काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले १८/१९ वटा बाँकी विधेयक टुंग्याउनको लागि क्यालेण्डर नै बनाएर काम गरिरहेको बताएका छन् । ‘संघीयता सबलीकरणको कसीमा प्रदेशका सवालहरू’ विषयक छलफल कार्यक्रममा बोल्दै उनले उनले माघको पहिलो साताबाट सदन सुरू हुने र यो सदनबाट अहिले समितिमा रहेका सबै विधेयक पारित गर्नेगरी काम गरिरहेको बताए ।
थापाले प्रदेश र स्थानीय सरकारलाई अधिकार सम्पन्न बनाएर जानुपर्छ भन्ने पक्षमा आफूहरू रहेको बताउदै प्रदेश कायम रहने जिकिर गरेका छन् ।
यसैबीच नेपाली कांग्रेसका नेता डा. मिनेन्द्र रिजालले पार्टीका महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले लोकप्रिय मत ल्याउनेले पाँच वर्ष निरन्तर सरकार चलाउन पाउनुपर्ने भनी गरेको बहसप्रति प्रश्न उठाएका छन् ।
मंगलबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै नेता रिजालले प्रत्यक्ष कार्यकारी र लोकप्रिय मत पाउनेले पाँच वर्ष सरकार चलाउनुपर्छ भन्नेले अब व्यवस्थापिका नराख्ने भनेको हो भनी प्रश्न गरेका हुन । उनले कांग्रेस र नेकपा एमालेको सरकार बनेपछि सत्तामा सहजै कसरि पुग्ने भन्ने बारे मात्रै बहस हुने गरेको उनले टिप्पणी गरे ।
नेता रिजालले अन्य राजनीतिक दलहरुमा पनि प्रत्यक्ष निर्वाचित कार्यकारी र सबैभन्दा धेरै मत पाउने पार्टीले पाँच वर्ष निरन्तर सत्ता चलाउन पाउनुपर्ने जस्ता विषयमा मात्रै बहस हुने गरेको उल्लेख गरे । नेता रिजालले थ्रेसहोल्ड बढाउनु भनेको कांग्रेस र एमाले बाहेकका अन्य राजनीतिक दलहरू नहोऊन् भन्न खोजेको टिप्पणी गरे ।
प्रतिक्रिया