देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

नेपाल बाल सङ्गठनको जग्गा हडपेर गैर कानुनी  लाभ लिँदै शाक्य


वीरगन्ज । तलब सुविधा मधेस विश्वविद्यालयबाट बुझ्ने, प्रवर्द्धन र बजारीकरण आफ्नो निजी वीरगन्ज पब्लिक क्याम्पसलाई गर्दै आएका मधेस विश्वविद्यालयका उपकुलपति डा. दीपक शाक्य बेइमान नियत राखेर नेपाल बाल सङ्गठनको जग्गा वर्षौँ देखि हडपेर लाभ उठाई रहेको तथ्य प्रमाणले स्पष्ट गरेको छ । वीरगन्ज पब्लिक कलेजका संस्थापक डा. शाक्य नेपाल बाल सङ्गठन पर्साको सदस्य हुँदा आफ्नै छोरा सङ्कल्प शाक्यको नाउँमा वीरगन्जको मुटु मानिने आदर्श नगरको १२ कठा जग्गा २७ वर्षको लागि लिजमा कौडीको मोलमा दिलाएको तर हाल सम्म कबोल गरेको रकम दाखिल नगरेको भेद अहिले आएर खुलेको छ । सो जग्गामा डा. शाक्यका छोरा सङ्कल्प शाक्यले आदर्श विद्यालय चलाउँदै आएका छन् ।

२०६८ असार २१ गते भएको सम्झौता अनुरूप दुई वर्षको लागि १६,१०० र त्यस पछि २१,१०० को दरले मासिक बाल सङ्गठनलाई दिने र प्रत्येक तिन वर्षपछि मासिक भाडामा १० प्रतिशत रकम वृद्धि हुने सर्त अनुरूप डा. शाक्यले जिम्मेवारी पुरा नगरेको बुझिएको छ । नेपाल बाल सङ्गठनका केन्द्रीय सदस्य पराग सिंहका अनुसार हाल सम्म डा. शाक्यले १३ वर्षको दरम्यान पटक पटक ताकेता गरेपछि जम्मा १६ लाख रुपैयाँ दाखिला गरेका र जरिवाना बाहेक २१ लाख भन्दा बढी रकम असुल गर्नु पर्ने देखिन्छ भन्दै अडिट हुने काम बाँकी रहेको बताउनुभयो। ‘ताक परे तिवारी नत्र गोतामे’ शैलीमा प्रस्तुत हुने डा. शाक्य चरम अवसरवादी चरित्रका व्यक्ति भएको उनलाई नजिकबाट चिन्ने साथीहरूको भनाई रहेको छ ।

पञ्चायतकालमा मण्डले, बहुदल आएपछि चैते काँग्रेसी भएर लाभ उठाउन सफल डा. शाक्य मधेस आन्दोलन ताका आफ्नो कलेजको वाईफाईको पासवर्ड ‘जय मधेस’ राखेर चरम अवसरवादको नमुना प्रदर्शन गर्दै गत आम निर्वाचन ताका जसपा नेपालको पार्टी ‘फण्ड’मा ठुलो रकम चन्दा दिएको कारण तत्कालीन मधेस प्रदेशका मुख्यमन्त्री लालबाबु राउत गद्दीले मधेस विश्वविद्यालयका उपकुलपति नियुक्त गरेका थिए । देशभरि नै बाल मन्दिरको जग्गाको विषयमा अध्ययन अनुसन्धान भई रहेको कतिपय मुद्दाहरू अदालतमा विचाराधीन रहेको भन्दै पर्सा बाल मन्दिरको जग्गाको विषयमा आफू जानकार भएको नेपाल बाल सङ्गठनका अध्यक्ष विद्या उपाध्याय न्यौपानेले बताउँदै अब यो प्रक्रिया नयाँ ढङ्गले अगाडि बढ्ने बताउनु भयो ।

अध्यक्ष न्यौपानेले डा. दीपक शाक्य एक पटक आफूलाई भेट्न आउँदा तपाईँले कौडीको मोलमा गैर कानुनी रूपमा जग्गा लिनु भयो, त्यो पैसा पनि नियमित रूपमा तिर्नु हुन्न भनेर भनेपछि केही लाख रुपैयाँ हालेको सुनेको छु तर पनि पुरा पैसा तिरेका छैनन् भन्दै आफू नै बोर्डको सदस्य हुने बिना टेण्डर सूचनाको बगेर आफ्नै छोरा सङ्कल्प शाक्यलाई कौडीको मोलमा जग्गा लिजमा दिनु कुनै हिसाबले मनासिब नदेखिएकोले यस प्रकरणमा पुनर्विचार हुने बताउनु भयो । मधेस विश्वविद्यालयका उपकुलपति डा. शाक्यले देश भित्र मात्र नभई विदेशमा समेत आफ्नो निजी वीरगन्ज पब्लिक कलेजलाई प्रवर्द्धन गर्न पछि पर्दैनन् । मधेस विश्वविद्यालयको उपकुलपतिको हैसियतमा हालै एक कार्यक्रममा अस्ट्रेलिया जाँदा उन लाई ग्रान्ड जुरी बनाइएको थियो। त्यस कार्यक्रममा आफ्नो कलेजलाई काठमाडौँ बाहिरको उत्कृष्ट कलेज भनी आफैले आफूलाई पुरस्कृत गरेका थिए ।