देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

बौद्धिक सम्पत्ति संरक्षण समाज नेपालको अध्यक्षमा आए बिज्ञ बिसु

देशान्तर

काठमाडौं । बौद्धिक सम्पत्ति संरक्षण समाज नेपालमा बिसु कुमार केसीको नेतृत्वमा नयाँ कार्यसमिति चयन भएको छ । शुक्रबार काठमाडौंमा आयोजित समाजको १२ औं वार्षिक साधारणसभाले केसीको नेतृत्वमा ११ सदस्यीय कार्यसमिति चयन गरेको हो ।

नयाँ निर्वाचनबाट उपाध्यक्षमा अम्बर बहादुर थापा, महासचिवमा लक्ष्मण रिमाल, सचिवमा सरोज खनाल र कोषाध्यक्षमा शिव थापा निर्वाचित भएका हुन् । यसबाहेक मधुसूदन पौडेल(निवर्तमान अध्यक्ष), डा.प्रतिभा पाण्डे, चुडामणि देवकोटा, लक्ष्मी सापकोटा र सज्जनवर सिंह थापा सदस्यमा निर्वाचित भएका छन् । सदस्यमै मुकुन्द ढुंगाना सर्वसम्मत निर्वाचित भएका छन् ।

वार्षिक साधारणसभापश्चात् उद्योग विभाग र बौद्धिक सम्पत्ति संरक्षण समाज नेपालको  सहकार्यमा ‘बौद्धिक सम्पत्तिसम्बन्धी’ विचार गोष्ठी सम्पन्न भएको थियो । गोष्ठीमा अर्थविज्ञ डा. पोषराज पाण्डेले ‘बौद्धिक सम्पत्तिको आर्थिक विकासमा भूमिका’ विषयमा सम्भाषण दिएका थिए ।

बौद्धिक सम्पत्ति आर्थिक प्राविधिक सांस्कृतिक विकासको महत्वपूर्ण औजार भए पनि नेपालमा यसको उपयुक्त र उचित व्यवस्थापन गर्न नसकेकाले विकासमा पछि परेको उनको भनाइ थियो । बौद्धिक सम्पत्तिसम्बन्धी नीति आएको सात/आठ वर्षसम्म पनि कार्यान्वयन त परको कुरा ऐनसम्म बन्न नसकेको तथ्य औँल्याएका छन् ।

कार्यक्रममा पूर्वमन्त्री शंकरप्रसाद कोइराला, पूर्वसचिवहरू भानुप्रसाद आचार्य, भरत बहादुर थापा, कृष्ण ज्ञवाली, उद्योग विभागका महानिर्देशक राजेश्वर ज्ञवालीले बौद्धिक सम्पत्तिसम्बन्धी मन्तव्य दिए । साथै, उद्योग वाणिज्य क्षेत्रका विज्ञहरू र बौद्धिक सम्पत्ति विज्ञहरूले कार्यक्रममा आफ्नो धारणा एवं शुभकामना मन्तव्य  राखेका थिए ।

बौद्धिक सम्पत्ति संरक्षण समाज नेपालको नवनिर्वाचित अध्यक्ष बिसुकुमार के.सी.ले आगामी दिनमा सरकारी तथा निजी क्षेत्रका संघ संस्थाहरूसँग सहकार्य गरेर बौद्धिक सम्पत्तिको  विकास र प्रवर्द्धन‍सम्बन्धी कार्यहरू संस्थाले  गर्ने नीति लिने र नयाँ बौद्धिक सम्पत्तिसम्बन्धी ऐन पारित गराउन सहयोग र पहल गर्ने बताए ।