अभावग्रस्त जीवनको अल्लारे उमेरमा आइपुग्दा
गाउँको परिवेशले भावुक बनायो
अझ बढी अभावप्रदत्त रोम्यान्टिसिजमले
विद्रोहको ज्वारभाटा उठायो
यसरी सहर झरेको बबुरो !
पहाडबाट झरेको ढुंगा
नदीले गाउँ बस्ती हुँदै सहरमा ल्याई पु¥याउँदा
चिल्लो, राम्रो र गुच्चाजस्तो
जता पनि पल्टा खाने, जता पनि गुड्न सक्ने,
टेवा पाए अड्न सक्ने
त्यस्तै बनिसकेको थियो ऊ पनि
समयको अन्तरालमा
मुलुकले छलाङ लगाउन भनी आएको परिवर्तन
त्यसको लहरमा उसले पनि छलाङ लगायो
मुलुकको दुर्गतिमा उठ्नेहरूसँगै
उसको पनि सुगति भयो
महिषवाहनबाट द्रव्यनारायण यानमा आइपुग्यो
बारबार पुरस्कृत भएका ‘गुरु’
यसपल्ट भने भरि महफिलमा तिरस्कृत भए
गाउँमा उत्पन्न भएका संवेदनाहरू
सहरमा ल्यायो भने
सहरमा पनि गाउँको जस्तो भावुक रोदन निस्क्यो भने
त्यो मान्छे ‘पागल कवि’ हो
ठोकुवा नै गरे भ्रान्तिकारी भारदारीसभामा
स्वेच्छाधारी महान् पाखण्डी बापुले
देवकोटालाई पनि पागल भने
उनले त पागल कविता नै लेखे
राँची पनि पु¥याइयो उनलाई त !
मनको सरोवरमा प्रशस्त डुंगा खियाए
भावनाका तरंगहरूमा लहरिँदै जाँदा
जीवनको यथार्थता जगलाई देखाइदिए
मुलुक हाँक्नेको पाखण्डपन उदागो पारिदिए
उनी महाकवि बने
हाम्रो मुलुकको मन्त्री पनि
बरु उनी पागल बने
तर पागल भन्ने महापण्डितको
सातो उडाउन बाँकी राखेनन्
कुनै व्यक्तिलाई आराध्यदेव मानेनन्
आफ्नो मनको बादशाह भएर हिँड्दा
उनको तलब नै रोकियो
चरम आर्थिक कठिनाइमा परे
तर विष्णुको अवतार मानिएकालाई पनि
उनले आराध्यदेव मानेनन्
गाउँको दुर्दशा देखेर रोएर कविता लेखेका यी
सहरमा पुगेपछि पाखण्डताको श्वासप्रश्वासमा परे
योपटक निसासिएर बोल्दा
आजलाई पर सारेर भोलिको ठोकुवा गर्नेले
‘पागल कवि’ घोषित गरिदिए
धन्न अस्पताल लगेका छैनन् अहिलेसम्म
अब यी ‘पागल कवि’को नियति
‘काशी–वास’ नभए पनि
कतै गुमनाम–वास पो हुने हो कि ?
प्रतिक्रिया