काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सरकार सदन बोलाउनुको सट्टा अध्यादेश ल्याएर शासन गर्ने प्रक्रियामा अघि बढेको बताउदै सरकारसँग सदन फेस गर्ने नैतिक साहस नभएको टिप्पणी गरेका छन् । सिन्धुपाल्चोकको सुकुटेमा सञ्चारकर्मीसँग कुरा गर्दै विपक्षी दलहरूको तर्फबाट सदनको बैठक तत्काल बोलाउन आफूहरूले निरन्तर दबाब दिइरहेको पनि जानकारी गराए ।
उनले कांग्रेसको संस्थापन पक्षका नेताहरूमा पनि असन्तुष्टि बढ्दै गइरहेकाले यो सरकार लामो नजाने जिकिर गरे । ‘प्रचण्ड’ ले कांग्रेस र एमालेबीच भएको सहमतिपछि एमाले अध्यक्ष ओलीलाई प्रधानमन्त्री बन्न नदिने रणनीतिका साथ आफूले प्रतिनिधिसभामा विश्वासको मत लिएको बताउदै अहिलेको सरकार असंवैधानिक ढंगले बनेको दाबी गरे । उनले सरकारको गन्तव्य राम्रो उद्देश्यले नबनेको भन्ने जनताले बुझिसकेको भन्दै यो सरकार लामो नजाने अप्राकृतिक भएकाले ढलिहाल्ने दाबी गरे ।
उनले आफूले विश्वासको मत नपाएपछि संविधानको धारा ७६ को ३ अनुसार सरकार बन्नुपर्ने तर संविधान मिचिएको तर्क गरे । राष्ट्रपतिमाथि दबाब दिइयो भन्दै धर्मसंकटमा पारिएको आफ्नो बुझाई रहेको बताए । साथै उनले सरकार जसरी चलेको छ त्यसले पनि सरकारको आयु छोट्याउँदै लगेको बुझ्न सकिने बताए ।
प्रतिक्रिया