देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

साहित्य -एउटा लेखकको आत्मकथा–३ गोपाल अश्क



उसको साथीले भन्यो– मित्र ! अब एकपटकका लागि मात्र, एउटा नयाँ किताब लेखिदेऊ । बरु तिमी जति भन्छौँ, भनिदिन्छु ।’
उसले अलिक शान्त भएर भन्यो हेरौँ के हुन्छ । लेख्न सकिन्छ कि सकिँदैन । एउटा किताब लेख्नमा कम्तीमा ६ महिना वर्षभरिको समय लाग्छ । अब जाँगर पनि चल्दैन । रातभरि जाग्न पनि सकिँदैन ।
यो कुरा सुनेर उसको साथीले पैसाको वजन अलिक बढाउँदै भन्यो– थाहा छ मलाई । समय र मिहिनेट दुवै लाग्छन् । त्यसैले त तिम्रो मागअनुसार रकम दिन तयार छु म । बरु यो किताब लेख्नका लागि मैले तिमीलाई दुई लाख जति दिने भएँ । तिमी आजैदेखि लेख्न सुरु गरिहाल बरु । म यहाँबाट फर्केर गएपछि तिम्रो एकान्तमा ५० हजार जति हालिदिन्छु ।
यो कुरा सुनेर ऊ फिस्स हाँस्दै भन्छ, अनि विषय आदिबारे केही कुुरा गर्दैनौँ ?
के कुरा गर्ने यार ! यति मात्र ध्यान रहोस् । विषयचाहिँ साहित्यसँग सम्बन्धित होस् ।
उसले भन्यो, म अहिले केही भन्न सक्दिनँ । भोलि के हुन्छ थाहा छैन । अहिले जाऔँ ढिलो भइसक्यो । मापसे छलेर जानुपर्छ । रक्सी खाइएछ । पहिला तिमी यस किताबको ह्याङओभरबाट बाहिर निस्क, अनि कुरा गरौँला । यति भन्नासाथ ऊ जुरुक्क उठ्यो, आफ्नो साथीसँग हात मिलायो र हिँड्यो घरतिर उसको साथी पनि बिस्तारो बिलसिल तिरेर आफ्नो गन्तव्यतिर लाग्यो ।


त्यो साँझ ऊ अलिक बढी नै निरास र हतास भएर घर फर्केको थियो । लाग्थ्यो ऊ मलामी गएर घर फर्केको होस् । मुर्दा जलाएको चिह्न उसको अनुहारमा देखापरिहेको थियो । त्यो रात उसले आफ्नो पत्नीको हातमा एक–एक हजारको ५० वटा नोट राख्दै भनेको थियो, ‘लेऊ ! यो मैले मेरी प्रेमिकालाई आफ्नै राजीखुसीले एकजनासित बेचेर पाएको किमत हो । आफ्नो सन्तानलाई अरूसित बेचेर ल्याएको रुपैयाँ हो ।’
उसकी पत्नीले धेरै केरकार गरिन् । उनलाई के थाहा थियो भने आज उसको पति अलिक बढी भावुक भएको छ । उनले यति मात्र भनिन् । धेरै नसोच्नुस्, हजुर जीवन धान्नका लागि हजुरले यो गर्नु भा”हो । मैले त के सुनेकी छु भने पहिलाका पनि केही साहित्यकारले पैसाका लागि यस्ता काम गरेका थिए अरे ! कतिले त कामशास्त्रका किताबसमेत लेखेर जीवनयापन गरेका छन् । नाउँले यस्ता काम प्रशस्तै गरेको सुनेको छु । यसमा धेरै चिन्ता लिनु हुँदैन । म त पति मात्र भन्छु । बरु यो पैसा खर्च नगरौँला, यसलाई भोलि नै मेरो खातामा राखिदिनुस् हजुर । हो, त्यो रात पति–पत्नीबीच एउटा प्रेमिल रेखा कोरिएको थियो । त्यो राति–राति सेवा सुचारु रूपमा बढो प्रेमपूर्वक चलेको थियो ।

कुनै बाधा व्यवधान उत्पन्न भएको थिएन । लेखक महोदय तृप्त भएका थिए । उनकी पत्नी पनि तृप्त भएकी थिइन् । तर ती दुवैका तृप्तिमा कारणचाहिँ भिन्दाभिन्दै थिए । त्यो अहिले नखोलौँ ।
त्यसको भोलिपल्ट उसले पाएको ५० हजार रुपैयाँले उसकी पत्नीको बैंक खातामा स्थान ग्रहण गरेको थियो र त्यसपछि फेरि जीवनयापन गर्नका लागि कहिले अनुवाद कहिले सम्पादन त कहिले अरूका लागि आलेख लेख्ने कार्य प्रारम्भ भएको थियो । यस दौडमा परिरह्यो उसको मौलिक सिर्जना पछाडि पर्न थालेको थियो । केही दिनसम्म ऊ आफ्नो साथीको किताबको अन्तक्रिर्याको समाचार पढिरह्यो सुनिह्यो । पछि त्यो खबर पनि पुरानो हुँदै गयो र उसको व्यथित मन पनि शान्त हुँदै गयो । दिन फेरि पूर्ववत् ढंगबाट गुज्रिन थाल्यो ।


यसैबीच कुनै रात उसकी पत्नीले भनिन्, मेरी बहिनीकी छोरीको बिहे हुने निधो भएको छ । बहिनीले छोरीको बिहेमा गहना, लुगा फाटा राम्रै दिएकी थिई । हामीले पनि दिनुपर्छ व्यवहार त व्यवहार हो, हजुर । व्यवहारले यो कहाँ चिनेको हुन्छ कि को जागिरे छ वा को रिटायर्ड । व्यवहारले त व्यवहार खोज्छ । उसले बिस्तारै जवाफ दियो, तिमीलाई थाहा छ, मसँग जागिर छैन । पैसा कहाँबाट ल्याउने । अनि कति चाहिने हो ? ‘एक लाखभन्दा कम खर्च हुँदैन हजुर ।’
उनी भन्दै गइन्, ‘बहिनी, बहिनीज्वाइँका लागि कपडालत्ता लग्नै प¥यो । केही कोसेली लैजानै प¥यो । उनीहरूका लागि मात्र कहाँ हो र ? आफ्नोमा पनि त खर्च हुन्छ । आउने–जाने भाडा पनि लाग्छ नै । अब ! यति रुपैयाँ छोरासँग कसरी माग्ने ? अहिलेदेखि नै सोच्नुस् हजुर । दुई–चार महिना बाँकी छ ।’


ऊ आफ्नी पत्नीको कुरा सुनेर सोच्न थाल्यो । त्यो रात धेरै सोच्यो । भोलिपल्ट बिहानै उठ्यो । यसपटक उसको मनमा कुनै द्विविधा थिएन । उठेर बाथरुम पस्यो, फ्रेस भएर निस्केर ऐनासामु उभियो । उसले आफूलाई नियाल्यो । केही परिवर्तन देखियो । उसको छविमा दोहोरोपन देखियो । उसका दुई रूप देखिए । एउटा रूप उसको आफ्नै थियो जसबारे श्यामश्वेत ढंगले दुनियाँलाई थाहा थियो र एउटा अर्काे रूप थियो जसबारे उसलाई सबैभन्दा बढी ज्ञान थियो । ज्ञान त जमानालाई पनि थियो, तर प्रमाण थिएन । किनभने प्रमाण लुकाउनमा ऊ सिपालु र इमान्दार दुवै थियो । उसले ऐनामा आफूलाई नियाल्दै अलिक जोरले कराउँदै आफ्नी पत्नीलाई बोलायो, रमा ! यता आऊ त छिटो । उसकी पत्नी रमा के भो ? के भो ? भन्दै लगभग दौडिँदै आइन् । ऊ नजिक पुगेर भनिन् के भो हजुर ? किन कराउनुभएको ? अनि आज यति चाँडो ! के कतै जाँदै हो ?
ऊ हाँस्दै भन्यो, मेरो लेख्ने टेबुल अलिक मिलाइदिनू । मेरो अध्ययन तथा लेखन कोठा पनि सफासुग्घर गरिदिनू । आज बेलुकादेखि मैले, तिमीले चाहेको एक लाख रुपैयाँको जोहो गर्नै उपायतिर लाग्छु ।’


उसकी पत्नीले बुझेर पनि बुझ पचाउँदै भनिन्, मैले त अलिक बुझिन प्रभो ! बुझ्न त तिमीले सबैथोक बुझेकी छ्यौ । तर तिमी अब बुझ पचाउँदै छ्यौ । तिमीजस्तै मैले पनि आफूभित्र रहेको अर्काे व्यावसायिक मनुवालाई जिउँदो गरेको छु । आफ्नो अर्को प्रवृत्तिलाई जीवित गरेको छु । ऊ आफ्नो आफूले नलेखेरै लेखक हुने प्रवृत्तिलाई छाड्न सक्दैन भने मैले पनि आफूले आफ्नो आवश्यकता पूरा गर्नका लागि अरूका लागि जे पनि लेखिदिने प्रवृत्तिलाई छाड्न सक्दिनँ । किन छाडूँ ? आज मैले आफ्नै एक अर्काे सन्तानको बिक्रीको बैनाबट्टा गरिसकेँ । उसले लाज पचाएर भन्यो । उसकी पत्नीले भनेकी सुनियो, पछि गएर मलाई दोष नदिनुहोला नि कि तिम्रै कारण मैले आफूले लेखेका किताब अर्काेलाई बेच्न पुगेँ ।
समाप्त