काठमाडौं । सत्तारुढ दल नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले नेपाल जस्तो देशमा संसदीय व्यवस्था नै उत्तम भएको बताएका छन् । बुधबार विराटनगरस्थित कोइराला निवासमा पत्रकारहरूसँग कुरा गर्दै उनले माओवादी अध्यक्ष प्रचण्डले प्रत्यक्ष निर्वाचित राष्ट्रपतिको एजेन्डा अघि सारेकोबारे पत्रकारले सोधेको प्रश्नमा नेपाल दुई ठूला देशको बीचमा रहेका बहुजातीय, बहुभाषिक, बहुसांस्कृतिक देश भएकोले संसदीय व्यवस्था ठीक हुने बताएका हुन् । उनले प्रत्यक्ष निर्वाचित राष्ट्रपतिबारे कांग्रेसभित्र छलफलसमेत नभएको बताए ।
अध्यादेशका सम्बन्धमा कुरा गर्दै कोइरालाले अध्यादेश ल्याउन सक्ने संवैधानिक प्रावधानको दुरुपयोग भएको बताए । उनले देशै नचल्ने अवस्थामा मात्रै अध्यादेश ल्याउनु पर्ने उनको भनाई थियो । संघीय संसदका दुई ठूला दल नेपाली कांग्रेस र नेकपा एमालेको बलियो सरकार रहेका बेलामा समेत अध्यादेश ल्याइनु गलत भएको उनको टिप्पणी छ । उनले अध्यादेशबाट देश चलाउनु निरंकुशताको वान स्टेप भएको टिप्पणी गरे । विषयवस्तु के आयो भन्ने भन्दा पनि कसरी आयो भन्ने विषयले अर्थ राख्ने उनको भनाइ छ । कोइरालाले नेपाली कांग्रेस र नेकपा एमालेले चाहेर मात्रै संविधान संशोधन गर्न नहुने पनि बताए । कोइरालाले संविधान भन्नेबित्तिकै कांग्रेस–एमालेको मात्रै नहुने भएकोले सबैलाई समेटेरमात्रै संशोधन गर्न सकिने बताए ।
उनले संविधान सबैलाई पाच्य हुनुपर्ने बताउँदै दुई तिहाइ पु¥याएर संशोधन गर्दिन्छौं भन्नु गलत हुने बताए । कोइरालाले सबै दलको सहमतिमा मात्र संविधान संशोधन हुने पनि बताए । ०८७ मा मात्रै संविधान संशोधन हुने प्रधानमन्त्री ओलीको अभिव्यक्तिले मानिसहरूमा चिन्ता थपिएको कोइरालाको भनाइ छ । अर्को प्रसंगमा कोइरालाले प्रधानमन्त्री केपी शर्मा ओलीले संयन्त्रबाट देश चलाउन खोजिरहेको आरोप लगाएका छन् । सरकारले देश चलाउनु पर्नेमा पधानमन्त्री ओलीले संयन्त्रमार्फत चलाउन खोजेको उनको आरोप थियो । संयन्त्र कम्युनिष्ट मुलुकमा मात्रै हुने उनले बताए । नेकपा एमाले र कांग्रेस नेतृत्वमा गठबन्धनको सरकार बनेपछि दुई दलले सरकार सञ्चालनका लागि संयन्त्र बनाएका छन् । प्रदेश तहमा पनि संयन्त्र बनेका छन् । ती संयन्त्रले सरकार सञ्चालनमा सहजीकरण गर्ने भनिएको छ । कोइरालाले केपी शर्मा ओली नेतृत्वको सरकार ढल्ने विषयमा सत्यता नभएको भन्दै उनले कांग्रेस–एमालेबीचको सात बुँदे सम्झौता अनुरूप काम गर्नुपर्नेमा जोड दिए । तर सरकारले अपेक्षा गरेअनुसार काम गर्न नसकेको बताए ।
प्रतिक्रिया