देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

चैत सम्म कांग्रेसको क्रियाशिल सदस्यता

देशान्तर


काठमाडौं । कांग्रसको क्रियाशील सदस्यता नेपाली कांग्रेसको महाधिवेशनका लागि सबैभन्दा पहिलो प्रस्थानविन्दु भएकाले पनि होला, जबजब कांग्रेसको महाधिवेशनको चर्चा हुन्छ, महाधिवेशनसँगै जोडिएर आउने सबैभन्दा विवादित विषय क्रियाशील सदस्यता बन्दै आउने गरेको कुरामा कांग्रेसमा लागेका कोही पनि अनभिज्ञ छैन ।
अहिले कांग्रेसको १५औँ महाधिवेशनको चर्चा यत्रतत्र सुनिन थालेको छ । एकथरीले कुनै पनि हालतमा आगामी वर्ष अर्थात् ०८२ सालमा कुनै हालतमा महाधिवेशन गर्नैपर्ने माग जोडदार रूपमा उठाएका छन् भने कतिपयले यस महाधिवेशनलाई ८४ सालको निर्वाचनपछि मात्रै गर्न उपयुक्त हुने सुझाव पनि राख्दै आएका छन् । महाधिवेशनको वर्ष सधैँ क्रियाशील सदस्यता विवादले कांग्रेसमा हलचल नै मच्चाउने गरेको छ ।

कांग्रेसमा वडादेखि केन्द्रीय कार्यसमितिमा आउन चाहने जोसुकै व्यक्तिका लागि पहिलो सर्त ऊ क्रियाशील सदस्य रहेकै हुनुपर्छ, नत्र उसले अधिवेशनमा उम्मेदवार बन्न त के मतदान गर्न पनि पाउँदैनन् । साधारण सदस्यता लिएको एक वर्षपछि प्रायः कांग्रेसले क्रियाशील सदस्यता दिने गर्छ । तर कांग्रेसभित्र क्रियाशील सदस्य बन्नका लागि गुटको आशीर्वाद पाउनैपर्ने चर्चा पनि चल्ने गरेको छ ।

यसअघिका महाधिवेशनमा कांग्रेसले क्रियाशील सदस्यतासम्बन्धी विवाद मिलाउन केन्द्रीय कार्यसमितिबाट बेग्लै समिति नै बनाउँदै आएको थियो । तैपनि विभिन्न जिल्लामा देखिएका विवाद समाधान भइरहेका छैनन् । कांग्रेसमा क्रियाशील सदस्यताबारे जहिल्यै पनि विवाद हुन्छ, यो कांग्रेसभित्रको दीर्घरोग नै हो भन्दा अनुपयुक्त नहोला । क्रियाशील विवादकै कारण कतिपय जिल्ला पटकपटक महाधिवेशनमा भाग लिनबाट नै वञ्चित हुँदै आएका छन् ।

२०६७ असोज १ गतेदेखि ५ गतेसम्म कांग्रेसले १२औँ महाधिवेशन ग¥यो । त्यसबेला क्रियाशील सदस्यता विवाद समाधान हुन नसकेपछि कांग्रेसले महाधिवेशनमा पुरानै क्रियाशील सदस्यबाट महाधिवेशन गरेर सुशील कोइरालाको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरेको थियो ।

२०७२ फागुन २० देखि २३ गतेसम्म भएको कांग्रेसको १३औँ महाधिवेशनमा पनि १२औँ महाधिवेशनकै थाती रहेको क्रियाशील विवाद झन् बल्झियो । केही विवादित जिल्लालाई महाधिवेशनबाट वञ्चित गरेर महाधिवेशन गरेपछि शेरबहादुर देउवाको नेतृत्वमा केन्द्रीय कार्यसमिति चयन भयो ।

त्यसैगरी २०७८ मंसिरमा भएको १४औँ महाधिवेशन पनि विवादरहित थिएन । महाधिवेशनका लागि प्रारम्भिक रूपमा करिब नौ लाख क्रियाशील सदस्यता भए पनि विवादका कारण संख्या कम गरेर ८ लाख ८२ हजार ८ सय १६ जना क्रियाशील सदस्य कायम गरिएको थियो । सो महाधिवेशनबाट सभापतिमा शेरबहादुर देउवा दोस्रोपटकका लागि निर्वाचित भएर आएका थिए ।

लगातार दुई कार्यकाल सभापति भएका देउवाले पनि क्रियाशील सदस्यतासम्बन्धी विवाद सुल्झाउन सकेका छैनन् । १२औँ महाधिवेशनमा देखा परेका विवाद १३औँमा मिलाउने भनियो तर समाधान गरिएन । त्यसैगरी १३औँ महाधिवेशनमा देखा परेका क्रियाशीलसम्बन्धी विवाद पनि १४औँ महाधिवेशनका बेला मिलाउने भनियो, तर मिलाइएन । १४औँ महाधिवेशनका विवाद पनि १५औँ महाधिवेशनसम्म मिलाउने भनिए पनि अझै टुंगिने कुनै संकेत मिलिसकेको छैन ।
सदस्यता व्यवस्थापन समितिका सचिवालयका कर्मचारीले १२औँ महाधिवेशनदेखि १४औँ महाधिवेशनसम्म कुन–कुन जिल्ला र कुन–कुन क्षेत्रमा क्रियाशील सदस्यता विवाद थिए भन्ने तथ्यांक निकाल्दै छन् ।

कांग्रेस विधानअनुसार हरेक चार वर्षमा महाधिवेशन हुनुपर्छ । २०७८ मंसिरमा १४औँ महाधिवेशन भएकाले अब २०८२ मंसिरभित्रै १५औँ महाधिवेशन हुनुपर्छ । तर अहिलेसम्म क्रियाशील नवीकरण र नयाँ क्रियाशील सदस्यता वितरणका कामले तीव्रता पाउन सकेको छैन ।

देशभरका १६५ प्रतिनिधि सभा निर्वाचन क्षेत्रमध्ये काठमाडौं ४ मा मात्रै क्रियाशील नवीकरण काम सकिएको छ । जुन क्षेत्र महामन्त्री गगन थापाको निर्वाचन क्षेत्र हो । जिल्लाहरूमा क्रियाशील नवीकरण र नयाँ वितरणका फारम पठाए पनि ‘होल्ड’ गरिएको गुनासो क्रियाशील सदस्यता व्यवस्थापन समितिमा आएको छ ।

त्यसैले महामन्त्री थापा संयोजक र केन्द्रीय सदस्यहरू सीता गुरुङ, योगेन्द्र चौधरी र प्रकाश रसाइली (स्नेही) सदस्य रहेको क्रियाशील सदस्यता व्यवस्थापन समितिको ४ पुसको बैठकले क्रियाशील सदस्यताको कामलाई तीव्रता दिने निर्णय गरेको छ ।

१२औँ महाधिवेशनदेखि १४औँ महाधिवेशनसम्म देखिएका क्रियाशील विवाद मिलाउन समितिले सदस्यहरूलाई प्रदेश–प्रदेश तोकेर जिम्मेवारी पनि दिएको छ । मधेस र लुम्बिनी प्रदेशमा प्रकाश रसाइली (स्नेही), बागमती र गण्डकी सीता गुरुङ र कोशी, कर्णाली र सुदूरपश्चिम योगेन्द्र चौधरी पुगेर क्रियाशील सदस्यतामा देखिएका विवाद समाधान गर्न सहजीकरण गर्ने बताइएको छ ।
केन्द्रीय कार्यालयले १४औँ महाधिवेशनमा क्रियाशील रहेको संख्याअनुसार नै जिल्ला–जिल्लामा नवीकरण फारम पठाएको छ भने नयाँ वितरण गर्न साविक सदस्यमा ५० प्रतिशत थप हुने गरी फारम पठाइएको छ ।
महाधिवेशन मिति घोषणा गरेपछि रातारात क्रियाशील बाँड्दा झन् विवाद हुने भएकाले कांग्रेसले यसपालिदेखि क्रियाशील सदस्यता वर्षेनी नवीकरणको सुरुवात गरेको छ । कांग्रेसले क्रियाशील सदस्यता वितरण खुकुलो बनाउने नीति पनि लिएको छ । कसैलाई कांग्रेस हुनैबाट वञ्चित गराउने गरी क्रियाशील सदस्यतामा कडाइ गर्न नहुने पार्टीले नीति लिएको छ ।
यसैबीच, नेपाली कांग्रेसले क्रियाशील सदस्यता नवीकरणका काम चैत मसान्तभित्र सम्पन्न गर्न निर्देशन दिएको छ । शुक्रबार बसेको क्रियाशील सदस्यता व्यवस्थापन समितिको बैठकले कार्यतालिका बनाएरै चैतभित्र क्रियाशील सदस्यता नवीकरण सक्न मातहत निकायहरूलाई निर्देशन दिने निर्णय गरेको हो ।
यस्तै नयाँ क्रियाशील सदस्यता वितरणका लागि वैज्ञानिक प्रक्रिया अवलम्बन गर्न जातजाति, जनसंख्या, लिंग, पार्टीले प्राप्त गरेको मतको प्रतिशत सन्तुलन हुने गरी प्राविधिक र विज्ञहरूको सहयोगमा समितिले अध्ययन गरी आवश्यक निर्णय लिने भएको छ । यस्तै डोल्पामा कार्यवाहक सभापतिमार्फत् क्रियाशील फारम र कार्ड पठाउने निर्णय पनि समितिको छ ।

महामन्त्री गगन थापा नै क्रियाशील सदस्यता सदस्यता व्यवस्थापन समितिको संयोजक भएकाले यसअघिका वर्षहरूमा भन्दा यस वर्ष कांग्रेसको क्रियाशील सदस्यता विवादले समाधान पाउने अपेक्षा धेरै आमकांग्रेसवृत्तले गरेको छ ।