काठमाडौं । नेपाली चलचित्रको बजारमा कीर्तिमानमाथि कीर्तिमान थपेको चलचित्र ‘पूर्णबहादुरको सारङ्गी’ले दुई साताअघि देशभरका ३८ वटा हलमा ५१औँ दिन मनाएको थियो ।
चलचित्रको व्यापारसहितका थुप्रै विधामा कीर्तिमान बनाउँदै ५१ दिने अर्को कीर्तिमानको खुसी साट्ने वेला भने ‘पूर्णबहादुरको सारङ्गी’को टिमभित्र उत्साह भने थिएन । कथा चोरीको आरोपदेखि चलचित्रको निर्माण कम्पनीका सञ्चालकबीचको विवाद छताछुल्ल हुँदा कतिपयले भने दर्शकरूपी भगवान्ले ‘छप्पर फाडेर दिएको प्रसाद नपचेको’ भनेर टिप्पणी गरेका थिए ।
चलचित्रका निर्देशक सरोज पौडेल पनि टिमसँग असन्तुष्ट रहेको खबर देशान्तरलाई प्राप्त भएको छ । कीर्तिमानी चलचित्रको क्याप्टेनका रूपमा सरोजले सफलता हात पारे पनि आर्थिक रूपमा भने उनको हात खाली रहेको बताइएको छ । हुन त चलचित्रका कलाकार तथा प्राविधिकहरूले निश्चित पारिश्रमिकमा काम गर्ने भएकाले चलचित्र चलिसकेपछिको मुनाफा बाँटफाँट गर्न निर्माताहरू बाध्यकारी हुँदैनन् । तर सफलतासँगै टिमभित्र बोनस बाँड्ने अभ्यास छ । यस चलचित्रका निर्माताले कलाकार तथा प्राविधिकलाई बोनस बाँड्ने तयारी गरेको बताइएको थियो । यो खबर तयार पार्दासम्म भने बोनस बाँडिएको जानकारी आएको छैन । बोनसका समय सरोजको हातमा केही आउने सम्भावना भने अझै बाँकी नै छ ।
यसैबीच ‘पूर्णबहादुरको सारङ्गी’को कथा ‘लाज’ चलचित्रका लागि लेखिएको स्कृप्टबाट कपी गरिएको भन्दै ‘लाज’का लेखक चलचित्रकर्मी अजित लामिछानेले प्रतिलिपि अधिकार रजिस्ट्रारको कार्यालयमार्फत प्रहरीमा दिएको उजुरीका सम्बन्धमा प्रहरीले दुवै पक्षलाई छलफलका लागि बिहीबार प्रहरी परिसरमा बोेलाएको थियो । उक्त चलचित्रका निर्मातामध्ये एक रामबाबु गुरुङ, चलचित्रका कथाकार निर्देशक सरोज पौडेल पटकथा सम्बाद लेखक महेश दवाडी र उजुरीकर्ता लामिछानेका बीचमा प्रहरीले छलफल गराउन चाहेको थियो । तर गुरुङ र दवाडी विहिबार प्रहरीको सम्पर्कमा नआएको प्रहरी श्रोतले जाकारी दिएको छ । सरोज भने प्रहरी परिसर पुगेका थिए ।
प्रतिक्रिया