काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले सरकारमा हुँदा एउटा, बाहिर हुँदा अर्को नीति हुने दोहोरो चरित्र राजनीतिक दलबाट अन्त्य गर्नुपर्ने बताएका छन् । नेपाली कांग्रेसको आर्थिक नीति तथा योजना विभागले गरेको नेपालमा वैदेशिक लगानीको अवस्थाबारेको छलफलमा महामन्त्री थापाले कांग्रेसले सरकारमा हुँदा र बाहिर हुँदा समान धारणा राख्दै आएको बताए ।
उनले दाताहरूका आफ्ना स्वार्थ हुने भन्दै ती स्वार्थ नेपालको राष्ट्रिय स्वार्थसँग नबाँझिने गरी ग्रहण गर्नुपर्ने बताए । उनले नेपाललाई चाहिएको लगानी एउटै एजेन्टबाट लिनु पनि नहुने बताए । उनले प्रा. डा. गोविन्दराज पोखरेल नेतृत्वको आर्थिक नीति तथा यो जना विभागले गरेको छलफलले थप छलफल माग गरेको भन्दै वैदेशिक सहायताको पारदर्शीता र यसको उपयोगिताबारे थप छलफल हुने बताए ।
उनले राजनीतिक लाभका लागि बहसहरू बरालिँदा देशको विकास र लगानी भित्र्याउने कुरा पछि परेको भन्दै त्यस्तो हुन नदिन साझा सहमति र स्पष्ट नीति बनाउनेपर्ने उनको धारणा थियो ।
उनले ०७६ सालमा ल्याइएको अन्तराष्ट्रिय÷वैदेशिक सहायता नीति रहेको भन्दै सरकारमा हुनेले पनि त्यो नीति मान्ने र सरकार बाहिर हुनेले पनि मान्ने बनाउनुपर्ने बताए । उनले कर्मचारी प्रशासनमा पनि निर्णय गर्दा विवादित हुने र छानबिनमा तानिने हुँदा जोखिम नमोल्ने बरु निर्णय नगर्ने प्रवृति देखिएको भन्दै नीतिगत प्रष्टताले त्यस्तो अवस्था रोक्नुपर्ने बताए ।
प्रतिक्रिया