देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

सोल्टी विदेशका होटलको व्यवस्थापन गर्ने नेपालको पहिलो अन्तर्राष्ट्रिय ब्राण्ड

देशान्तर

काठमाडौं । सोल्टी होटल्स एण्ड रिसोर्टले जर्मनीको फ्र्यांकफर्टस्थित होटलको व्यवस्थापन गर्न सुरु गरेको छ।जर्मनीको ट्रिप इन होटेल समूह अन्तर्गतका दुई होटलको व्यवस्थापन गर्ने सम्झौता गरि सोल्टीले एउटा होटल हेर्न सुरु गरिसकेको छ भने अर्को होटलमा आगामी फागुन १७ देखि जिम्मेवारी सम्हाल्ने छ। आफ्नो भगिनी कम्पनी स्ट्रीम पिक इन्टरनेसनल प्राइभेट लिमिटेडले सोल्टी वेस्टेण्ड होटलको व्यवस्थापन हेर्न सुरु गरिसकेको सोल्टीका उपाध्यक्ष सुदर्शन चापागाइँले जानकारी दिए।

उनका अनुसार स्ट्रीम पिकले पुस १७ गतेबाट सोल्टी वेस्टेण्ड होटलको व्यवस्थापनको जिम्मा लिएको हो। सोल्टीले जर्मनीको ट्रिप इन समूह अन्तर्गत ट्रिप इन म्यानेजमेन्ट एण्ड सर्भिस लिमिटेड र ट्रिप इन रिजेन लिमिटेडसँग सम्झौता गरेको छ। ट्रिप इन होटल समूह अन्तर्गत युरोपका विभिन्न शहरमा ५० भन्दा बढी होटल संचालनमा छन्। ती होटलमा ३२०० कोठा छन्।

सोल्टी विदेशका होटलको व्यवस्थापन गर्ने नेपालको पहिलो अन्तर्राष्ट्रिय ब्राण्ड बनेको छ। सोल्टीले अहिले मुलुकभित्रका १२ वटा होटलमा आफ्नो ब्राण्ड व्यवस्थापनका लागि सम्झौता गरिसकेको छ। तीमध्ये आठवटा सञ्चालनमा छन्। अबको पाँच वर्षमा देशभित्र २० र विदेशमा ३० वटा होटलको व्यवस्थापन गर्ने कम्पनीको लक्ष्य छ।

सोल्टीले व्यवस्थापन सम्हालेको सोल्टी वेस्टेण्डमा ५० वटा कोठा छन्। कोठा अत्याधुनिक सुविधासहितको भएको होटलले जनाएको छ। यस्तै सोल्टी वेस्टेण्ड प्रिमियरमा २३६ वटा कोठा छन्। दुवै होटल जर्मनीको फ्र्यांकफर्टमा गैलसवर्ट एस-वान रेलवे स्टेसन नजिक पर्छन्। होटलबाट फ्र्यांकफर्ट व्यापार मेला सेन्टर नजिकै पर्छ। सन् १९६६ मा द सोल्टी काठमाडौंबाट आतिथ्य सत्कार क्षेत्रमा प्रवेश गरेको सोल्टीले करिब ६ दशकपछि विदेशमा पाइला चालेको हो। पाँच वर्षअघिसम्म सोल्टीको व्यवस्थापन विदेशी कम्पनीले हेर्दै आएका थिए। यसअघि आफ्नो व्यवस्थापन भारतको ओभरोय र बेलायतको आईएचजीले हेरेकामा सोल्टीले अहिले आफैं विदेशका होटलको व्यवस्थापन गर्ने क्षमता विकास गरेको हो।