समेत हालेपछि पर्यटकहरूको चहलपहल बढेको हो । गोलन्जोर डाँडाबाट आकाश खुलेको समयमा तराईका फाँट र हिमालहरू समेत छर्लंग देखिन्छन् । गोलन्जोर डाँडामा नौवटा पोखरी पनि छन् ।
यस गाँउपालिकाको वडाहरू ६ र ७ सुनकोशी नदीसँग जोडिएको हुनाले यो गाँउपालिका ¥याफ्टिङका लागि अति नै सम्भावना बोकेको गाँउपालिका हो । कृषि र व्यावहारिक शिक्षालाई जोड दिँदै नयाँ खर्कमा भएको कृषि विद्यालयलाई सिन्धुलीकै उत्कृष्ट नमुना कृषि विद्यालय बनाउने योजना समेत अगाडि सारिएको छ । गोलन्जोर र ल्यानद्रयाङ डाडामा पर्यटक आकर्षण गराई आन्तरिक आम्दानीको बढाउन आवश्यक गुरुयोजना निर्माण गर्दै साहसिक पर्यटन, पिकनिक स्पट र दृश्यावलोकनका लागि आवश्यक पूर्वाधार निर्माण गर्दै अगाडि बढेको छ यस गाउँपालिका । यस गाउँपालिकालाई समुन्नत, व्यवस्थित, र दिगो रूपमा विकसित गराउनका लागि यहाँका जनप्रतिनिधिहरू अहोरात्र खटिइरहेका छन् । यस पालिकाले जनमुखी कार्यक्रम सञ्चालन गर्दै जनताको भावना अनुकूल योजना तर्जुमा गरी कार्यान्वयन गर्दै आएको छ । पूर्वाधार तथा सामाजिक विकासको क्षेत्रमा गरेका यस पालिकाले गरेका कामहरू निकै उपलब्धिमूलक र उदाहरणीय छन् । यस स्थानीय तहले आधारभूत सेवा तथा पूर्वाधार विकासमा समन्वय, सहकार्य, सहभागिता र साझेदारीको अवधारणालाई थप प्रभावकारी बनाउँदै अगाडि बढेको छ ।
पालिकाको शैक्षिक क्षेत्रको रूपान्तरणका लागि नगरपालिकाले गरेका कामहरूले शैक्षिक विकासमा ठूलो फड्को मारेको छ । उन्नत पशुपालन र व्यावसायिक कृषिमा विभिन्न कार्यक्रमहरू सञ्चालन भएका छन् यस पालिकामा । सबै स्वास्थ्य संस्थाहरू प्रविधि र पूर्वाधारयुक्त बन्दै गइरहेका छन् । विकेन्द्रीकरणको माध्यमद्वारा जनतालाई विभिन्न योजना, नीति तथा कार्यक्रमहरूको छनोटदेखि कार्यान्वयन, अनुगमन मूल्यांकनका हरेक चरणहरूमा बढीभन्दा बढी सबै वर्ग र क्षेत्रको प्रतिनिधित्व हुने गरी सर्वदलीय सर्वपक्षीय माध्यमबाट विकासको गतिलाई अगाडि बढाउँदै आएको छ यस स्थानीय तहले । पालिकाबाट प्रवाह गरिने सार्वजनिक सेवालाई स्वच्छ, निष्पक्ष, पारदर्शी र जनमुखी बनाएको छ यस गोलन्जोर गाउँपालिकाले । सहमति, सहकार्य र भिजनका साथ अगाडि बढेमा धेरै काम गर्न सकिन्छ भन्ने उदाहरण यस गोलन्जोर गाउँपालिकाले दिएको छ ।
प्रतिक्रिया