भक्तपुर । मीनकुमारी राणा प्रतिष्ठानले हरेक वर्ष प्रदान गर्दै आएको नगद राशि सहितको पुरस्कार आज एक विशेष कार्यक्रमको आयोजना गरी तीन विधाका व्यक्तित्वलाई प्रदान गरेको छ ।
नेपाली काँग्रेसका महामन्त्री एवं सांसद गगन थापाको प्रमुख आतिथ्य र अर्का सङ्घीय सांसद दुर्लभ थापाको विशेष आतिथ्यमा भएको कार्यक्रममा नगद एकाउन्न हजार एक रुपैयाँ राशिको प्रजातन्त्र सेनानी पुरस्कारबाट तिलकप्रकाश कायस्थ, त्यति नै राशिको वरिष्ठ पत्रकार पुरस्कारबाट श्री आचार्य र वरिष्ठ खेलाडी एवं प्रशिक्षक पुरस्कारबाट प्रचण्ड शर्मा पुरस्कृतलाई पुरस्कृत गरिएको हो । कार्यक्रममा भक्तपुर सानोठिमीस्थित आदर्श माध्यमिक विद्यालयका जेहनदार विद्यार्थीलाई प्रदान गर्ने गरी ५१ हजार १ रुपैयाँको छात्रवृत्ति हस्तान्तरण गरिएको थियो ।
मीनकुमारी राणाको तेश्रो पुण्य तिथिका अवसरमाआयोजित कार्यक्रममा सूर्यविनायक नगरपालिका ३ भक्तपुर गणेश आधारभूत विद्यालयसँगैको समाजसेवी मीनकुमारी राणामार्गको नामाकरण सहितको प्रतिमा अनावरण पनि गरिएको थियो ।
कार्यक्रमका प्रमुख अतिथि महामन्त्री थापाले राणा परिवारले गरेको सत्कर्मको प्रशंसा गरेका थिए भने लोकतन्त्र , परिवार र समाजसेवाका लागि मीनकुमारी राणाले गरेको कर्म अनुकरणीय र प्रेरणादायी भएको बताए । यस्तै समसामयिक विषयमा बोल्दै महामन्त्री थापाले संविधानमा केही हेरफेर भए पनि आधारभूत कुरामा परिवर्तन नहुने बताए । उनले फेरि अर्को व्यवस्था खोज्न थालिए अर्को १० वर्ष पनि खेर जाने टिप्पणी गरे । संविधानअनुसार आवधिक निर्वाचन हुने र जित्नेहरूले सरकार चलाउने भन्दै थापाले यसलाई सामान्य प्रक्रियाका रूपमा लिनुपर्ने बताए । यद्यपि आफूहरूले नेतृत्व भने बदल्न खोजेको थापाको भनाइ थियो । महामन्त्री थापाले अहिलेको प्रधानमन्त्री, अब बन्ने प्रधानमन्त्री वा यसअघिका प्रधानमन्त्रीहरू भन्दा युवा पुस्ताहरूबाट बन्ने प्रधानमन्त्रीले बढी राम्रो काम गरेर देखाउने बताए ।
उनले आज नै प्रधानमन्त्रीमा नियुक्ति गरे पनि अहिलेको भन्दा राम्रो काम गरेर देखाउने दाबी गरे । उनले अहिलेको भन्दा राम्रोसँग देश चलाउँछु भन्ने विश्वासकै कारण काँग्रेसको संसदीय दलको नेताका लागि पहल गरेको जिकिर गरे । महामन्त्री थापाले नेपाली नागरिकको समुन्नति अबको आवश्यकता भएको बताए । नेपालको अबको मुद्दा नेपालमै नागरिकलाई आत्मसम्मानका साथ जीविकोपार्जन गर्न सक्ने हुनुपर्ने थापाको भनाई थियो ।
प्रतिष्ठानका अध्यक्ष कबिर राणाको अध्यक्षतामा भएको कार्यक्रममा बोल्दै विशेष अतिथि सांसद दुर्लभ थापाले स्व. मीनकुमारी राणा एक कुशल र संस्कारयुक्त अनि राजनीतिक सुझबुझ भएको प्रेरक व्यक्तित्व भएको स्मरण गरे । प्रतिष्ठानका सल्लाहकार वरिष्ठ पत्रकार हरिहर विरहीले एक महिला लोकतान्त्रिक आन्दोलनको हिस्सा बन्दै परिवारको व्यवस्थापन समेत कुशल ढङ्गले गर्न सक्नु नै नयाँ पुस्ताका लागि प्रेरणा भएको बताए । उनले समसामयिक राजनीति प्रति टिप्पणी गर्दै लोकतान्त्रिक पार्टी आफ्नो आदर्श र सिद्धान्तमा विचलित हुँदै गएको भन्दै चिन्ता व्यक्त गरे । उनले विचलन आउन दिन नहुने तर्फ खबरदारी पनि गरे । पुरस्कृतहरूका तर्फ बाट बोल्दै प्रजातन्त्र सेनानी तिलकप्रकाश कायस्थले युवाहरूले पार्टीमा हस्तक्षेपकारी भूमिका निर्वाह गर्न सुझाव दिए । त्यसो हुन नसकेको कार्यकर्ता र आम नागरिकमा बढ्दै गएको निराशा झन् बढ्दै जाने बताए । कार्यक्रममा नेपाली काँग्रेसका केन्द्रीय सदस्य मदनकृष्ण श्रेष्ठले स्व .मीनकुमारी राणालाई स्मरण गर्दै राणा परिवार सङ्ग आफ्नो बाल्यकाल देखिनै पारिवारिक सम्बन्ध रहेको बताएका थिए ।
प्रतिष्ठानका अध्यक्ष कबिर राणाले आमा मीनकुमारी राणाकै कारण आफूहरू अहिलेको अवस्थामा आएको भन्दै आमालाई सम्मान र सम्झनालाई चिरस्थायी बताउन हरेक वर्ष पुण्य तिथिमा कार्यक्रम गर्दै आएको बताए । महासचिव रवि राणाले अतिथिहरूलाई स्वागत गर्दै आमालाई स्मरण गरेका थिए ।
आज पुरस्कृत व्यक्तित्व छनोटका लागि प्रतिष्ठानका अध्यक्षको संयोजकत्वमा ५ सदस्यीय पुरस्कार छनोट समिति गठन गरिएको थियो । छनोट समितिमा वरिष्ठ साहित्यकार एवं आख्यान पुरुष डा. ध्रुवचन्द्र गौतम, वरिष्ठ पत्रकार हरिहर विरही र प्रजातन्त्र सेनानी माथवरसिंह बस्नेत रहेका थिए भने सदस्यसचिवमा महासचिव रवि राणा रहेका थिए । पहिलो पुण्य तिथिमा वरिष्ठ साहित्यकार डा. ध्रुवचन्द्र गौतम, वरिष्ठ पत्रकार हरिहर विरही, प्रजातन्त्र सेनानी माथवरसिंह बस्नेत र वरिष्ठ खेलाडी एवं बक्सिङ प्रशिक्षक मदन गुरुङलाई प्रथम राष्ट्रपति डा. रामवरण यादवबाट पुरस्कार प्रदान गरिएको थियो भने दोस्रो पुण्य तिथिमा प्रजातन्त्र सेनानी सम्मानबाट पूर्वसांसद् एवं वरिष्ठ राजनीतिज्ञ लेखनाथ न्यौपाने, वरिष्ठ पत्रकार किशोर नेपाल र वरिष्ठ बक्सिङ प्रशिक्षक प्रकाश थापामगरलाई राष्ट्रपति रामचन्द्र पौडेलले सम्मान पुरस्कार प्रदान गरेका थिए ।
प्रतिक्रिया