देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

निरिह तेजुलाल

देशान्तर


काठमाडौं । असार ३१ गते प्रधानमन्त्री केपी शर्मा ओलीसँगै शीतल निवासमा राष्ट्रपति रामचन्द्र पौडेलसँग पद तथा गोपनीयताको शपथ गरेपछि सिंहदरबारमा आएर मन्त्रालयको कुर्सीमा बसेका नेपाली कांग्रेसका नेता तेजुलाल चौधरी युवा तथा खेलकुदमन्त्री बनेको ६ महिना बित्न लाग्यो । कुर्सीमा बसेको केही समयमा उनी पेरिस ओलम्पिकमा जीवनराम श्रेष्ठ र राखेपका सदस्यसचिव टंकलाल घिसिङको जोडबलमा फ्रान्स पुगे ।


मन्त्री भएलगत्तै खेलकुदमा यस्तो गर्छु र उस्तो गर्छु भन्दै धक्कु लगाएका तेजुलाल (टीएल)ले पेरिस भ्रमणमा जाँदैखेरि मन्त्रालयका सचिवबाट धोका पाएका थिए भने उता गएर जीवनराम र टंक घिसिङको आतिथ्यपछि उनी युटर्नजस्तै भएका थिए । जीवनराम एकीकृत समाजवादीका हुन् भने टंकलाल माओवादी निकट मानिन्छन् । उनीहरू दुवैका पार्टी अहिले प्रतिपक्षमा रहेकाले प्रतिपक्ष प्रतिपक्ष मिलेर सत्तापक्ष टिएललाई घुमाउने काम भइरहेको छ ।
पहिला पनि खेलकुद राज्यमन्त्री भइसकेका टीएलबाट फुल मन्त्री भएर आउँदा विशेषगरी लोकतन्त्रवादी खेलकुदका पदाधिकारीहरूले राम्रै अपेक्षा गरेका थिए । तर, उनको भनाइ र गराइ एकपछि अर्को विवादास्पद बन्दै गएको खेलकुदबारे जानकारहरू बताउँछन् ।


खेलाडीले पदक ल्याउँदा ठूला–ठूला भाषण गर्न पछि नपरे पनि आवश्यक र महत्वपूर्ण कार्यहरूमा उनी सधैँ चुक्दै आएका छन् । गृहजिल्ला र प्याब्सनको कार्यक्रम भनेपछि मरिहत्ते गर्ने मन्त्री चौधरीले ती कार्यक्रममा गर्ने भाषण पनि सुन्नेलाई लाज लाग्ने खालका हुने गरेका छन् । कार्यक्रमको विषयवस्तुबारे अध्ययन पनि नगर्ने, सचिवालयलाई पनि व्यवस्थित गर्न नसकेका टीएल अहिले फेरि ओलम्पिक निर्वाचनपछि चर्चामा छन् । नेपाल ओलम्पिक कमिटीमा जीवनराम श्रेष्ठलाई रोक्नका लागि उनले अपनाएका सबै हतकण्डाहरू काम लागेनन् । ओलम्पिक कमिटीमा २७ खेल संघमध्ये बहुमत कांग्रेस निकटका हुँदा पनि उनले समयमै सबैसँग समन्वय नगर्ने, अनि केही कुरा भन्न जाँदा सबै आफूलाई थाहा छ जसरी प्रस्तुत हुँदा उनै असफल हुने अवस्था आएको छ । ओलम्पिकको निर्वाचनपछि उनले निर्वाचनमा सहभागी हुने खेल संघलाई कारबाही गर्ने भनेर स्पष्टिकरण सोधे पनि ती खेलसंघहरूले टेरपुच्छर लगाएका छैनन् । उनले राखेपमार्फत कारबाहीको डन्डा चलाउने तयारी गरे पनि हातमा डाडु–पन्यो लिएर माओवादी निकट टंकलाल बसेकाले यसबाट पनि टीएललाई सफलता मिल्नेमा शंका नै गर्नुपर्छ ।


यसबीचमा राखेपमा उपाध्य पद रिक्त भएको पाँच महिनापछि ध्रुव आचार्यलाई मन्त्रिपरिषद्ले नियुक्त गरेको छ । नेपाली कांग्रेसका मन्त्री हुँदा कांग्रेसनिकट राखेपको उपाध्यक्ष बन्ने अपेक्षासहित खेलकर्मीले तयारी गरे पनि टीएलले त्यो पद पनि प्रधानमन्त्री केपी ओलीलाई किस्तीमा राखेर बुझाएका छन् । यसमा पनि टीएलकै कमजोरी प्रष्ट देखिन्छ । टिएल देशको मन्त्रीभन्दा पनि सप्तरीको एक जना माननीयको रूपमा मात्रै सिंहदरबारमा छन् भन्दा हुन्छ । उनी सप्तरीकै एकजना चौधरीलाई उपाध्यक्ष बनाउने खुबै लबिङ गर्दा पार्टीबाट अरूलाई बनाउन सिफारिस गरिएको थियो । पार्टीकै शीर्ष नेताहरूको सिफारिस पनि नमान्दा प्रधानमन्त्री ओलीले मदन भण्डारी स्पोर्टस एकेडेमीका अध्यक्ष आचार्यलाई बनाएपछि टीएल ‘हिस्सबुडी किच्च दाँत’को अवस्थामा रहेको मन्त्रालय स्रोतले देशान्तरलाई बताएको छ ।


अब उनलाई कर्णाली प्रदेशमा आयोजना हुने १०औँ राष्ट्रिय खेलकुद प्रतियोगिता गराउने जिम्मा छ । तर अहिलेको गतिले गर्दा त्यो प्रतियोगिता पनि संशयमा पर्न थालेको राखेपस्रोतले बताएको छ । बोर्ड बैठकको निर्णय र नेपालको सार्वजनिक खरिद नियमावलीअनुसार कामहरू सम्पन्न गर्नका लागि कम्तीमा १०० दिन आवश्यक पर्नेमा त्यो समय क्रमशः कम हुँदै गएको हो । सरकारमा सहभागी हुने मन्त्रीहरूले युवा तथा खेलकुद मन्त्रालय बिरलै रोज्छन्, रोजेरभन्दा पनि बाध्यताले पुग्ने गरेको भाष्य स्थापित भए पनि युवा र खेलकुदको माध्यमबाट आफू र आफ्नो संगठनलाई फाइदा पुग्ने अवस्था हुँदाहुँदै पनि यसबारे कम चासो दिँदा मन्त्री नै बदनाम हुने अवस्था विगतमा जस्तै यसपटक पनि देखिने अवस्था आएको छ ।