काठमाडौँ । थुनछेक बहस सुरु नभएपछि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई प्रहरी परिसर काठमाडौँको हिरासतमा राखिने भएको छ । काठमाडौँ जिल्ला अदालतको आदेश लगत्तै उनलाई प्रहरी परिसर काठमाडौँको हिरासतमा लगिएको हो । जिल्ला अदालत काठमाडौँका न्यायाधीश माधवप्रसाद अधिकारीको इजलासले लामिछानेलाई प्रहरीको जिम्मा लगाउने आदेश दिएको थियो ।
स्वर्णलक्ष्मी बहुउद्देश्यीय सहकारी संस्थाको रकम अपचलनबारे आइतबार उनले अदालतमा बयान दिएका थिए । मुद्दा हेर्दाहेर्दैमा राखेर उनलाई न्यायिक हिरासतमा पठाउने आदेश भएको हो । थुनछेक पुरा नहुँदासम्म लामिछाने काठमाडौँ प्रहरीको हिरासतमै बस्नेछन् । बयान सकिएलगत्तै थुनछेक बहस गराउने लामिछाने पक्षका कानून व्यवसायीको मागमा न्यायाधीश अधिकारी मौन रहेका थिए । सरकारी वकिलहरू ढिला गरी अदालत पुगेपछि बहस सुरु हुन नसकेको हो ।
अदालतले प्रहरीलाई लेखेको पत्रमा समय अभावले थुनछेकलगायतको काम नभ्याइएकाले सोमबार बिहान १० बजे बिहान उपस्थित गराउने गरी फिर्ता पठाइएको उल्लेख छ । आइतबार बिहान उनी आफैँ अदालतमा हाजिर भएका थिए । स्वर्णलक्ष्मी सरकारीको रकम अपचलन गरेको अभियोगमा लामिछानेसहित ४४ जनालाई प्रतिवादी बनाइएको छ ।
प्रतिक्रिया