काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी ( रास्वपा) सभापति रवि लामिछाने जोडिएको सूर्यदर्शन बचत तथा ऋण सहकारीको बचत हिनामिनासँग सम्बन्धित मुद्दामा जिल्ला अदालत कास्कीमा शुक्रबारबाट सुरु भएको प्रतिवादी तर्फका वकिलहरूको थुनछेक बहस आज आइतबारदेखि निरन्तर हुँदै छ । आज प्रतिवादी छविलाल जोशीका कानुन व्यवसायीहरूको बहस सकिएपछि लामिछानेका कानुन व्यवसायीको पालो आउनेछ । मंगलबारसम्म सबै प्रतिवादीको बहस र बुधबार सरकारी वकिलको जवाफी बहस सकिएमा अर्को हप्ता सम्ममा धरौटी कि पुर्पक्ष भन्ने आदेश आउनेछ ।
शुक्रबार थुनछेक बहसमा प्रतिवादी जोशीका तर्फबाट बहस गर्ने कानुन व्यवसायीले रकम गएको गोर्खा मिडियालाई सहकारी ठगीमा किन प्रतिवादी नबनाइएको भन्दै प्रश्न उठाएका थिए । यसले सरकारी वकिल कार्यालयको अभियोजन नै कमजोर रहेको पुष्टि हुने उनीहरूको दाबी गरेका थिए । शुक्रवार वरिष्ठ अधिवक्ता जगन्नाथ ढकाल र अधिवक्ता अपूर्व खतिवडाले बहस गरेका थिए । अर्का प्रतिवादी लीला पछार्इंका तर्फबाट बहस गर्ने अधिवक्ता गणेश भट्टराईले लीलालाई आफन्त र जिबी राईले खातामा पैसा पठाएको र त्यो सबै स्वाभाविक रहेको भन्दै आफ्ना मालिकले कताबाट कति पैसा ल्याए त्यो लीलालाई थाहा नहुने तर्क गरेका थिए ।
बिहीबार कास्की जिल्ला अदालतका न्यायाधीश नीतिज राईको इजलासमा जाहेरवाला तर्फबाट ६ जना कानून व्यवसायीको बहस सकिएपछि शुक्रबारदेखि लामिछानेसहित प्रतिवादीका तर्फबाट कानुन व्यवसायीको बहस सुरु भएको हो । बिहीबार सुरुमा बहस गरेका नायव महान्यायाधिवक्ता सञ्जीव रेग्मीले लामिछानेलगायत प्रतिवादीलाई थुनामा पठाउन माग गरेका थिए । त्यसपछि वरिष्ठ अधिवक्ताद्वय डाक्टर सुरेन्द्र भण्डारी र दिनेश त्रिपाठी बहसमा सहभागी हुँदै अभियोग पुष्टि हुने आधार प्रस्तुत गर्दै लामिछानेसहितलाई थुनामा पठाउनुको विकल्प नभएको जिकिर गरेका थिए ।
प्रतिवादी पूर्वडीआइजी छविलाल जोशीका ६ जना कानुन व्यवसायी लामिछानेका १५ जना कानुन व्यवसायी लीला पछाईंका एकजना र बाँकी प्रतिवादीका तर्फबाट २÷२ जना कानुन व्यवसायीले बहस गर्नेछन् । आज आइतबार छविका तर्फबाट वरिष्ठ अधिवक्ता सतीशकृष्ण श्रेष्ठ र शम्भु थापालगायतले बहस गर्नेछन् । छविको बहस सकिएपछि रविको आउनेछ । जाहेरवाला र प्रतिवादीको बहस सकिएपछि सरकारी वकिल कार्यालयका तर्फबाट जवाफी बहस गर्नेछन् । त्यसपछि प्रतिवादीहरूलाई पुर्पक्षका लागि कारागार चलान गर्ने वा धरौटी तारेखमा छाड्ने भन्ने फैसला–आदेश न्यायाधीशले सुनाउनेछन् ।
अभियोगपत्र दर्ता भएका ४४ जनामध्ये रास्वपाका सभापति गोर्खा मिडिया नेटवर्कका तत्कालीन सञ्चालक एवं प्रबन्ध निर्देशक लामिछाने, गोरखा मिडिया नेटवर्कका तत्कालीन सञ्चालक एवं सेयर धनी पूर्वडीआइजी जोशी, जीबी राईको साझेदार एवं सहयोगी पछाईं, नेचर हब्र्स इन्टरनेसनल प्रालिका सञ्चालक एवं सेयर धनी रामबहादुर खनाल, सूर्यदर्शन सहकारीका पूर्वउपाध्यक्ष मीना गुरुङ, सहकारीकी कोषाध्यक्ष आरती गुरुङ र सहकारीका सञ्चालक कृष्णबहादुर गुरुङ हाल जिल्ला प्रहरी कार्यालय कास्कीको हिरासतमा छन् ।
सातजनामध्ये लामिछाने, जोशी र खनाललाई सहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धीकरण, पछाईंलाई सहकारी ठगी, संगठित अपराध, सम्पत्ति शुद्धीकरण र राष्ट्र बैंक ऐन ०५८ को अभियोग लगाइएको छ भने अन्य तीनजनालाई सहकारीको रकम ठगीको अभियोग लगाइएको छ ।
यसैबीच राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को केन्द्रीय समितिको बैठक शनिबारदेखि काठमाडौंमा सुरु भएको छ । हिजोको बैठकमा रास्वपाले सहकारीसम्बन्धी अध्यादेश ०८१ माथि र स्थानीय तह उपनिर्वाचनको समीक्षा गर्दै समसामयिक राजनीतिक विषयमा छलफल गरेको थियो । बैठकको दोस्रो दिन आज आइतबार संविधान परिमार्जन सम्बन्धमा छलफल गर्ने रास्वपाले जनाएको छ । आइतबारको बैठकबाट केन्द्रीय समिति, सल्लाहकार परिषद्, थिंकट्यांक एवं केन्द्रीय विभागको पुनःसंरचना, पार्टीको आचारसंहिता र बैठक सञ्चालन कार्यविधि संशोधनका विषयमा निर्णय हुने रास्वपाले जनाएको छ । रास्वपाको केन्द्रीय समितिमा सभापति रवि लामिछानेसहित जम्मा ६१ जना सदस्य छन् । सभापति लामिछानेलाई सहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धीकरण मुद्दा लागेपछि पार्टीको कार्यबाहक सभापतिको जिम्मा डीपी अर्यालले छन् पाएका छन् ।
प्रतिक्रिया