अमेरिकामा रिचर्ड निक्सनलाई, राजनीतिमा कसरी पुनरागमन गर्नुपर्छ भन्ने उदारहणको रुपमा लिइन्छ, । तर डोनाल्ड ट्रम्प उनीभन्दा पनि झनै खरो देखिए । सारा मिडिया, अड्डा अदालत ‘हात धोएर’ पछि लाग्दा समेत, ट्रम्प झनै सशक्त रुपमा ह्वाइटहाउसमा सोमबार पुनरागमन गर्दै छन् ।
राज्यका अन्य दुई निकायहरू कंग्रेस र सुप्रिम कोर्ट, उनको अनुकूल नै छ । त्योभन्दा महत्त्वपूर्ण पक्ष, रिपब्लिकन पार्टी, उनको कब्जामा छ । वर्तमान संस्थापन पक्षको नामोनिशान छैन । संसारकै धनी मान्छे एलन मस्कलाई ‘काखी च्यापिरहेका’ ट्रम्पलाई सायद अब कुनै रिपब्लिकन निर्वाचित अधिकारीले विरोध गर्लान् । त्यस्ता जनप्रतिनिधिहरूलाई ट्रम्पको इशारामा मस्कले के समेत गर्लान्, आकलन गर्न मुस्किल छैन।
कतिले ट्रम्पको यो स्थितिलाई दोस्रो विश्वयुद्धताकाका राष्ट्रपति फ्र्यांकलिन रुजबेल्टको जस्तो ‘वान म्यान सो’ प्रेसिडेन्सीको रुपमा तुलना गर्दै छन् । जे होस्, ट्रम्पको शक्ति, अहिले असीमितजस्तै देखिन्छ।
ट्रम्पले अब के गर्छन् ? संसारभर व्यग्र प्रतीक्षा छ । नेपालीको हकमा भने, उनको अध्यागमन नीतिले के गर्छ, मुख्य चासोको यही हो । किनकि, अमेरिकामा बर्षेनी हजारौँ नेपाली विद्यार्थी भित्रिन्छन । घुम्न आएर, यतै बस्नेहरु पनि कति कति । स्थलमार्ग (अवैध बाटो)बाट आउनेहरुको ठूलो संख्या बन्दै छ । नेपालतिर पनि ‘यता आउने सपना’ साँच्नेहरुको संख्या लाखौँ छ ।
जुनसुकै रुपमा अमेरिका आए पनि, अन्ततः सबैको ठोकिन्ने ठाउँ त्यही अध्यागमन नै हो । डिभी चिठ्ठाबाहेक अन्य रुपले अमेरिका आएका प्रायः सबैले अमेरिकामा ठूलो ‘पापड’ पेल्नुपर्छ । लामो पर्खाइ, वकिलकहाँ धाँउदाको आर्थिक, मानसिक एवं शारीरिक कष्ट, अनेकौँ झमेला, नक्कली कागजात, नक्कली विवाह, नक्कली समाचार, भिसाको घनचक्कर अनेकौँ चरण पार गर्नुपर्छ।
तैपनि पेपरको ग्यारेन्टी हुँदैन । तर पेपर भइसकेपछि भने ठूलो कुरा गर्ने, हाम्रो नेपाली पारा नै हो । जस्तो कि ‘मेरो त तीन महिनामै पेपर भएको हो नि । मलाई अमेरिका बस्ने खासै इच्छा त थिएन । नेपालमा पनि केही कमी त थिएन। यसो हाल्दिउँ न त भनेको, भइहाल्यो ।’
हो त्यो, एउटा स्वर्णिम युग थियो, राजनीतिक शरणका लागि। नेपालमा माओवादीको विद्रोह (आतंक वा जनयुद्ध) जे भने पनि उत्कर्षमा पुग्दा, घुम्न आएका, पढ्न आएका, प्रायः धेरैले पेपर बनाए, पीडित बनेर । कति नक्कली थिए, कति सक्कली त्यो अर्कै कुरा भयो । तर अब, त्यो स्थिति रहेन । ट्रम्प आएपछि झनै कठिन । हजारौँको संख्यामा, अहिले पनि नेपालीहरु कागजात बनाउन संघर्ष गरिरहेका छन् ।
पछिल्लो समयमा, पश्चिमी देशहरु, आप्रवासीप्रति असहिष्णु बन्दै आएका छन् । अन्य पश्चिमी देशहरुको तुलनामा, आप्रवासीप्रति निकै उदार रहेको विश्वकै ठूलो अर्थतन्त्र अमेरिका पनि अब ‘अनुदार’ बन्दै गएको छ । राजनीतिमा सांस्कृतिक सवालहरु हाबी बन्दै छन् । ट्रम्पको राजनीतीको ‘ड्राइभिङ फोर्स’ नै नै आप्रवासी नीति नै हो भन्ने विषयमा शायद विमती नहोला । उनको आगमनले, आगामी दिनहरु झनै कठिन हुने निश्चित छ ।
कुनै आप्रवासी वकिल वा पेपर बनाइसकेको एक नेपालीले, पेपर नभइसकेको अर्को नेपालीलाई ‘केही हुँदैन, चिन्ता नलिनुस् । ट्रम्प हावा मान्छे हो नि, त्यसले केही गर्दैन’ भन्नु एउटा कुरा हो । यो त मनोज गजुरेलको डाइलग ‘केही नहुन्जेल, केही हुदैँन, ढुक्क हुनुस्’ झै हो । ट्रम्प, उनका रणनीतिकारहरु र भोट हाल्ने मतदाताको मुख्य चासो नै आप्रवासी नीति मै अडिएको छ ।
यो कसरी अगाडी बढ्छ, यसै भन्न सकिँदैन । समयले देखाउला । एउटा पक्ष के हो भने, कुनै अपराध संलग्न त कुरै भएन, फिर्ता हुने निश्चित छ, नियमित प्रक्रिया नै हो । तर अवैध बाटो (तल्लो बाटो)बाट आएकाहरु माथि पनि खतरा देखिन्छ । पेपर भइनसकेकाहरु पनि निकै सजग हुनुपर्ने देखिन्छ । केही भए त, भइहाल्यो नि । जुलुस गर्न मिल्दैन, विरोध कस्ले गर्ने ?
उनीहरु, सिमाना सिल गर्ने योजनामा मात्र छैनन, आप्रवासन बहाव लाई ‘ब्रेक लगाउन प्रयासरत छन । सबै खाले वर्ग, आप्रबासी उच्चस्तरको दक्ष जनशक्तिहरुलाई रोजगार दिने निती डीईआई नीति लाई खारेज गर्न ठूला टेक कम्पनीहरुलाई दबाब दिइरहेका छन । ट्रम्पको प्रभावमा परेर फेसबुक कम्पनी मेटा ले यो नियम नै खारेज गरिसक्यो ।
जर्जियामा कागजात नभएका एक आप्रवासीले नर्सिङ पढिरहेकी महिला ट्रम्प लेकेन रिलेलाई मारेका थिए । त्यही पृष्ठभूमिमा राज्य सरकारहरुलाई पेपर नभएका आप्रवासीहरुलाई स–साना कानुन मिचेको घटनामा समेत विना कुनै रोकावट थुनछेक गर्ने अधिकार दिएको लेकेन रिले एक्टले अर्को साता सम्म कानुनी रुप लिँदै छ । शायद ट्रम्पको हस्ताक्षर हुने यो पहिलो कानुन हुनेछ ।
प्रतिक्रिया