काठमाडौं । आम नागरिकले राजनीतिक दलका नेताहरूबाट इमान, नैतिकता, सदाचार र पारदर्शिता लगायतका गुणको अपेक्षा गरेका हुन्छन् तर नेपालको राजनीतिक परिदृश्य नियाल्ने हो भने अपवादबाहेक अधिकांश नेताहरू यी गुणबाट विचलित हुँदै दैनिकजसो विभिन्न काण्डमा मुछिँदै जाँदा आमजनताबाट नेताप्रतिको भरोसा र विश्वास टुट्दै गएको छ । पछिल्लो उदाहरण हुन्, राज्यका निकायहरूलाई सुशासन कायम गराउन भूमिका खेल्नुपर्ने संसदको महत्वपूर्ण समिति सार्वजनिक लेखा समितिकै सभापति नेकपा एमालेका सांसद ऋषिकेश पोखरेल जोडिएको सहकारी ठगी र घुस प्रकरण ।
संसदको एउटा महत्वपूर्ण विषयगत समिति हो, सार्वजनिक लेखा समिति । राज्यकोषको खर्च संसद्ले चाहेबमोजिम होस् भनी त्यसको सुनिश्चितता गर्नु र सरकारी कोषको प्रभावकारी र मितव्ययितापूर्वक खर्च भए/नभएको जाँचपड्ताल गर्नु सार्वजनिक लेखा समितिको प्रमुख कार्य हो । सरकारलाई संघीय संसदप्रति उत्तरदायी र जवाफदेही बनाउनका लागि सरकारबाट भए÷गरेका काम कारबाहीको अनुगमन र मूल्यांकन गरी आवश्यक निर्देशन वा राय सल्लाह दिने यो महत्वपूर्ण समितिका सभापति आफैँ ठगी र घुस प्रकरणमा मुछिएर इमान, नैतिकता, सदाचारलाई टुकुचामा बगाएको मात्र नेताहरू कुन तहको भ्रष्ट हुँदै गएका छन् भन्ने ज्वलन्त उदाहरण भएको टिप्पणी हुने गरेको छ ।
यसअघि सहकारी ठगीमा मुछिएका पोखरेल अहिले एमबीबीएसमा भर्ना गराइदिने भन्दै ठगी गरेको मुद्दामा जोडिएका हुन् । उनका पीए अनिलकुमार पोखरेलले सप्तरी अग्निसाइर कृष्णासवरन गाउँपालिका– ५ का ५७ वर्षीय बौआलाल चौधरीसँग ३८ लाख ८० हजार घुस लिएका थिए । एमबीबीएसमा नाम निकालिदिने भन्दै ३८ लाख घुस लिने एमाले मोरङका जिल्ला सदस्य अनिल पोखरेलविरुद्ध ऋषिकेश मोरङ एमालेको अध्यक्ष हुँदा तीन वर्षअघि पार्टीमा परेको उजुरीलाई गुपचुप राखेको र सांसद भएलगत्तै उल्टै पुरस्कृत गर्दै पिए बनाएको खुलेको छ । अदालतले परामादेश जारी गरेपछि बल्ल लाज पचाउँदै उनले अनिललाई पिएबाट हटाएका थिए ।
यस्तै, सांसद पोखरेलले आफ्नै पहलमा खोलेको मोरङको उमागौरी कृषि सहकारीले गरेको बचतकर्ताको २० करोड ४९ लाख हिनामिनामा उनकी पत्नी अञ्जला कोइरालाको प्रत्यक्ष संलग्नता भेटिएपछि प्रहरीले उनीविरुद्ध मुद्दा दायर गरेको छ । अञ्जला अहिले फरार छिन् । माओवादीका सांसदहरूले लेखा समितिको बैठकमा सभापति पोखरेलको राजीनामा माग गरेका थिए । यतिबेला भने सत्ता र शक्तिको आडमा अनुचित लाभ लिने गरी पोख्रेलले जानाजान यी कार्य गरेको भन्दै उनले पदबाट राजीनामा दिनुपर्ने तथा प्रहरी अनुसन्धानमा पोख्रेललाई ल्याइनुपर्ने र दोषी ठहरिए कारबाही गर्नुपर्ने माग नागरिक तहबाट उठेको छ । केही दिनपहिले एमालेका सांसद योगेश भट्टराईले सार्वजनिक लेखा समितिको बैठकमा बोल्दै फरार भनिएकी पोखरेलकी श्रीमती कोइराला अदालतमा उपस्थित हुनुपर्नेमा जोड दिएका थिए । भने पोखरेलले एक सञ्चार माध्यमलाई दिएको अन्तर्वार्तामा आफ्नी श्रीमती घरमै रहेको बताएका थिए भने पछिल्लोपटक उनी जोडिएको स्वकिय सचिवले गरेको घुस प्रकरण र ठगीबारे विगतमा आफूलाई थाहा नै नभएको दाबी गरेका छन् । सञ्चार माध्यममा समाचार आएपछि अनिललाई स्वकीय सचिवबाट हटाएको बताएका छन् ।
प्रतिक्रिया