काठमाडौँ । अन्तर्राष्ट्रिय सम्बन्ध तथा पर्यटन समितिले वायुसेवा निगमको व्यावसायिक योजनालाई पूर्णरुपमा कार्यान्वयनमा ल्याउन सरकारलाई निर्देशन दिएको छ । सिंहदरबारमा आज बसेको समितिको बैठकले नेपाल वायुसेवा निगमको व्यावसायिक योजनालाई पूर्णरुपमा कार्यान्वयनमा ल्याई सोको प्रगति समितिमा पेस गर्न निर्देशन दिएको हो ।
त्यस्तै बैठकले भैरहवा र पोखरा अन्तर्राष्ट्रिय विमानस्थल नियमित सञ्चालनका लागि सम्बद्ध निकायहरूबिच सम्झौता, समन्वय एवं पहलकदमी लिन संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयलाई निर्देशन दिएको छ भने निजगढ अन्तर्राष्ट्रिय विमानस्थलको निर्माण कार्यलाई शीघ्र अघि बढाउन निर्देशन दिएको छ । बैठकमा संस्कृति पर्यटन तथा नागरिक उड्यनमन्त्री बद्री पाण्डेले कुनै पनि विभागीय कर्मचारीमाथि पूर्वाग्रह नराखी काम गरेको बताएका थिए । उनले नेपाल वायुसेवाको विमान सञ्चालन र व्यवस्थापनमा कमजोरी रहेकै कारण घाटामा गएको समेत बताए ।
समिति बैठकले देशका विभिन्न जिल्लमा रहेका निगमको स्वामित्वमा रहेका जग्गा तथा भौतिक संसाधनहरूको उपयोग योजना निर्माण गरी यथाशीघ्र कार्यान्वयन गरी सोको जानकारी उपलब्ध गराउन निर्देशन दिएको छ भने निगममा देखिएका समस्या र सुधारका उपाय अध्ययन गरी एक महिनाभित्र समितिलाई प्रतिवेदन पेस गर्न समिति सदस्य शिशिर खनालको संयोजकत्वमा नेपाल वायुसेवा निगम अध्ययन उपसमिति गठन गर्ने निर्णय गरेको छ । आजको बैठकमा सभापति राजकिशोर यादव र नेपाल मजदुर किसान पार्टी (नेमकिपा)का सांसद प्रेम सुवालबीच चर्काचर्की परेको थियो । समितिको बैठकमा निर्णय सुनाउने क्रममा सांसद सुवालले आफ्नो सहमतिलाई सभापतिले बेवास्ता गरेको बताएका थिए । त्यसपछि सभापति यादव आक्रोशित भए । सो क्रममा दुवैबीच भनाभन भएको हो । नेपाल वायु सेवा निगमको विमान सञ्चालन व्यवस्थापन तथा सेवा सञ्चालनका सम्बन्धमा छलफलपछि निर्णय गर्ने क्रममा समितिमा उपस्थिति नभएका सांसदको संयोजकत्वमा उपसमिति बनाइएको भन्दै सांसद सुवालले असहमति जनाएका थिए ।
प्रतिक्रिया