देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

संगीतमा मास्टर्स सकिन् अब संगीतमै पीएचडी गर्ने सोचमा गायिका रीता केसी

देशान्तर


काठमाडौं । अहिले गायक, गायिका, कलाकारहरूले दसैँका रूपमा लिने मेला महोत्सवको समय चलिरहेको छ । कलाकारहरूलाई देश–विदेशका मेला महोत्सव र सांगीतिक कार्यक्रमहरूमा आफ्नो प्रस्तुति दिन भ्याईनभ्याई छ । यस्तै व्यस्त गायिकामध्ये एक हुन्, रीता केसी । नयाँ वर्षको अवसरमा डिसेम्बर ३१ मा पोखरामा प्रस्तुति दिन गएकी केसी उतैबाट अर्को कार्यक्रमका लागि अर्को जिल्ला जाँदैछिन् ।
केसीले देशभित्र र देशबाहिर आफ्नो प्रस्तुति दिँदै आएकी छिन् । स्टेज पर्फमेन्सका लागि भारत, बहराइन, दुबई , कतारसहित युरोपका विभिन्न देश समेत गरी करिव २५ देशमा पुगेकी गायिका केसी लोक, आधुनिक, पप र चलचित्र गरी सबै प्रकारका गीतमा दख्खल राख्छिन् ।
झन्डै डेढ दशकभन्दा बढी समयदेखि नेपाली संगीत यात्रामा क्रियाशील रीताले हालसम्म करिव पाँच सयभन्दा बढी गीतमा स्वर दिइसकेकी छन् । संगीतमै मास्टर्स सकेकी केसीले फ्रान्सको थेम्स युनिभर्सिटीबाट मानार्थ विद्यावारिधि पाएकी छिन् । अब उनी संगीतमै पीएचडीको तयारीमा पनि लागेकी छन् । केही एकल एल्बम निकालेकी उनको गायनको सुरुवात भने चलचित्रको पाश्र्वगायिकाको रूपमा भएको थियो । ललितकला क्याम्पसमा संगीत विषय लिएर अध्ययन गर्दै गर्दा नेपाली चलचित्र ‘जोखिम’मा ‘तिमी आयौ मधुमास आयो’ बोलको गीतको पाश्र्वगायन गर्दै उनले औपचारिक गायन यात्रा थालेकी हुन् । उनले गाएका गीतमध्ये सुदीप रेग्मीको शब्द गोविन्द मधुर आचार्यको संगीत रहेको ‘भन के–के गर्नुपर्छ, तिम्रो साथ पाउनलाई’ (पुरुष स्वर स्वरूपराज आचार्य) प्रसिद्ध गीतकार लोकराज अधिकारीको शब्द, प्रसिद्ध संगीतकार अर्जुन पोख्रेलको संगीत रहेको तीज गीत ‘घन्काइदेऊ मादलु खरी झरे झर्ला ’( जसमा चर्चित गायिका देवी घर्ती र रिताको स्वर रहेको छ ) सदावहार गीतका रूपमा चिनिन्छन् । यस्तै केही समयअघि सार्वजनिक भएको टेक बिसी र रीताको स्वर रहेको ‘तिमी त साँच्चै ब्युटिफुल’ बोलको डान्सिङ नम्बरको गीत अहिले चर्चामा छ ।

रीता केसी नामक आफ्नै युट्युबमार्फत पनि गीत सार्वजनिक गर्दै आएकी उनले यो डेढ दशकको सांगीतिक यात्रामा विभिन्न अवार्ड र सम्मान पाएकी छिन् । उनले म्युजिक खबर म्युजिक अवार्ड, सगरमाथा म्युजिक अवार्ड, राष्ट्रिय साधना अवार्ड रिवार्ड, राप्ति म्युजिक अवार्डलगायत आधा दर्जनभन्दा बढी अवार्डहरूमा सर्वोत्कृष्ट गायिकाको अवार्ड थापिसकेकी छिन् ।