न रक्षा गर्ने धाता, न बाटो देखाउने
जन्मनेबित्तिकै बाटो आफैँ खोजेर आएको
संघर्षको कुरा गर्दा उसको बराबर कसको छ ?
छैन, कसैको हुनै सक्दैन
ऊ नभईकन पर्यावरण जोगिन सक्दैन
परिवेश नै असन्तुलित हुन्छ
शक्ति सन्तुलन खलबलिन जाँदा
भोजन–विनिमय नै भताभुंग हुन्छ
त्यसैले होला हाम्रो मुलुकमा ऊ संरक्षित छ
सर्प र सिँढीको खेल
‘परम् पदम्’ अर्थात् सांसारिक मोक्ष
दया, आस्था र विश्वासको विम्ब हो सिँढी
त्यस्तै सर्प हो – बेइमानी, दुष्टता र दुर्भाग्यको
तर सिँढीहरू घट्दै गए, सर्पहरू बढ्दै
सिँढीमा बेरिएर नै सर्पहरू फ्वाँ–फ्वाँ गर्दछन्
त्यहाँ विश्वास र आस्था कसरी बाँच्ने ?
कति प्रजातन्त्र रक्षाको कुरा गरेको ?
प्रजातन्त्र रटान होइन, आचार र सद्गुणी अभ्यास हो
‘विषकुम्भं पयोमुखम्’ भएर
हेर्दा दुधिलो तर विषले भरिएको
त्यो पनि–
पारितन्त्रको रक्षा गर्ने सर्पको अगाडि
यी घुमिरहेका छन् सर्वत्र
सृष्टिको डर नै हराउने ठाउँ बन्यो यो
नाचिरहेका छन् डर–भर कुनै नलिएर
यी संरक्षित छन् यहाँ
द्रव्यनीति रूपान्तरणको सर्प–राजनीतिले
तहसनहस भएको जनजीविका
ज्यान जोगाउन गाह्रो
कता जाने, कसलाई छान्ने ?
जता पनि उस्तै
यता हे¥यो अजंगको राक्षस
उता हे¥यो भयंकर पहिरो
यता हे¥यो सर्पराज
उता हे¥यो नागराज
साझा फूलबारीमा सर्पराजको राज
बुढा बाउआमाको रोएर थाकेका आँखाहरू
सिंगो ज्वालामुखी निलेपछि आँसु पिएर हेर्दै
अनि आँगनमा बाँधिएका वस्तुहरूलाई
ती पनि टोलाएका !
सर्पराजका पापीहरूले
घर छाडेर जानैपर्ने तुल्याए
त्यसको अलावा –
अब बाँकी नै के छ र ?
उनी भन्छन्– बाघ बढी भयो
म भन्छु – सर्पराजको राज भयो ।
प्रतिक्रिया