नेपाली कांग्रेसका केन्द्रीय सदस्य सञ्जय गौतमले वर्तमान सरकारलाई असफल हुने छुट नभए पनि काम गर्न नसकेको बताएका छन् । देशान्तरकर्मी मुक्तिबाबु रेग्मीले गौतमसँग समसामयिक राजनीतिक प्रसंगमा गरेको कुराकानीको सम्पादित अंश ः
पछिल्लो समय केमा व्यस्त हुनुहुन्छ ?
अहिले संसद्को बैठक बसेको छैन । नेपाली कांग्रेसको एकजना कार्यकर्ता भएकाले पार्टीको खटाएअनुसार सांगठनिक काममा व्यस्त छु । केही समयपहिला सुदूरपश्चिमका जिल्लाहरूमा केन्द्रित भएर काम गरेको थिएँ । अहिले म लुम्बिनी प्रदेशको अर्खाखाँची जिल्लामा छु । पार्टीले सुरु गरेको १०० दिने अभियानअन्तर्गत अहिले अर्घाखाँचीमा केन्द्रित भएको हुँ ।
अर्घाखाँचीमा नेपाली कांग्रेसको सांगठनिक अवस्था के छ ?
देशभरकै कांग्रेसको संगठनको अवस्था एउटै हो । हामी अधिवेशनको मुखमा छौँ । संगठनलाई चलायमान बनाउने हाम्रो प्रयास छ । अब पार्टीलाई नयाँ गति, ढंग र दृष्टिकोणले पार्टीलाई अघि बढाउनुपर्छ भन्ने भावना साथीहरूको व्यापक छ । समग्र रूपमा आमजनतामा रहेको निराशालाई आशामा बदल्नुपर्ने आजको आवश्यकता हो ।
नेपाली कांग्रेसको अधिवेशन सुरु भइसकेको हो र ?
अधिवेशन आउन त अब जम्मा एक वर्ष मात्रै बाँकी छ नि ! अधिवेशनको काम सुरु भइसक्नुपर्ने हो । कामका हिसाबले अधिवेशन सुरु भइसकेको छैन । अहिले पनि नेपाली कांग्रेसको क्रियाशील सदस्यताको विषय टुंगिसक्नुपर्ने हो, त्यो अझै टुंगिएको छैन । अधिवेशन समयमै होस् भन्ने हाम्रो चाहना भएकाले अलि बढी क्रियाशील छौँ ।
तर, कतिपयले यो अभियानलाई अधिवेशनसँग जोड्नुहुँदैन भन्छन् त फेरि ?
हो, अहिले नेपाली कांग्रेसले सुरु गरेको १०० दिने अभियानलाई अधिवेशनसँग जोड्नुहुँदैन । अभियान र अधिवेशन अलग–अलग कुरा हो । अभियान भनेको पार्टीको आन्तरिक जीवन हो । जो सभापति र महामन्त्री भए पनि अधिवेशन आफ्नो क्यालेन्डरअनुसार अगाडि जान्छ । त्यसैले अभियानलाई हामीले त्यो रूपमा जोडेका छैनौँ । अभियानले त हामीलाई सशक्त बनाउँछ, संगठन सुदृढ बनाउँछ । नयाँ ढंगले आफ्नो आत्मालोचना गर्ने, यसले कार्यकर्तामा रहेको निराशालाई चिरेर आशाको सञ्चार गर्ने काम गर्छ ।
१५औँ महाधिवेशन कहिले गर्ने ?
नेपाली कांग्रेसको महाधिवेशन समयमै अर्थात् ०८२ सालमा गर्नुपर्छ भन्ने हाम्रो मान्यता हो । तर, समयमै महाधिवेशन होला भन्ने कुरामा संशय पैदा भएको छ । समयमै महाधिवेशन गर्नलाई सबैजना लाग्नुपर्छ । क्रियाशील सदस्यता वितरण र नवीकरणलगायत कामहरू भइरहेका छन् । समयमै अधिवेशन भयो भने मात्रै हाम्रो भविष्य सुनिश्चित हुन्छ ।
किन महाधिवेशनमा संशय देखाप¥यो ?
अधिवेशन हुनुभन्दा पहिला सदस्यता वितरण गर्ने प्रक्रिया टुंगिसक्नुपर्ने हो । हामीहरूले अहिले त्यो टुंगोमा पु¥याउन सकेका छैनौँ । हाम्रा हरेक तह र तप्का क्रियाशील भएर लाग्नुपर्छ । हाम्रो १०० दिने अभियानले पनि सबै युनिटहरूलाई पनि त्यसमा क्रियाशील बनाएर लगाएको छ । त्यसैले कतिपयले यसलाई कसैकसैले अधिवेशनसँग पनि जोडेर हेरेका छन् । अधिवेशनको वातावरण तयार गर्नका लागि यो अभियानले मद्दत नै गरेको छ ।
अहिले नेपाली कांग्रेसमा महाधिवेशनलक्षित समीकरण बन्न थालेका हुन् ?
त्यस्तो केही होइन । सञ्चारमाध्यमलाई मात्रै त्यस्तो लागेको हो । अहिलेसम्म नेपाली कांग्रेसको पार्टी सभापति शेरबहादुर देउवा हुनुहुन्छ । शेरबहादुर दाइ दुईपटक सभापति भइसक्नुभयो, हाम्रो विधानले उहाँलाई तेस्रोपटक सभापति बन्ने अनुमति दिँदैन । शेरबहादुर देउवा सभापति नबन्दाको परिस्थितिमा को सभापति बन्ला भनेर कुरा उठ्नु स्वाभाविक हो । त्यसैले सबैको मान्यता के छ भने देउवा सभापति नभइसकेपछि नयाँ ‘पोलराइजेसन’ हुन्छ । यसले नयाँ नेतृत्व पनि चयन गर्ने भएकाले यस्तो चर्चा भएको हो । सभापति देउवा आफैँ सभापति हुने भएको भए यथास्थितिमा डाइनामिक्स बस्न सक्थ्यो । तर, देउवा आफू सभापति नहुने भइसकेपछि कार्यकर्ताले नयाँ डाइनामिक्स कस्तो निर्माण गर्छन्, कता पोलोराइज्ड हुन्छ, कस्तो पोजिसन हुन्छ भन्ने प्रस्ट नभइसकेको अवस्थामा दुई–चारजना प्रतिस्पर्धी त छँदै हुनुहुन्छ नि !
डा. शेखर कोइरालाको देशदौडाह, शशांकको लन्च मिटिङलाई महाधिवेशनसँग जोड्न मिल्छ होला ?
अहिले भइरहेका सबै कुरालाई पोजेटिभ तरिकाले बुझ्नुपर्छ । सबै समयमै अधिवेशन होस् भन्ने मनशायमा छन् । डा. शेखर कोइराला पनि आफ्नो ढंगले नलाग्ने कुरै भएन, लाग्नुभएको छ, सबैजना आफ्नो आफ्नो किसिमले हिँड्नुभएको छ । सबैले पार्टीको स्प्रिटलाई मेन्टेन गरेर हिँड्नुभएकाले नेपाली कांग्रेस पार्टीभित्र लोकतान्त्रिक अभ्यास हुने भएकाले अधिवेशनको मुखमा नेताहरूको सक्रियता बढ्ने कुरा त राम्रो हो । यसले आमकार्यकर्तामा उत्साहनै जगाएको छ । निर्वाचनमा प्रतिस्पर्धा गर्नका लागि समूह बन्छ त्यसलाई गुटबन्दी भन्न मिल्दैन । सिस्टममा जाँदाखेरि चुप्प लागेर बस्दा लिडर बनिँदैन । अहिले सबैले पार्टीको अनुशासनमा बसेर आफ्ना गतिविधि गरिरहनुभएको छ । यो कांग्रेसभित्रको राम्रो अभ्यास हो । यसले आउँदो अधिवेशनमा नयाँ रूप लिन्छ ।
०८४ को आमनिर्वाचनपछि महाधिवेशन गरे के हुन्छ ?
त्यो त सम्भव छैन । चाँडै नै अधिवेशन गर्नुपर्छ । हामीले अहिलेसम्म दुःख पाएको कारण के हो भने, हामी विधि र प्रक्रियाबाट हिँड्न सकेनौँ । पार्टीलाई पनि विधि र प्रक्रियाबाट हामीले चलाएनौँ । विधि र प्रक्रियाबाट चल्ने कुरामा हामीले अफ्ठ्यारो मान्न हुँदैन । भरसक त हामीले ६ महिना पनि केन्द्रीय कार्यसमितिको म्याद थप गर्नुहुँदैन । केही दिनअघि शशांक कोइरालाले भनेको कुरा पनि मैले सुनेँ । उहाँको पनि मनशाय के होला भने, चुनावको मुखमा पार्टीको अधिवेशन हुँदाखेरि त्यसले चुनावलाई प्रभावित गर्छ भन्ने होला । हामीले पनि त्यही भनेका छौँ, चुनाव ०८४ सालमा हुने भएकाले ०८२ को अधिवेशन रोक्नुपर्ने र सार्नु पर्ने कुनै कारण छैन ।
अहिले नेपाली कांग्रेसका कार्यकर्ता कति उत्साहित छन् त ?
म एकातिरबाट नेपाली कांग्रेसको नेता हुँ भने अर्कोतिरबाट जननिर्वाचित एकजना सांसद पनि हुँ । मैले सत्य कुरा बोल्नुपर्छ । अहिले आमजनतामा निराशा छ । आमजनताको निराशालाई हामीले चिर्न सकेका छैनौँ । सरकारमा पनि हामी छौँ । त्यो निराशालाई चिर्नु हाम्रो सबैभन्दा पहिलो कर्तव्य हो । त्यो निराशालाई चिर्नका लागि हामीले सुशासन दिन्छौँ र भ्रष्टाचार नियन्त्रण गर्छौं भन्ने कुराको अनुभूति आमजनताको बीचमा सन्देशका रूपमा पु¥याउनुपर्छ । हाम्रा कार्यकर्ताहरू पनि त्यही सन्देश लिएर जनताको बीचमा जाने हो । जनतामा निराशालाई चिर्ने उत्साह लिएर जाने वातावरण संगठनले बनाउने हो । अहिले तत्कालको स्थितिमा के देखिन्छ भने हामी सरकारमा पनि छौँ, संसद्को सबैभन्दा ठूलो पार्टी पनि छौँ, तर यो निराशालाई चिर्नका लागि जुन तरिकाले जानुपर्ने थियो, त्यो तरिकाले अहिलेको सरकार अगाडि बढिरहेको छैन । सरकारले अलिकति प्रयास त गरेको पनि हो । संविधान संशोधन, सुशासन, भ्रष्टाचार नियन्त्रण र आर्थिक सुशासनका कुराहरू पनि छन् । अहिले आर्थिक अवस्था एकदमै नराम्रो छ । यो बेलामा रिफ्लेक्सन त भइहाल्छ, कार्यकर्तामा यो विश्वास हुन जरुरी छ कि, हाम्रो पार्टी, हाम्रा नेताहरू इमानदार छन्, यिनीहरूले सुधार गर्छन् भन्ने कुराको अनुभूति कार्यकर्तामा नभईकन उनीहरू जनतामा कुन मनोविज्ञानले पुग्छन् र ! त्यसकारण संगठन सुदृढ गर्न र उत्साह भर्नका लागि एकदमै आवश्यक छ । कार्यकर्ताहरूले नै जनताको निराशा चिर्नका लागि सन्देश प्रवाह गर्नुपर्छ । अहिले पनि अफ्ठ्यारो त छ । जस्तो हुनुपर्ने हो, त्यस्तो पटक्कै भएको छैन । त्यस्तो भनेर स्थानीयस्तरमा नेपाली कांग्रेसको परिस्थिति त्यति नराम्रो पनि छैन । तर आमजनताको गुनासो हामीसँग छ ।
त्यही गुनासा र निराशा चिर्नलाई सरकार बनाएको होइन त, काम गर्न नसके किन नछोड्ने ?
यो विषयमा पार्टीका शीर्ष नेताहरूलाई सोध्नुस् । म पनि नेपाली कांग्रेसको कार्यकर्ता हो नि ! हामीले केन्द्रीय कार्यसमितिमा आफ्ना कुराहरू उठाइरहेका छौँ । अहिलेको यो सरकारले जुन स्प्रिट लिनुपर्ने थियो, त्यति लिन सकिरहेको छैन । यो सरकार अन्तैतिर अलमलिएको छ कि भन्ने कुरामा हामी चिन्तत पनि छौँ । स्थिरता दिनका लागि बनाएको यो सरकारलाई कसरी सफल बनाउन सकिन्छ भन्ने विषयमा हामीले काम गरिरहेका छौँ ।
प्रचण्डको पालामा गठबन्धन फेरिइरहन्थ्यो, अहिले ओलीको पालामा एउटै गठबन्धन कायमै छ, स्थिरता भनेको त्यही हो ?
नेपाली कांग्रेसले माओवादीसँग मिलेर चुनाव लडेको पनि स्थिरता दिनकै लागि हो । अहिले एमालेसँग मिलेर सरकार बनाएको पनि स्थिरता दिनकै लागि हो । हामीसँग अब अर्को अप्सन छैन । अहिलेको सरकारलाई असफल हुने छुट छैन । जसरी पनि यो सरकार एउटा लयमा अगाडि जाओस् । हाम्रा साथीहरूले त्यहीअनुसार काम गरून् भन्ने नै सोचाइ हो । सरकारले सही गतिमा हिँड्न सकेको छैन, यो भनेको हाम्रो आलोचना होइन चिन्ता हो ।
सरकार संसददेखि भाग्दै छ, अध्यादेश ल्याएर शासन गर्न खोजिरहेको छ, तर तपाईंहरूको स्वर पनि मधुरो छ है !
अध्यादेशबाट सरकार चलाउने कुरा ठिक हुँदै होइन । संसदको अधिवेशन बोलाउन त ढिला भइसक्यो । संसद बैठक बोलाउनुपर्छ भनेर मैले पनि ठाउँ–ठाउँमा नेताहरूसँग कुरा गरिरहेको छु । अध्यादेशबाट सरकार चल्ने कुरा राम्रो होइन । सहकारीसम्बन्धी पनि अस्ति अध्यादेश आयो, कताकता दल विभाजन सम्बन्धित अध्यादेश ल्याउने तयारीमा रहेको कुरा पनि सुन्नमा आएको छ । तर मलाई त्यस्तो लाग्दैन । अब चाँडै अर्थात् पुसको अन्तिम साता वा माघको पहिलो सातामा संसदको बैठक आह्वान होला ।
अहिलेको सरकार शक्तिशाली छ, तर सरकार चलाउन कार्यदल किन बनाइएको हो ?
मैले पनि यो कुरा बुझेको छैन । सरकार काम गर्ने कुरामा किन अलमलिएको छ भनेर । मैले भन्दा सञ्जयले सरकारको आलोचना ग¥यो भन्ने होला । तर सरकारले जुन लय समातेर काम गर्नु पर्ने हो, त्यो काम गर्न नसकेको देख्दा ए बाबा यो सरकार कतै बर्बाद हुने त होइन भन्ने चिन्तामा म पनि छु । यो सरकारलाई असफल हुने छुट मैले कतैबाट पनि देख्दिनँ । यो सरकार असफल भयो भने यहाँ अराजकता बढ्छ जस्तो लाग्छ, मलाई । यो विषयमा अब शीर्ष नेताहरू नै जिम्मेवार भएर लाग्नुपर्छ । यसमा शेरबहादुर देउवा, केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डजीहरू नै सिरियस हुनुपर्छ । उहाँहरू सिरियस हुनुभएन र राष्ट्रिय इस्युमा एक ठाउँमा बसेर सोचिदिनुभएन भने राम्रो हुँदैन । जुन किसिमले प्रधानमन्त्री ओली र माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड जीको भर्सन सुन्छु, सभापति देउवा त बोल्नुभएको छैन, उहाँहरूको अभिव्यक्ति चिन्ता र डरलाग्ने खालको छ । यो मुलुकलाई सही दिशा र लयमा फर्काउनका लागि सरकारमा को–को छन् मलाई थाहा छैन, त्यसैले अहिलेको समस्या समाधान गर्दै संविधान संशोधन गर्नका लागि एमाले र कांग्रेसले मात्रै सक्दैनन् । सकेको भए राष्ट्रिय सरकार बनाउन खोजेको भए हुन्थ्यो । त्यो सरकार नेपाली कांग्रेसको नेतृत्वमा बनाउँदा राम्रो हुन्छ । राष्ट्रिय सरकार बनाउन नसकिए पनि माओवादीलाई धेरै टाढा राख्न, विषवमन गरेर हामी एक ठाउँमा पुग्छौँ जस्तो लाग्दैन । त्यसकारण माओवादीलगायत अन्य फ्याक्टरहरूलाई पनि नजिक राखेर एजेन्डाहरूमा एक ठाउँमा ल्याउनुपर्छ । मुलुक त हाम्रो हो नि ! सेल्फ सेन्टर र पार्टी सेन्टर राजनीति गरेर कहीँ पुगिँदैन । भोलि यो सिस्टम असफल भयो भने त्यसको दोषी हामी सबै हुन्छौँ । म त नेताहरू राजनेताको भूमिका निर्वाह गरून् भन्ने मनसायको मान्छे हुँ हेर्नुस् । तर उहाँहरूले राजनेताको भूमिका निर्वाह गरिरहेको अवस्था भने मैले देख्दिनँ । यो हाम्रो देशका लागि दुर्भाग्य हो ।
संविधान संशोधन के दुई पार्टी सिस्टम बनाउनलाई गर्न खोज्या ?
अहिलेको निर्वाचन प्रणालीले कहिले पनि स्थिर सरकार दिनै सक्नुहुन्न । सधैँभरि गठबन्धनको सरकार बनाउने कुरा स्वाभाविक हुँदैन । त्यसकारणले यो संविधानले संशोधन खोजेको हो । यो संविधानअनुसार तीन तहको संरचना थेग्नै सक्नुहुन्न । ७० प्रतिशत चालू खर्च छ, ३० प्रतिशत पनि पुँजीगत खर्च छैन । त्यो परिस्थितिमा आम्दानी पनि छैन । कार्यकर्तालाई तलब खुवाउने संरचनाले पार लाग्दैन । त्यसकारण यसको रि–स्टक्चरिङ नगरेर कामै छैन । मैले संघीयतामै प्रश्न उठाएको भने होइन । अभ्यास गर्नका लागि केही समय पक्कै लाग्ला । अहिलेको चुनाव प्रणालीले स्थिरताको सरकार नदिँदा सधैँ अस्थिरताको भूमरीमा पर्ने जोखिम छ । संविधान संशोधन गर्ने विषय कांग्रेस र एमालेले मात्रै गरेर हुँदैन । यसमा हामीले माओवादी र अरू दलहरूलाई पनि हाम्रो कन्फिडेन्समा लिनैपर्छ । संविधान संशोधनको विषयमा कार्यदल पनि बनेको छ ।
के अब सर्वदलीय सरकार बनाउने बेला आएको हो ?
मैले त संसदमै पनि बोलेको छु । नेपाली कांग्रसको नेतृत्वमा सर्वदलीय सरकार बनाएपछि मात्रै सबै समस्याको समाधान हुन्छ र जनताका निराशालाई आशामा बदल्न सकिन्छ भनेर भनेको हुँ । म आज पनि आफ्नो दृष्टिकोणमा अडिग छु । सरकार, सरकार, सरकार भन्ने पनि होइन । राष्ट्रिय समझदारी विकसित गर्नुपर्छ । सरकार कांग्रेस र एमालेको बने पनि राष्ट्रिय समझदारी निर्माण गर्ने प्रयास गर्नुपर्छ । अब त हाम्रो त यहाँ के छ भने सबै सत्ता र कुर्सी केन्द्रित भयो । कतिपटक हुने प्रधानमन्त्री ? सबै शीर्ष नेताहरू दुई–चारपटक भइसक्नुभएको छ त ! प्रधानमन्त्री भएर मात्रै समस्याको समाधान हुने होइन । राष्ट्रिय समझदारी विकसित गर्नुप¥यो र उहाँहरू राष्ट्रिय हितका सवालमा एक ठाउँमा उभिनुप¥यो । उहाँहरूले आफूलाई पार्टीभन्दा माथि उठाएर आफूलाई भन्दा मुलुकलाई केन्द्रविन्दुमा राखेर सोच्नुप¥यो, जसरी हिजो सबैलाई एक ठाउँमा गोलबद्ध गरेर संविधान बनायौँ, त्यसैगरी अहिले सबै फेरि मिल्नुपर्ने अवस्था छ । सरकारमा को कति दिन बस्छ भन्ने केही ग्यारेन्टी नै छैन । त्यसकारण सरकारमा हुँदैमा मात्तिने र नहुँदैमा आत्तिने जुन नेताहरूको अहिले देखिएको बानी छ, त्यसैले प्रचण्डजी आत्तिन छोड्नुप¥यो हामीहरू पनि मात्तिन छोड्नुप¥यो ।
अहिले प्रचण्डको प्रस्ताव आत्तिएको कि तपाईंहरू बढी मात्तिएको ?
यो आत्तिएको पनि छ, मात्तिएको पनि छ । सरकार भएन भने जहाजै डुब्यो भन्ने प्रचण्डजीको मनोविज्ञान एकदमै गलत छ । उहाँ पनि त तीनपटक प्रधानमन्त्री भइसक्नुभएको हो । उहाँलाई पनि परिस्थति थाहा छ । उहाँका पछिल्ला अभिव्यक्तिहरू एकदमै बायस्ड देखिएका छन् । त्यो राम्रो होइन । उहाँको अभिव्यक्तिले समग्र नेताहरूमाथि नै वितृष्ण पैदा गरेको छ । त्यसैले अहिलेको अवस्थामा शीर्ष नेताहरू मिलेनन् भने अवस्था राम्रो देखेको छैन ।
सरकार फेरिँदैछ भन्ने आमबुझाइ बन्दै गएको कुरामा तपाईं पनि सहमत हो ?
सरकार फेरिने कुरालाई समीकरण फेरिनेसँग जोड्छन् मान्छेहरूले । मलाई त्यस्तो त लाग्दैन । कांग्रेस र एमालेको यो सरकारलाई असफल हुने छुट छैन । यो सरकार असफल भयो भने देशमा अराजकता बढ्छ । यसले हामी सबैलाई डुबाउँछ । यसले मुलुक झन् पछाडि पर्छ ।
अबको निकास के त ?
निकास भनेकै राष्ट्रिय सहमति निर्माण गरेर अगाडि बढ्नुपर्छ । त्यसका लागि अब प्रयास गर्न ढिला गर्नुहुँदैन । हामीले मुलुकलाई केन्द्रविन्दुमा राखेर काम गर्नुपर्छ । जबसम्म हामीले मुलुकलाई केन्द्रविन्दुमा राखेर सोच्दैनौँ र आफ्ना आफ्ना गल्ती र कमिकमजोरीलाई सुधार गर्दैनौँ भने नेपाली जनतामा आशा र भरोसा पैदा गर्न पनि सक्दैनौँ । यो सरकार असफल भयो भने अराजकता बढ्छ र यसले अहिलको सिस्टमलाई पनि खतरा उत्पन्न हुन्छ । अहिलेको सिस्टम असफल बनाउन एउटा फोर्स लागिरहेको छ । त्यो कुरा हाम्रा नेताहरूले बुझेर कदम चाल्न अब ढिला गर्नुहुँदैन ।
प्रतिक्रिया