काठमाडौं । पश्चिम नवलपरासीका सांसद विनोद चौधरीको विशेष पहलपछि नारायणगढ–बुटवल सडक निर्माण कार्यले गति लिएको छ । नेपाली कांग्रेसका केन्द्रीय सदस्यसमेत रहेका सांसद चौधरीकै कारण सडक निर्माणले गति लिएपछि स्थानीयवासी आशावादी देखिएका छन् ।
सांसद चौधरीले यस सडक निर्माणलाई आफ्नो मुख्य प्राथमिकतामा राखेका कारण यस सडक भई दैनिक यात्रा गर्ने यात्रु अब सडक छिट्टै सम्पन्न हुनेमा आशावादी भएका हुन् ।
एसियाली विकास बैंकको १७ अर्ब रुपैयाँ ऋण सहयोगमा सडकको स्तरोन्नति भइरहेको छ । ०७५ चैत ८ मा सुरु भएको राजमार्ग विस्तारको काम ०७९ साउन २२ भित्र सकिसक्नुपर्ने हो ।
कोरोना संक्रमण र निर्माण सामग्री अभावको कारण देखाएर पहिलो पटक ०८० साउन ११ सम्म म्याद थपिएको थियो । सांसद चौधरीले केन्द्रीय सरकारको सम्बन्धित मन्त्रालय, चिनियाँ ठेकेदार र परियोजना कार्यान्वयनमा खटिएका परियोजना प्रमुखहरुसँग निरन्तर यस सडकबारे छलफल र परामर्श गर्दै आएका छन् ।
यात्रुले निरन्तर सास्ती भोगिरहेको दाउन्ने सडकमा एकतर्फी नै भए पनि कालोपत्रे हुँदा ठूलो राहत मिलेको रचैतसम्ममा कम्तीमा एकतर्फी सडक कालोपत्रे गर्ने लक्ष्य लिइएको सांसद चौधरीको भनाइ छ ।
आयोजनाका अनुसार अहिलेसम्म नारायणघाट–बुटवल सडकको पूर्वी र पश्चिम दुवै खण्डमा गरेर ५४ प्रतिशत काम भएको छ । उक्त सडकमा अहिले दाउन्ने खण्डमा पहाड काट्ने, कालोपत्र गर्ने र कल्भर्ट बनाउने कार्य तीव्र गतिमा अगाडि बढिरहेको आयोजनाले जनाएको छ ।
आयोजनाका सूचना अधिकारी बेचनकुमार भण्डारीले विगत दुई महिनादेखि सडक निर्माणले राम्रो गति समातेको बताए । यही गतिले काम भए लक्ष्यअनुसार कम्तीमा एक साइड कालोपत्रे गर्ने काम सम्पन्न हुने उनको भनाइ छ ।
सडक निर्माणमा गति दिन सांसद चौधरीले सम्बद्ध निकायहरूसँग समन्वयसमेत गर्दै आएका छन् । स्थानीय जनप्रतिनिधि एवं समुदायसँग समेत निरन्तर छलफल गर्दै निर्माण कार्यलाई थप सहज बनाउन पहल गर्दै आएका छन् । उनले सडक निर्माणको अवरोध हटाउन जिल्ला प्रशासन कार्यालय नवलपरासीमा विभिन्न चरणका बैठक गर्दै आएका छन् ।
चौधरीले तत्कालीन भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालासँग समन्वय गरी ०८० साल माघ २२ गते मन्त्रालयमा बृहत समीक्षा बैठक आयोजना गरेका थिए । बैठकमा ठेकेदार, परामर्शदाता, परियोजना प्रमुख, स्थानीय निकायका प्रतिनिधि र सडक विभागका अधिकारीहरूको सहभागिता थियो ।
प्रतिक्रिया