देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

एमालेलाई बदनाम गर्न विरोधीहरू लागे : ओली

देशान्तर

काठमाडौँ । प्रधानमन्त्री एवं नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले एमालेको लोकप्रियता घटाउन र एमालेलाई बदनाम गर्न विरोधीहरू लागेको भन्दै पार्टीका सही नीतिका आधारमा एकताबद्ध भई झुटा प्रचार चिरेर पार्टीलाई निर्णायक शक्ति बनाउन जनस्तरमा लाग्न आग्रह गरेका छन् ।


च्यासलमा एमालेको केन्द्रीय कमिटीको आठौँ बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले प्रतिक्रियावादी शक्तिहरू निर्दयी र अमानवीयरुपमा एमालेविरुद्ध झुटा प्रचारमा लागेको भन्दै विरोधीका आरोपबारे तथ्यका आधारमा खण्डन गर्नुपर्ने बताए ।
बैठकमा अध्यक्ष ओलीले ४३ पेज लामो लिखित राजनीतिक प्रतिवेदन प्रस्तुत गरेका छन् ।


बैठकमा राजनीतिक प्रतिवेदनका साथै साङ्गठनिक कामको संक्षिप्त जानकारी, राष्ट्रिय महाधिवेशन प्रतिनिधि परिषद्को बैठक २०८१ पछि भएका केन्द्रीय सचिवालय र पोलिटब्युरो बैठकका निर्णहरुको जानकारी, केन्द्रीय आयोगका अध्यक्षहरूको सम्बोधन, समसामयिक प्रस्ताव र विविध विषय कार्यसूची रहेको महासचिव शङ्कर पोखरेलले बैठकमा जानकारी गराएका छन् ।

बैठकमा पोलिटब्युरो सदस्य सूर्यबहादुर थापाको संयोजकत्वमा बहस नोट कमिटी गठन गरिएको छ । नोट कमिटीमा केन्द्रीय सदस्यहरू नीरज आचार्य र विष्णु रिजाल रहेका छन् । केन्द्रीय प्रचार विभागका प्रमुख राजेन्द्र गौतमको संयोजकत्वमा स्थायी कमिटी सदस्यहरू रघुजी पन्त र खगराज अधिकारी रहेको समसामयिक प्रस्ताव समिति गठन गरिएको छ ।
तीन दिनसम्म चल्ने बैठकमा समूह बनाएर अध्यक्षको प्रस्तावमाथि छलफल हुने एमालेले जनाएको छ ।