देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

‘अञ्जिला’को ‘डल्ले डल्ले खुर्सानी’

देशान्तर


काठमाडौं । आगामी फागुन २९ गते रिलिज हुने नेपाली चलचित्र ‘अञ्जिला’को गीत ‘डल्ले डल्ले खुर्सानी’ सार्वजनिक गरिएको छ । यस गीतका गीतकार तथा संगीतकार राजनराज शिवाकोटी हुन् भने स्वर शिवाकोटी र मेलिना राईको रहेको छ ।
कविराज गहतराजले कोरियोग्राफी तथा रामकुमार केसीले सिनेमाटोग्राफी गरेको गीतको भिडियोमा अभिनेता दयाहाङ राई र अभिनेत्री मिरुना मगरको नृत्य रहेको छ । चलचित्रका निर्देशक मिलन चाम्सले यो गीत चलचित्रको प्रचार–प्रसारको प्रयोजनको लागि तयार पारिएको बताएका छन् । चलचित्रको थिमसङ (शीर्ष गीत) भने प्रसिद्ध गीतकार लोकराज अधिकारीले लेखेका छन् । संगीत हरि लम्सालको र स्वर बबिना किराँतीको रहेको छ । गीतले म खेलबाटै देश चिनाउन सक्छु, हार हैन जित दिलाउँछु, म गर्न सक्छु भन्ने आत्मविश्वास बोलेको निर्देशक चाम्सले बताए ।


यो चलचित्र महिला राष्ट्रिय फुटबल टिमकी क्याप्टेन तथा नम्बर एक गोलरक्षक एञ्जिला तुम्बापो सुब्बाको जीवनमा आधारित रहेको छ । निर्देशक चाम्सले चलचित्रले एञ्जिलाको बाल्यकालदेखि खेल जीवनसम्मको संघर्ष र सफलताको कथालाई चित्रण गर्दै इच्छाशक्ति भए असम्भव केही छैन भन्ने सन्देश दिन खोजेको बताए । चलचित्रमा एञ्जिला आफैँ मुख्य भूमिकामा छन् भने सुनिल थापा, दयाहाङ राई, विजय बराल, सिर्जना सुब्बा, माओत्से गुरुङ र बुद्धि तामाङले पनि अभिनय गरेका छन् । निर्माता प्रेमकुमार श्रेष्ठले पनि चलचित्रमा प्रमुख भूमिका निर्वाह गरेका छन् ।


यस चलचित्रको वल्र्ड प्रिमियर गत मंसिर २३ गते हङकङमा भएको थियो । यो चलचित्र नेपाल रिलिजअगावै युके, अमेरिका, अस्ट्रेलिया, र जापानमा समेत रिलिज हुने निर्माता श्रेष्ठले जानकारी दिएका छन् । चलचित्रको छायांकन एञ्जिलाको जन्मथलो इलामको आइतबारे, झापा र काठमाडौंमा गरिएको छ । चलचित्रको छायांकन सुदीप बरालले गरेका छन् भने सम्पादन मिलन श्रेष्ठले गरेका छन् । मुन लभ इन्टरटेन्मेन्टको ब्यानरमा निर्मित यस चलचित्रका निर्माता प्रेमकुमार श्रेष्ठ हुन् भने टुबेन्द्र लिम्बू, विनोद अग्रवाल र राजेश बगडिया सह–निर्माता हुन् । विनोद सुवेदी खत्रीले निर्माण नियन्त्रकको भूमिका निर्वाह गरेका छन् ।