काठमाडौं । प्रधानमन्त्री कप टी–२० महिला राष्ट्रिय क्रिकेट प्रतियोगितामा त्रिभुवन आर्मी क्लबले दोस्रो जित निकालेको छ । धनगढीस्थित फाप्ला क्रिकेट मैदानमा आज भएको खेलमा आर्मीले कोशी प्रदेशलाई ९ विकेटले हराएको हो । जितसँगै आर्मी क्लब सुपर फोर नजिक पुगेको छ ।
टस हारेर पहिला ब्याटिङ गरेको कोशीले सात ओभरमा पाँच विकेटको क्षतिमा ३६ रन बनायो । उसका लागि स्मृति कटुवालले १४ रन बनाउनुबाहेक अन्यले दोहोरो अङ्कमा रन जोड्न सकेनन् । बाक्लो हुस्सुका कारण निर्धारित समयभन्दा ढिला सुरू हुँदा खेल २० ओभरबाट सात मा झारिएको थियो । बलिङतर्फ आर्मीका लागि प्लेयर अफ दी म्याच समेत भएकी ममता चौधरीले तीन तथा सुस्मिता भुसालले दुई लिइन् ।
आर्मी क्लबले ३७ रनको विजयी लक्ष्य ६ दशमलव २ ओभरमा एक विकेटको क्षतिमा पूरा ग¥यो । उसका लागि सम्झना खड्काले अविजित ३२ रनको पारी खेलिन् । यही माघ १ गतेदेखि सुरू भएको प्रतियोगितामा नौ टोलीको सहभागीता रहेको छ । प्रतियोगिताको उपाधि जित्नेले रु पाँच लाख, दोस्रो हुनेले तीन लाख, प्लेयर अफ दी सिरिजलाई ५० हजार तथा उत्कृष्ट ब्याटर र उत्कृष्ट बलरलाई जनही २५ हजार पुरस्कार दिइनेछ ।
प्रतिक्रिया