कांग्रेसले यसपालि पनि आफ्नो त्यो निर्णय कार्यान्वयन गरेको छैन, जसको कार्यान्वयन गर्ने निर्णय, वर्तमान केन्द्रीय कार्यसमितिले धेरै अगाडि गरिसकेको हो । त्यो भनेको आफ्नो स्थापनाकालका संस्थापक नेताको मात्र होइन, पार्टीको आह्वानमा भएका विभिन्न कालखण्डमा प्रजातन्त्र र पार्टीका लागि असाधारण योगदान गरेका साहसी एवं बलिदानी नेता तथा कार्यकर्ताको आदर र सम्मान पुनस्र्थापित गर्ने निर्णय कार्यान्वयनको अहं सवाल हो । त्यो यस्तो सवाल हो, जसको कांग्रेसभित्र धेरैपटक उठ्यो, तर कार्यान्वयनको इमान्दार प्रयास अझै हुन सकेको छैन । निर्णय पनि दोहो¥याई–तेहे¥याई भएकै हो, मूल समस्या कार्यान्वयन तहमा पुगेर अड्किने गरेको छ । किन डेग चल्दैन, त्यो सवाल अनुत्तरित नै छ । ०१७ सालदेखि ०४६ सालसम्ममा कहाँबाट को, कतिले धोका दिए, अनि कतिले बलिदान दिए ? त्यसको लेखाजोखाका निम्ति पनि रेकर्ड राख्नैपर्ने हो, त्यसको अभावमा त्यस अवधिमा कहाँ कति बेपत्ता तुल्याइए, त्यसको तथ्य र तथ्यांक पनि जुट्न सकेकको छैन । त्यो यसकारण कि त्यस अवधिमा भएका आन्दोलनका रेकर्ड दुरुस्त तुल्याउने प्रयास नै भएको छैन ।
२००७ सालको क्रान्ति सकिएपछि १९९७ देखियता भएका आन्दोलन र क्रान्तिमा विभिन्न क्षेत्रबाट शहादत प्राप्त गर्ने बलिदानी क्रान्तिकारीको खोजखबर गरेर ऐतिहासिक रूपरेखा तयार गर्ने काम भएको छ– त्यतिबेलाका इतिहासकार तथा आन्दोलनकारीले लेखेर छाडेका संस्मरण तथा लेखका सहयोगबाट । तर ०१७ देखि ०४६ को अवधिका अनेक चरणमा भएका संघर्ष र आन्दोलनका सिलसिलाबद्ध आलेख तथा अभिलेख भने उपलब्ध छैनन् । काठमाडौं, विराटनगर, पोखरा, तनहुँ, स्याङ्जा, झापा, नारायणगढ, जनकपुर, धरान, पाल्पाजस्ता जिल्लामा बुकलेट, स्मारिका तथा सामयिक प्रकाशनका नाममा प्रकाशित भएका पत्रपत्रिका तथा भूमिगत रूपमा निक्लेका प्रकाशनहरूले स्थानीय स्तरमा भएका दमन र हत्याका घटनामाथि प्रकाश पारेर इतिहासका सामग्री उपलब्ध गराइदिएका भए पनि तिनको संग्रह र उचित संरक्षण हुन सकेको छैन । त्यसका निम्ति अरूलाई दोष दिएर कांग्रेस उम्कन पाउँदैन, किनभने त्यस अवधिमा मारिने, बेपत्ता पारिने, निर्वासनमा जान बाध्य पारिने र जेल जीवन बिताउनेमा कांग्रेसकै लडाकु र कार्यकर्ता बढी छन् । तिनको खोजतलास गर्ने र अभिलेखीकरण गर्ने काम, तसर्थ कांग्रेसकै हो । त्यो उसको दायित्व र कर्तव्य दुवै हो । उसको त्यस्तो प्रतिबद्धता मात्र छैन, कटिबद्धता पनि छ । अभाव केवल अग्रसरता, कर्मठता र क्रियाशीलताको निरन्तरतामा हो ।
कांग्रेसको सर्वोच्च निकाय भनेको महाधिवेशन हो र त्यसपछिको अर्को माथिल्लो निकाय हो– महासमिति । ती दुवै निकायबाट पनि पटक–पटक प्रस्ताव पारित भएका हुन् । तिनका अतिरिक्त केन्द्रीय समितिले पनि धेरैपटक त्यस्तो प्रस्ताव पारित गरेर कार्यान्वयन गर्ने कटिबद्धता व्यक्त गरेको हो । तर, जतिपटक त्यस्ता प्रस्ताव पारित भए पनि कार्यान्वयन भने हुन सकेको छैन । सबैभन्दा हृदयविदारक विषय नै त्यही बन्न पुगेको छ कि नेतादेखि कार्यकर्तासम्म सबै प्रश्न गर्छन्, उत्तर भने कतैबाट आउँदैन !
यो सर्वविदित छ कि देशका सबै भागबाट राजधानी प्रवेश गर्ने मुख्य नाकाकै छेउमा आधुनिक र सुविधासम्पन्न कांग्रेसको भव्य तथा विशाल केन्द्रीय कार्यालय सगौरव खडा छ । त्यो कार्यालय सञ्चालनका लागि योग्य र सक्षम सहयोगीको ठूलो जमात पनि क्रियाशील छ । भनिरहन पर्दैन, त्यो साधनसम्पन्न सचिवालयसँग विश्वका सबै राजधानीलाई जोड्ने अत्याधुनिक सञ्चार प्रविधि पनि छ । केन्द्रीय कार्यसमितिलाई उसको कार्यसम्पादन गर्न सजिलो होस् भनेर विभिन्न विषयमा काम गर्ने बेग्लाबेग्लै विभाग र समिति पनि छन्, जसमा विज्ञ तथा दक्ष जनशक्तिको सेवा पनि उपलब्ध छ । तैपनि आफ्ना महान् तथा गौरवशाली पूर्वजहरूका रेकर्डसम्म तुरुस्त राख्न थालेको देख्न पाइन्न । किन ?
यसपालि केन्द्रीय समितिको त्यस्तो निर्णय, दोहो¥याएर जिल्लासम्म पु¥याउने काम पनि भएको छ– एक सय दिनको कार्यक्रमका माध्यमबाट । पुराना नेताका तस्बिरको खोजतलास पनि गरिएको समाचार सुन्नमा आएको हो । तैपनि कार्यान्वयन हुन सकेको समाचार भने आएन । आओस् पनि कसरी ? संग्रह गरेको भए पो आउँथ्यो । केन्द्रीय समितिको परिपत्रको रेकर्ड राख्ने फायलबाट ती परिपत्र हराएकाले हुन् अथवा जिल्ला नेताले नै तिनको पहिचान गर्न नसकेकाले हो, तिनको पुनस्र्थापन गर्ने अत्यन्त जरुरी काम सम्पादन हुन सकिरहेको छैन । त्यसले गर्दा कांग्रेसका नयाँ कार्यकर्ताले मात्र होइन, नेताले समेत आफ्ना साहसी तथा बलिदानी पुर्खाले कस्ता योगदान गरेर प्रजातन्त्र र कांग्रेसलाई जोगाएका रहेछन्, त्यसको अध्ययन गर्न पाउनुपर्ने अवसर गुमाउन पुगेका छन् । त्यही कारण नवप्रवेशी बाहेक पुराना नेता चिन्न छाडेका छन् ।
(अर्को निरन्तर जारी रहनेछ ।)
प्रतिक्रिया