काठमाडौं । नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवासँग गैरआवासीय नेपाली संघका अध्यक्ष डा. बद्री केसीले भेट गरेका छन् ।
मंगलबार देउवानिवास बूढानीलकण्ठमा भएको भेटमा अध्यक्ष डा. केसीले सरकारले विदेशमा बस्ने नेपालीलाई गैरआवासीय नेपाली नागरिकता दिन थाले पनि त्यसको संविधानतः कार्यान्वयन नहुँदा समस्या परेको भन्दै समाधानका लागि पहल गरिदिन अनुरोध गरेका थिए । संविधानले नै निर्दिष्ट गरेको अधिकार प्राप्तिका लागि पटक–पटक सरकारको ध्यानाकर्षण गराउँदा पनि पछिल्लोपटक गैरआवासीय नेपालीलाई १० वर्ष भिसा शुल्क नलाग्ने भनेर अध्यादेश आउँदा विदेशमा रहेका नेपाली थप निरास भएको अध्यक्ष डा. केसीले बताए ।
सो अवसरमा पूर्वप्रधानमन्त्री देउवाले केही दिनमा सुरु हुने हिउँदे अधिवेशनबाटै संविधानले दिएका अधिकार कार्यान्वयनका लागि मार्गप्रशस्त गर्न आफ्नो तर्फबाट पहल गर्ने प्रतिबद्धता व्यक्त गरे । उक्त अवसरमा संघकी महिला उपाध्यक्ष रोजिना प्रधान राईको समेत उपस्थिति थियो ।
प्रतिक्रिया