देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

धार्मिक, पर्यटकिय, र सुन्दर सूर्यविनायक नगरपालिका

देशान्तर

काठमाडौं । प्राकृतिक, ऐतिहासिक, धार्मिक, सांस्कृतिक, पुरातात्विक, भौगोलिक रूपले अनुपम, सुन्दर नगरपालिका हो, भक्तपुर जिल्लामा अवस्थित सूर्यविनायक नगरपालिका । धार्मिक एवम् ऐतिहासिक दृष्टिकोणबाट अति महत्वपूर्ण सूर्यविनायक गणेश मन्दिरको नामबाट यस नगरपालिकाको नामाकरण भएको हो । सूर्यविनायक गणेश मन्दिर लिच्छवीकालमा शिखर शैलीमा निर्माण भएको मन्दिर हो । हरियाली रमणीय डाँडा भएका कारण सूर्यविनायक क्षेत्र पर्यटकीय एवं पिकनिक स्थलको रूपमा प्रख्यात छ । ४२ दशमलव ४५ वर्ग किलोमिटर क्षेत्रफलमा फैलिएको सूर्यविनायक नगरपालिका दक्षिणी पहाडी क्षेत्र र उपत्यका क्षेत्र गरी दुई भौगोलिक बनावट क्षेत्रमा विभाजन गर्न सकिन्छ । साविकका बालकोट, दधिकोट, कटुञ्जे, गुण्डु, सिपाडोल, नंखेल र चित्तापोल गाविसहरू समायोजन भई बनेको सूर्यविनायक नगरपालिकामा १० वटा वडा छन् । दिगो विकास व्यवस्थित सहर ः स्वच्छ, समृद्ध सूर्यविनायक नगर’ लाई साकार पार्दै अगाडि बढेको छ सूर्यविनायक नगरपालिका । भौतिक विकासका साथसाथै आर्थिक तथा सामाजिक विकासलाई प्राथमिकतामा राख्दै अगाडि बढेको छ, यस स्थानीय तह । सूर्यविनायक नगरको समग्र विकासका लागि नेतृत्वदायी निकायको भूमिका निर्वाह गर्दै आइरहेको छ, सूर्यविनायक नगरपालिकाले ।


यस नगरपालिका पर्यटकीय गन्तव्यको रूपमा विकास गर्न सकिने थु्रपै्र सम्भावनाहरू छन् । यस नगरक्षेत्रमा दर्जनौँ पर्यटकीय गन्तव्यहरू छन् । अथाह प्राकृतिक र सांस्कृतिक सम्पदाले धनी छ, सूर्यविनायक नगर । धार्मिक पर्यटनको प्रबल सम्भावना बोकेको छ, यस नगरपालिकाले । पर्यटकीय धार्मिक सम्पदाको रूपमा रहेको केदारनाथको शिर श्री डोलेश्वर महादेव मन्दिर र श्री अनन्तलिंगेश्वर मन्दिरको निर्माण, मर्मत–सम्भार तथा सुधार गर्ने काम सम्पन्न भएका छन् ।
यस नगरपालिकाका धार्मिक, सांस्कृतिक एवं ऐतिहासिक सम्पदाहरूले आन्तरिक तथा बाह्य पर्यटकहरूलाई आकर्षित गर्दछ । यसै नगरपालिकाको वडा नम्बर ७ मा पर्ने घ्याम्पेडाँडा, रानीकोटलगायतका क्षेत्रहरूले आन्तरिक तथा बाह्य पर्यटकहरूलाई आकर्षित गरिरहेको छ । सूर्यविनायक नगरपालिकाले धार्मिक तथा पर्यटकीय क्षेत्रको सहज भ्रमण गर्न पूर्वाधार तथा सुविधाहरू उपलब्ध गराउन आवश्यक व्यवस्था गर्दै आएको छ ।
शिव सर्किटको रूपमा परिभाषित क्षेत्रहरूको थप विकास गरी राष्ट्रिय पहिचानको रूपमा स्थापित धार्मिक पर्यटनलाई नगरसँग जोड्ने नीतिका साथ अगाडि बढेको छ, यस स्थानीय तह । नगरको पर्वतीय भूक्षेत्रलाई पर्यापर्यटकीय क्षेत्रको रूपमा विकास गरी राजधानीनजिकको जैविक विविधता अवलोकनको आकर्षण केन्द्रको रूपमा विकास गर्ने नीतिलाई पनि यस नगरले अवलम्बन गर्दै आएको छ । बढ्दो सहरीकरणसँगै नगर क्षेत्रमा विस्थापित हुन थालेको पशुपालन र कृषि खेती विकास र विस्तारका लागि
उत्पादन तथा उत्पादकत्वमा वृद्धि हुने कार्यक्रमहरू सञ्चालन गर्दै किसानहरूको व्यावसायिक हित र समस्या समाधानका लागि किसानका समस्या नगरको सम्बोधन कार्यक्रम अभियानको रूपमा सञ्चालन गर्दै आएको छ, यस स्थानीय तहले ।

यस नगरपालिकाले पूर्वाधार तथा सामाजिक विकासको क्षेत्रमा गरेका कामहरू निकै उपलब्धिमूलक र उदाहरणीय छन् । यस नगरपालिकाले आधारभूत सेवा तथा पूर्वाधार विकासमा समन्वय, सहकार्य, सहभागिता र साझेदारीको अवधारणालाई थप प्रभावकारी बनाउँदै अगाडि बढेको छ । पूर्वाधार विकासको मेरुदण्ड मानिने सडक पूर्वाधारको व्यापक विस्तार भएको छ, यस नगर क्षेत्रमा । नगर क्षेत्रभित्रका प्रमुख सडकहरू कालोपत्रे गर्ने, सहायक सडकहरूलाई स्तरोन्नति गर्ने कामहरू धमाधम भइरहेका छन् । नगरको शैक्षिक क्षेत्रको सुधारका लागि सूर्यविनायक नगरपालिकाले अभियान नै सञ्चालन गर्दै आएको छ । जसका कारण सामुदायिक विद्यालयहरूको पठनपाठनमा निकै सुधार आएको छ । नगर क्षेत्रभित्रका सामुदायिक विद्यालयहरूका पूर्वाधार विकास र शैक्षिक वातावरणलाई स्वच्छ, मर्यादित र अनुशाशित बनाई गुणस्तरीय शिक्षा प्रदान गर्ने क्षेत्रमा सूर्यविनायक नगरपालिकाले प्रशस्तै कामहरू गरेको छ । यस नगरपालिकाले सामुदायिक बिद्यालयहरूको संख्यात्मक पुनरावलोकन र गुणात्मक सुधारको थालनी गरेको छ । विद्यालयको शैक्षिक गुणस्तर सुधारका लागि सामुदायिक विद्यालयका प्रधानाध्यापक प्रतिस्पर्धाका आधारमा नियुक्ति गर्ने र समक्ष र शिक्षाप्रति समर्पितलाई विद्यालय सञ्चालक समितिको अध्यक्ष र सदस्य चयन गर्ने नीति यस नगरपालिकाको छ ।

एक घर एक धाराको नीति लिएर खानेपानी समस्या समाधानका लागि काम गर्दै आएको छ । भौतिक पूर्वाधार निर्माणको क्षेत्रमा यस नगर क्षेत्रमा विगतको तुलनामा प्रशस्तै कामहरू भएका छन् । स्वास्थ्य क्षेत्रमा यस नगरपालिकाले फड्को मारेको छ । नगरपालिकाभित्रका सबै स्वास्थ्य संस्थाहरू प्रविधि र पूर्वाधारयुक्त बन्दै गइरहेका छन् । नगर अस्पतालका साथै १० वटै वडामा स्वास्थ्य चौकी विस्तार भएका छन् । आधारभूत स्वास्थ्य सेवामा नागरिकको सहज र सुलभ पहुँचका लागि विशेषज्ञसहितको नगर अस्पतालको सेवा दिइरहेको छ ।

सर्वदलीय सर्वपक्षीय माध्यमबाट सहभागितात्मक पद्धतिको सिद्धान्तलाई सूर्यविनायक नगरपालिकाले पूर्ण रूपमा अवलम्बन गर्दै आइरहेको छ । सुशासन तथा पारदर्शिताका लागि यस नगरपालिकाले सामाजिक परीक्षण, सार्वजनिक परीक्षण तथा सार्वजनिक सुनुवाइजस्ता कार्यक्रमलाई औपचारिकतामा मात्र सीमित नराखी परिवर्तन तथा सुधारका लागि सुझाव प्राप्त गर्ने माध्यमको रूपमा अंगीकार गरी त्यस्ता कार्यक्रमलाई थप प्रभावकारी बनाउँदै आएको छ । नगरपालिकाबाट प्रवाह गरिने सार्वजनिक सेवालाई स्वच्छ, निष्पक्ष, पारदर्शी र जनमुखी बनाएको छ, यस सूर्यविनायक नगरपालिकाले ।


यस नगरपालिकाको न्यायिक समितिमार्फत नगरवासीहरूलाई परेको समस्या नगरमै समाधान हुँदै आएका छन. । न्यायिक समितिमा परेका उजुरीहरू न्यायिक समितिमार्पmत समझदारीमा विनाझञ्झट समाधान भइरहेका छन् ।
यस सूर्यविनायक नगरपालिकाको प्रशासकीय भवन निर्माण अन्तिम चरणमा पुगेको छ । कूल ६ रोपनी ११ आना क्षेत्रफलमा ८ हजार ८१० वर्गफिट क्षेत्रमा साँढे चार तलाको प्रशासकीय निर्माण भएको छ । उपलब्ध स्रोत, साधनको प्रभावकारी तथा वैज्ञानिक व्यवस्थापन गर्दै आएको छ सूर्यविनायक नगरपालिकाले । आधुनिक प्रविधि र मौलिक पहिचानको सम्मिश्रणबाट सूर्यविनायक नगरलाई स्वच्छ, सुरक्षित, जीवन्त र समृद्ध नगर बनाउने अभियानमा सूर्यविनायक नगरपालिका रहेको छ ।