काठमाडौं । सरकारले तत्काल संसद्को हिउँदे अधिवेशन नबोलाए विपक्षी दलहरूले विशेष अधिवेशनको माग गर्ने भएका छन् । मंगलबार सिंहदबारमा बसेको विपक्षी ६ दलको बैठकमा यस्तो समझदारी भएको हो । सरकारले हिउँदे अधिवेशन नबोलाएर अध्यादेश ल्याएको भन्दै विपक्षीले आपत्ति जनाएका छन् ।
यस्तै, निर्वाचन कानुनमा ‘थ्रेसहोल्ड’ बढाएर साना दलको सहभागिता कमजोर बनाउन खोजिएको बैठकले निष्कर्ष निकालेको छ । सरकार स्वेच्छाचारी बनेको विपक्षी दलको ठहर छ् । सिंहदरबारस्थित माओवादी संसदीय दलको कार्यालयमा बसेको विपक्षी दलको बैठकले उक्त ठहर गरेको हो ।
बैठकले प्रतिपक्षी दलहरूले साझा धारणा बनाउन कार्यदल बनाएको छ । कार्यदलमा माओवादीका वर्षमान पुन र नेकपा एकीकृत समाजवादीका डा.बेदुराम भुसाल रहेका छन् ।
कार्यदलले बेलुकासम्म ड्राफ्ट तयार गर्ने र भोलि पत्रकार सम्मेलन गरी सार्वजनिक गर्ने सहमति भएको छ । ड्राफ्टमा सरकारले ल्याएको अध्यादेश, ६ महिनाको काम कारबाही, संसद् अधिवेशन बोलाउने विषय, समसामयिक विषय लगायत समेटिने जनाइएको छ ।
बैठकमा प्रमुख प्रतिपक्ष दलका नेता प्रचण्ड, एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाल लगायत नेताहरूले पछिल्लो राजनीतिक अवस्था, संसदमा विपक्षी दलहरूको भूमिका विषयमा आ–आफ्ना धारणा राखेका थिए ।
प्रतिक्रिया