काठमाडौं । कहिले कांग्रेसको त कहिले एमालेको टेकोमा गठबन्धन गरेर सरकारको नेतृत्व गर्दै आएका नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड अहिले सत्ताबाहिर रहेपछि छटपटाउन थालेका छन् । ०७९ सालको निर्वाचनपछि कहिले एमाले, कहिले कांग्रेसको बुइ चढेर झण्डै १९ महिना सत्तामा रहेका उनी सत्ताबाट बाहिरिएपछि आक्रामक देखिएका छन् । कांग्रेस र एमालेको बलियो गठबन्धन बनेपछि सुरु भएको उनको छटपटी पछिल्लो पटक झनै बढेको छ । नेपाली राजनीतिमा लामो समयसम्म विभिन्न तरंग छाडेर आफ्नो फाइदा निकाल्दै आएका प्रचण्ड सत्ताबाट बाहिरिएलगत्तै कांग्रेस र एमालेविरुद्ध आक्रोशपूर्ण अभिव्यक्ति दिन छोडेका छैनन् ।
प्रत्येक सार्वजनिक कार्यक्रमहरूमा उनले एमाले र कांग्रेसको सत्तोसराप गर्दै आएका छन् । ०७९ को चुनावमा कांग्रेससँग गठबन्धन गरेका प्रचण्डले चुनावलगत्तै कांग्रेसलाई छाडेर एमालेको बुइ चढी प्रधानमन्त्री बन्न पुगे । फेरि एमालेलाई बीच बाटोमै छाडेर कांग्रेसको काँध चढेर सरकारको नेतृत्व गरे । माओवादीसँग सत्ताको म्याजिक नम्बर भएकाले पाँचै वर्ष सरकारको नेतृत्व माओवादीले गर्ने भन्दै आएका प्रचण्ड त्यतिबेला जिल्लिए, जब दुई ठूला दल कांग्रेस र एमालेले ७ बुँदे सहमतिमार्फत ०८४ को निर्वाचनसम्म सत्ताको भागबन्डा गर्दै गठबन्धन बनाए ।
सत्ता गुमेपछि प्रचण्ड अब आफू र आफ्नो पार्टी सत्ताको खेलमा नलाग्ने र जनतामाझ जाने बताइरहेका छन् । उनले एकै दिन थरीथरीका कुरा गरेर राजनीतिलाई तरंगित बनाउँदै आएका छन् । उनले छेपारोले रङ फेरेझैँ बोली फेरिरहेका छन् । पछिल्लोपटक उनले कांग्रेस–एमालेको गठबन्धनलाई कमजोर बनाउने रणनीति लिएका छन् । प्रतिपक्षमा रहेका गणतन्त्रवादी, राजतन्त्रवादी र पहिचानवादी नेताहरूसँग आगामी हिउँदे अधिवेशनमा सदनमा विपक्षीको मोर्चाबन्दी गर्ने र देशव्यापी सडक अभियान चलाउने तयारीमा उनी देखिएका छन् ।
राष्ट्रिय स्वतन्त्र पार्टी, राप्रपालगायत दलसँग सहकार्य गर्ने पक्षमा प्रचण्ड उभिएका छन् । उनले सार्वजनिक कार्यक्रमहरूमा तत्काल सत्तामा फर्किने योजना आफ्नो नरहेको बताएका छन् । संविधान संशोधनसहित आलोपालो सरकारको नेतृत्व गर्न एमाले अध्यक्ष केपी ओली र कांग्रेस सभापति शेरबहादुर देउवाबीच भएको सहमतिको पूर्ण पालना भएमा ०८४ यता माओवादीले चाहेर पनि सरकारमा पुग्ने अवस्था छैन । कांग्रेस र एमालेलाई छक्याउँदै झुक्याउँदै सरकारमा रहेका प्रचण्ड प्रधानमन्त्री पद खुस्किएपछि सत्तामा हुँदा आफू प्रदूषित भएको भन्दै आत्मालोचना समेत गर्दै आएका छन् ।
प्रतिक्रिया