देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

प्राकृतिक छटाले भरिपूर्ण उदयपुरको लिम्चुङबुङ

देशान्तर


काठमाडौं । लिम्चुङबुङ गाउँपालिका नेपालको कोशी प्रदेशअन्तर्गत उदयपुर जिल्लाका आठवटा स्थानीय तहमध्येको एक हो । प्राकृतिक छटाले भरिपूर्ण, अग्ला हरियालीयुक्त डाँडाकाँडाले घेरिएको, सांस्कृतिक सौन्दर्यता एवं भौगोलिक रूपले अनुपम सुन्दर रमणीय स्थल हो, लिम्चुङबुङ । लिम्चुङबुङ गाउँपालिका पश्चिम–उत्तरी क्षेत्रमा अवस्थित छ । यस गाउँपलिकाको नाम साविकको सुनकोशी भए तापनि स्थानीय सरकार सञ्चालन ऐन २०७४, बमोजिम गाउँपलिकको सिफारिसमा लिम्चुङबुङ गाउँपालिका रहन गएको हो । साविकका बस्बोटे, ताम्लिछा, बाराहा, बलाम्ता र जाँते गाउँ विकास समितिलाई समायोजन गरी लिम्चुङबुङ गाउँपालिका घोषणा गरिएको हो । हाल यस गाउँपालिकामा जम्मा पाँचवटा वडाहरू रहेका छन् । यस गाउँपालिकाको केन्द्र बाराहामा अवस्थित रहेको छ । यस गाउँपालिकाको कुल क्षेत्रफल १०६ दशमलव ८ वर्ग किलोमिटर रहेको छ भने कुल जनसंख्या ११ हजार ९ सय ९२ रहेको छ ।

उदयपुरको मुर्कुचीबाट करिब ४० किलोमिटरको दूरीमा रहेको छ, यो गाउँपालिका । यस लिम्चुङबुङ गाउँपालिकाले पूर्वाधार तथा सामाजिक विकासको क्षेत्रमा गरेका कामहरू निकै उपलब्धिमूलक र उदाहरणीय छन् । उत्पादनमूलक आयमूलक, रोजगारमूलक आयोजना तथा कार्यहरू छनोट गरी त्यसबाट आउने प्रतिफल आम जनसमुदायमा सन्तुलित प्रकारबाट पु¥याएर समृद्ध समाजको निर्माण गर्दै आएको छ, यस गाउँपालिकाले । आधारभूत सेवा तथा पूर्वाधार विकासमा समन्वय, सहकार्य, सहभागिता र साझेदारीको अवधारणालाई थप प्रभावकारी बनाउँदै अगाडि बढेको छ, लिम्चुङबुङ गाउँपालिका ।

आन्तरिक तथा बाह्य पर्यटक भित्र्याएर लिम्चुङबुङलाई पर्यटकीय क्षेत्र बनाउन गाउँपालिका लागिपरेको छ । जसमा एउटा महत्वपूर्ण योजनाको रूपमा एभरेष्ट भ्यु टावर निर्माण गर्न लागिएको छ । ७२ फिट अग्लो उक्त टावर दोबाटे डाँडामा बन्न लागिएको छ । विश्वको सर्वोच्च शिखर सगरमाथा, कञ्चनजंघा, ल्होत्से, मकालु, चोयु, चारपाटे, गौरी शंकर जुगल हिमालको दृश्यालोकन गर्न सकिने यस डाँडामा भ्यू टावर निर्माणपश्चात् पर्यटकहरूको आकर्षण बढ्ने देखिन्छ । यस भ्युटावरबाट सूर्योयदको अवलोकन समेत गर्न सकिन्छ । अत्याधुनिक सेवा सुविधा भएको लिम्चुङबुङ पार्कसहितको एभरेष्ट भ्यु टावर निर्माण हुनेछ । लिम्चुङबुङलाई पर्यटनको नयाँ गन्तव्यको रूपमा स्थापित गरी पर्यटनको विकासमार्फत उत्पादनले बजार खोज्ने परम्पराको अन्त्य गरी लिम्चुङबुङमा पर्यटक भित्र्याएर बजारले उत्पादन खोज्ने नीति अवलम्बन गर्दै आएको छ यस गाउँपालिकाले ।


गाईघाट, मुर्कुची लिम्चुङबुङ सडक लामो समयदेखि सडक स्तरोन्नति नहुँदा यस क्षेत्रका स्थानीयले सास्ती खेप्दै आइरहेका छन् । पूर्वको पशुपति भनेर चिनिने खोटाङको त्रिधाम स्थल हलेसी जोड्ने राष्ट्रिय योजनाको उक्त सडक तराई सहरलाई उदयपुरको पहाडी भेग हुँदै माथिल्लो सगरमाथासँग जोड्ने प्रमुख मार्गको रूपमा लिन सकिन्छ ।
यस गाउँपालिकाको प्राकृतिक सुन्दरताले आन्तरिक तथा बाह्य पर्यटकहरूलाई आकर्षित गर्दछ नै । लिम्चुङबुङले पर्यावरणीय, तथा पर्यटन क्षेत्रमा थुप्रै सम्भावनाहरू बोकेको छ । यस गाउँपालिकाले पर्यटनलाई मुख्य प्राथमिकतामा राख्दै अघि बढेको छ । जे पाक्छ, त्यही बिक्छ भन्ने नारालाई आत्मसात् गर्दै होमस्टेको अवधारणालाई अघि सारेको छ । जसका फलस्वरूप पछिल्लो समय स्थानीयहरू होमस्टेको अवधारणालाई सार्थकता दिन जुटेका छन् ।

हालै गाउँपालिकाको प्रशासकीय भवनसमेत उद्घाटन गरिएको छ । २०७८ सालबाट निर्माण सुरु गरिएको प्रशासकीय भवन निर्माण सुरु गरिएको थियो । कुल ७ करोड ७८ लाख ७० हजार एक सय ८३ रुपैयाँ ९६ पैसा लागत अनुमान गरिएकोमा एएम पिउन्स जेभि ललितपुरले ४ करोड ६१ लाख ८० हजार एक सय ६६ रुपैयाँ २७ पैसामा निर्माणको जिम्मा लिएको थियो । समय अवधिमै भवन निर्माणसँगै हस्तान्तर गरिसकेको छ । लिम्चुङबुङ गाउँपालिकामा छरिएर रहेका शाखाहरूले अब एकै ठाउँबाट सेवा दिइरहेका छन् । यस्तै गाउँपालिकालाई राष्ट्रिय प्रसारण लाइनसँग जोड्दै पालिकाको सबै घरधुरीमा विद्युत् विस्तार गरेसँगै गाउँपालिकालाई उज्यालो लिम्चुङबुङ घोषणा समेत गरेको छ ।

विकासको पहिलो स्तम्भ शिक्षा हो । शिक्षामा सबै बालबालिकाको सहज पहुँच हुनुपर्छ भन्ने मान्यतालाई अंगिकार गर्दै नगर क्षेत्रभित्रका विद्यालयहरूका पूर्वाधार विकास र शैक्षिक वातावरणलाई स्वच्छ, मर्यादित र अनुसाशित बनाई गुणस्तरीय शिक्षा प्रदान गर्ने क्षेत्रमा यस गाउँपालिकाले प्रशस्तै कामहरू गरेको छ । स्वास्थ्य क्षेत्रमा यस लिम्चुङबुङले फड्को मारेको छ । गाउँपालिकाभित्रका सबै स्वास्थ्य संस्थाहरू प्रविधि र पूर्वाधारयुक्त बन्दै गइरहेका छन् ।

गाउँपालिकाबाट प्रवाह गरिने सार्वजनिक सेवालाई स्वच्छ, निष्पक्ष, पारदर्शी र जनमुखी बनाएको छ, यस लिम्चुङबुङ गाउँपालिकाले । विकेन्द्रीकरणको माध्यमद्वारा जनतालाई विभिन्न योजना, नीति तथा कार्यक्रमहरूको छनोटदेखि कार्यान्वयन, अनुगमन मूल्यांकनका हरेक चरणहरूमा बढीभन्दा बढी सबै वर्ग र क्षेत्रको प्रतिनिधित्व हुने गरी सर्वदलीय सर्वपक्षीय माध्यमबाट सहभागितात्मक पद्धतिको सिद्धान्तलाई यस गाउँपालिकाले पूर्णरूपमा अवलम्बन गर्दै आइरहेको छ । सुशासन तथा पारदर्शिताका लागि यस गाउँपालिकाले सामाजिक परीक्षण, सार्वजनिक परीक्षण तथा सार्वजनिक सुनुवाइजस्ता कार्यक्रमलाई औपचारिकतामा मात्र सीमित नराखी परिवर्तन तथा सुधारका लागि सुझाव प्राप्त गर्ने माध्यमको रूपमा अंगीकार गरी त्यस्ता कार्यक्रमलाई थप प्रभावकारी बनाउँदै आएको छ ।


स्थानीय तहहरूको सक्रियतामा राज्यले आर्थिक, सामाजिक तथा पूर्वाधार विकासका क्षेत्रमा निकै ठूलो फड्को मारेको छ । विकास निर्माणका अलावा सामाजिक परिचालन, चेतना जागरण तथा आय आर्जनका कार्यक्रममार्फत सामाजिक तथा आर्थिक विकासमा उल्लेख्य योगदान पु¥याउँदै आएका छन् स्थानीय तहहरूले ।
यस नगरपालिकाको मुख्य पेसा कृषि हो यहाँको अधिकांश जनताहरू कृषिमै निर्भर छन् । ग्रामीण क्षेत्र भएका कारण यस क्षेत्रका स्थानीयहरू गरिबीको रेखामुनि रहेका छन् । अझै पनि करिब एक हजार एकभन्दा बढी घरहरू खरको छाना भएका छन् । गाउँपालिकालाई कृषिमा आत्मनिर्भर बनाउन कृषिसम्बन्धी विभिन्न कार्यक्रमहरू अगाडि बढाउदै लगिएको छ ।
लिम्चुङबुङ गाउँपालिकावासीहरूको जनजीवनमा सकारात्मक परिवर्ततनको अनुभूति गर्ने गरी विकासशील, स्वच्छ र सुन्दर पालिका बनाउने अभियानमा गाउँपालिका जुटेको छ । आगामी दिनमा लिम्चुङबुङ गाउँपालिका क्षेत्रलाई सबै क्षेत्रमा विकासले सुसम्पन्न गर्ने लक्ष्यका साथ अगाडि बढेको छ, लिम्चुङबुङ गाउँपालिका ।